PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

सामूदायिक विद्यालयमा कम्प्युटर : विद्यार्थीबाट चर्को शुल्क लिन्छन्, तर विद्यार्थीले छुन नपाई थोत्रिन्छ



पी बी खड्का

सामूदायिक विद्यालयमा कम्प्युटर : विद्यार्थीबाट चर्को शुल्क लिन्छन्, तर विद्यार्थीले छुन नपाई थोत्रिन्छ

सुर्खेत: सामूदायिक विद्यालयहरु कम्प्युटर शिक्षाको पढाईमा विद्यार्थीको मोह बढेको छ। पछिल्लो समय विज्ञान र प्रविधिले फड्को मारेसंगै अधिकांश सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षाको पढाई हुने गरेको छ। शहरका नाम चलेका विद्यालयदेखि ग्रामीण क्षेत्रका सामूदायिक विद्यालयहरुमा समेत कम्प्युटर शिक्षाको पढाई थालिएको हो। 

विद्यालय प्रशासनको लापरवाहीले नै कतिपय विद्यार्थीले कम्प्युटर छुन त के देख्नसमेत पाउँदैनन्। अधिकांश सामूदायिक विद्यालयले कम्प्युटर शिक्षाको नाममा विद्यार्थीबाट रकम असुली रहेका हुन्छन्। तर, ती विद्यालयमा विद्यार्थीले कम्प्युटर छुनसम्म पाउँदैनन्। विद्यार्थीलाई पढाउन ल्याईएका कम्प्युटर विद्यालयको कुनै कोठामा थन्किएर आफैँ थोत्रिन्छन्। 

सुर्खेतको गुर्भाकोट नगरपालिकामा रहेको जन सेवा माध्यामिक विद्यालयमा पनि विद्यार्थीले कम्प्युटर छुनसमेत पाउँदैनन्। विद्यालयमा करिब एक दर्जन कम्प्युटर राखिएको छ, तर अहिलेसम्म कम्प्युटरको पढाई नभएको विद्यार्थी तथा बाल अधिकार चेतना समूहका अध्यक्ष नेत्र देवकोटाले बताए। ‘म कक्षा ७ मा पढ्ने बेलामा कम्प्युटर कक्ष थियो।’ उनले भने,‘अहिलेसम्म ती कम्प्युटर कता छन्, कस्तो छन् देखिएको छैन्, कम्प्युटर पढ्ने भन्दै  शुल्क तिरेका छौँ।’ 

विद्यालयका कम्प्युटर भने राखेरै थोत्रिने अवस्था छन्। विद्यालयले भने दक्ष जनशक्ति नभएको भन्दै टार्ने गरेको छ। 

विद्यालयका प्रधानाध्यापक थानेश्वर पाण्डेले विद्यालयमा कम्प्युटर शिक्षक नभएकाले पढाई हुन नसकेको तर्क गरे। विद्यालयमा कम्प्युर उपलब्ध भएपनि जनशक्ति नहुँदा पढाई हुन नसकेको बताए। ‘विद्यालयमा कम्प्युटर त आयो, तर पढाउने शिक्षक नहुँदा पढाई हुन सकेको छैन्।’ उनले भने,‘विद्यालयले राख्ने स्रोत छैन् सरकारले दरबन्दी नदिँदा समस्या भएको छ।’

त्यस्तै, प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर आसपासका सामूदायिक विद्यालयको हालत पनि उस्तै छ। कम्प्युटर शिक्षाका नाममा विद्यार्थीबाट चर्काे रकम असुलेर पढाई नै नहुने प्रवृत्ति देखिएको छ। 

राजधानीकै जनसेवा माध्यामिक विद्यालय वीरेन्द्रनगरको विद्यालयमासमेत भएका कम्प्युटर एउटा कोठामा थन्किएका छन्। विद्यालयमा भएको करिब ११ वटा कम्प्युटर छरपस्ट देखिन्छन्। विद्यार्थीलाई नपढाएर ती कम्प्युटर त्यत्तिकै थन्किएका छन्। कक्षा ९ मा अध्ययनरत विद्यार्थी कमल खड्काले विद्यालयले विद्यार्थीलाई नियमित कम्प्युटर नपढाएको गुनासो छ। ‘विद्यार्थीका लागि भनेर १०÷१२ वटा कम्प्युटर त राखेका छन्, तर हामीलाई पढाइ नै हुदैँन।’ उनले भने,‘विद्यालयमा भएको कम्प्युटर समेत राम्रोसँग सिक्नै पाइन्नँ, पहिले पहिले हुन्थ्यो आज भोलि त पटक्कै भा छैन।’  

अभिभावकले विद्यालयमा भएका कम्प्युटरको प्रयोग गर्नुपर्ने बताउँछन्। विज्ञान र प्रविधिको बढ्दो प्रयोग भइरहेका बेला विद्यार्थीलाई कम्प्युटर सिकाई अनिवार्य भएको वीरेन्द्रनगर ११का अभिभावक ओमप्रसाद रेग्मीको भनाई छ। ‘पछिल्लो समय विद्यार्थीका लागि अनिवार्य नै हो,’ उनले भने, ‘विद्यालयमा भएका कम्प्युटर अनिवार्य प्रयोग गराई विद्यार्थीलाई सिकाउनु पर्छ, विद्यालयले वेवास्ता र लापरवाही पटक्कै गर्न हुदैन।’

यता, शिक्षा विकास तथा समन्वय इकाई सुर्खेतका प्रमुख जितबहादुर शाहले विगतको वर्षहरुमा भन्दा विस्तारै कम्प्युटर शिक्षाको प्रयोग बढ्दै गएको बताए। ‘विगतका वर्षहरुमा भन्दा पछिल्लो समय कम्प्युटर शिक्षाको प्रयोग बढेको छ,’ उनले भने, ‘धेरै जसो विद्यालयमा कम्प्युटर भएर पनि दक्ष जनशक्ति नहुँदा कम्प्युटरहरु ल्याबमै थन्किएको अवस्था छ।’ कम्प्युटर विषयका लागि छुट्टै शिक्षकको व्यवस्था नहुँदा समस्या भएको उनको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell