PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सांसद निरु पाल प्रकरणमा अनुत्तरित प्रश्नहरु 



सविन ढकाल

सांसद निरु पाल प्रकरणमा अनुत्तरित प्रश्नहरु 

“दूध किन्न बजार गएकी थिएँ। फर्केर घरको गेटमै आएपछि अपरिचित व्यक्तिले रोके। बाटो छेकेरै रोकेपछि उनले मेरो छातीमा पेस्तोल तेर्स्याए। भोलिको बैठकमा जाने हैन भनेर चेतावनी दिए। भोलिको बैठकमा गए ‘तेरो बाउ खड्गे’ले पनि तँलाई जोगाउन सक्दैन भनेर भन्यो। उसले मेरो मोबाइल पनि लग्यो।“

बुधवार संसदीय सुनाई समितिमा सांसद्‍ निरु पालले सुनाइन् घटनाको अंश हो यो। घटना मङ्गलवार रातिको थियो। स्थान, नयाँ वानेश्वर; समय साँझ सबा ८ बजे। 

सांसद पालले समितिमा बताएअनुसार त्यसपछि उनी सोझै कोठामा पुगिन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरिन् र बताइन् घटनाक्रम। उनकै दावी अनुसार त्यतिखेर गृहमन्त्री रामबहादुर थापा पनि प्रधानमन्त्रीसँग थिए। उनले तत्काल त्यहाँबाट उनको सुरक्षा व्यवस्था मिलाए।

प्रधानमन्त्रीदेखि गृहमन्त्रीसम्म घटनाबारे खबर हुँदा वानेश्वर क्षेत्र त के सिंगो प्रहरी प्रशासनलाई अत्तोपत्तो केही थिएन। प्रहरीलाई वेखबर राखेर प्रधानमन्त्री र गृहमन्त्रीले उनको सुरक्षाका लागि मात्र पहल गरे। रोचक त के रह्यो भने बुधवार घटनाका कोही प्रत्यक्षदर्शी खुलेनन्। त्यही नजिकै ड्युटीमा रहेका प्रहरीलाई पनि यसबारे पत्तो भएन। कतिसम्म भने, धेरै प्रहरी अधिकृतले त समाचारकै भरमा यति ठूलो ‘अपराध’बारे जानकारी पाए। अझ रोचक त के भने, बिहीवार साँझ यो समाचार तयार पार्दासम्म घटनालाई लिएर प्रहरीमा कहीँ कतै उजुरी दिएको भेटिएन।

उजुरी नै नपरेकी केसमा प्रहरीले ७० भन्दा धेरैलाई समातेको पनि खुलासा भयो। गृहमन्त्रीले संसदमा गएर यसबारे ब्रिफिङ दिन पनि भ्याए। 

वानेश्वरजस्तो व्यस्त ठाउँमा पेस्तोल ताकेर धम्क्याइन्छ भने देशमा जनताले सुरक्षाको अनुभूति कस्तो गरिरहेका होलान्? सबै भन्दा बढी सुरक्षा निकाय खटिने राजधानी नै असुरक्षित छ भने बाँकी देशको हालत के होला? सबैभन्दा टड्कारो प्रश्न त सांसद पालले प्रहरीलाई नै गुमराहमा राखेर घटना लुकाउन खोज्नु कति ठीक हो। कहीँ कतै प्रहरीमा उजुरी नै छैन भने यसलाई घटना भएको भनेर कसरी पत्याउनु? उनले तत्काल प्रहरीमा खबरमात्रै गरेको भए सायद् पेस्तोलवाला समातिन्थ्यो होला।

आफू माथि पेस्तोल ताकिँदा उनले मौन रहिन्। चुपचाप कोठामा पुगिन्। हकी स्वभावकी उनले प्रधानमन्त्रीकै सल्लाहमा खबर लुकाएको स्वीकार गरिसकेकी छिन्। आफ्नो ज्यानभन्दा राजनीतिक वातावरण खल्बलिने त्रास बढी भएको उनले विभिन्न सञ्चार माध्यममा दिएको अभिव्यक्तिले देखाउँछ। 

तर, सांसदले उजुरी नै नदिनुले घटनामाथि नै प्रश्न उठाएको पूर्व डिआइजी हेमन्त मल्ल बताउँछन्। उनी भन्छन्, 'प्रहरीमा नै उजुरी परेको छैन भने त्यसलाई घटना मान्ने कि नमान्ने?  प्रहरीले के आधारमा अनुसन्धान गर्ने?  यदि घटना भएको भए गम्भीर विषय हो।'  घटना भए पनि नभए पनि सत्य तथ्य बाहिर आउनुपर्ने उनी बताउँछन्। ‘यदि घटना नभएको हो भने त्यो त झनै ठूलो विषय हो,’ उनले भने।

हतियारसँग जोडिएका ठूलाठूला घटनामा प्रहरीले सजिलैसँग अपराधी पत्ता लगाएका घटना धेरै छन्। सही समयमा सही सूचना दिए अपराधीसँग पुग्न प्रहरीलाई सहज पनि हुन्छ। तत्काल स्थानीय प्रहरीलाई खबर दिएको भए सुरक्षाकर्मीले अपराधीलाई समातिसकेको हुनसक्थ्यो। तर, देखाउनकै लागि ७० जनालाई अन्धधुन्द प्रहरीले समात्नुपर्ने थिएन। 

घटना झनै ट्विस्ट हुँदै गएको छ। बिहीवार संसदमा बोल्दै नेकपाका सांसद महेश बस्नेतले पाल माथिको घटनालाई प्रस्तावित प्रधान न्यायाधीश दीपकराज जोशसँग जोडे। संसदमै गृहमन्त्रीले जवाफ दिँदा ‘लेनदेन नभएर राजनीतिक तवरको भएको’ दाबी गरे, भलै घटनामाथि अनुसन्धान सुरु भएको थियो। उनले पनि दलीय भाषा बोल्दै प्रस्तावित प्रधान न्यायधीशतिर औला तेर्स्याए। गृहमन्त्रीले तथ्यकै आधारमा बोलेका हुन् भने राजनीतिक कारण के हो उत्तर कहिले दिन्छन्? त्यो राजनीतिक कारणमा को को छन्? सत्तारुढ वा प्रतिपक्ष वा अन्य कोही? कि महेश बस्नेतले भने झै जोशी? घटनाको अनुत्तरित प्लट बाहिर ल्याउन पक्कै पनि सरकार सक्षम हुनेछ या राजनीतिक स्टन्टमात्रै? त्यो समयले बताउने नै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell