PahiloPost

Aug 29, 2025 | १३ भदौ २०८२

नक्सालको सगरमाथा इन्स्योरेन्समा ‘भूत’! आज स्वस्ति शान्ती लगाउँदै कम्पनी, घटना के हो ?



पहिलोपोस्ट

नक्सालको सगरमाथा इन्स्योरेन्समा ‘भूत’! आज स्वस्ति शान्ती लगाउँदै कम्पनी, घटना के हो ?

समय: रातको ९ बजे

स्थान:सगरमाथा इन्स्योरेन्सको बिल्डिङ, नक्साल

रात जति छिप्पिँदै जान्छ, बिल्डिङको लिफ्ट आफैँ चल्न सुरु हुन्छ अनि विस्तारै तलमाथि गर्न थाल्छ। तर लिफ्टबाट न कोही भित्र पसेको देखिन्छ न कोही बाहिर निस्कन्छ।

यहि घटना हरेक रात दोहोरिन थालेपछि सुरक्षा गार्डहरु तर्सिन थाल्छन्। लिफ्ट खोलेर हेर्दा भित्र कोही पनि हुँदैन। डराउँदै उनीहरु बिजुलीको स्विच अफ गरिदिन्छन् तर पनि लिफ्ट तलमाथि ओहोरदोहोर गरिरहन्छ।

अब उनीहरु ठहर गर्छन्, पक्कै पनि भूतले लिफ्ट चलाएर सबैलाई तर्साइरहेको छ। भूत नभगाएसम्म काम गर्न सकिँदैन भनेर गार्डहरुले ब्यवस्थापनसँग गुनासो गर्छन्।

गार्डहरुको बारम्बारको गुनासोपछि सगरमाथा इन्स्योरेन्स कम्पनीले शुक्रबार यही समस्या पार लगाउन रुद्री पूजा लगाएको छ।

कम्पनीले कार्यालयका कर्मचारीवाहेक वरपरका छिमेकी कम्पनीहरुलाई पनि प्रसाद ग्रहणका लागि बोलाएको छ। कम्पनीका केही कर्मचारीहरुले भूत भगाउनका लागि ज्योतिषको सल्लाहमा पूजा लगाइएको बताए।

'भूत हुँदैन भन्ने सबैलाई थाहा छ। तैपनि गार्डहरुमा फैलिएको त्रासका कारण उनीहरुको मन राख्न पूजा  लगाइएको हो' ती कर्मचारीले भने, 'पूजा गर्दा त्यसले शान्ति पनि दिन्छ। त्यही भएर साउनको महिना पारेर रुद्री लगाइएको हो।'

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले भने भूतका लागि नभइ स्वस्तिशान्तीका लागि पूजा लगाएको बताए। 'पूजाआज नगरेको पनि धेरै भएको थियो। त्यही भएर स्वस्तिशान्ति पनि हुन्छ भनेर रुद्री पुजा लगाएको हो,' प्रमुख कार्यकारी अधिकृत चङ्की क्षेत्रीले सुनाए, 'अगाडि नै लगाउने योजना थियो, तर मेरो व्यक्तिगत कारणले कार्यक्रम सरिरहेको थियो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell