PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

साउन लागेसँगै जग्गा किनबेच ठप्प, के होला त जग्गाको भाउ?



अमर बडुवाल

साउन लागेसँगै जग्गा किनबेच ठप्प, के होला त जग्गाको भाउ?

काठमाडौं : स्थानीय तह र मालपोत कार्यालयले घरजग्गाको मूल्य बढाएपछि चालु आर्थिक वर्षको सुरुवात देखिनै घरजग्गाको कारोबारमा व्यापक कमी आएको छ। नयाँ आर्थिक वर्षसँगै उपत्यकाका सबै मालपोत कार्यालयमा भीडभाड ह्वातै घटेको छ।
 
साँखु मालपोत कार्यालयका प्रमुख किरणकुमार भट्टरार्इका अनुसार मूल्यांकन वृद्धि र १० लाख रुपैयाँ भन्दा बढीको कारोबारमा पूँजीगत लाभकर लगाउने निर्णयसँगै कारोबार ठप्पजस्तै भएको छ। उनले जग्गा बिक्री हुन छाडेपछि मूल्यमा समेत दबाब पर्ने बताए।

‘आफैसँग भएको पैसा लगानी गर्नेहरुलाई जग्गा बिक्री हुन छोडे पनि त्यति धेरै समस्या नआउला,’ भट्टराइले भने, ‘बैंकबाट ऋण लिएर लगानी गरिरहेकालाई जग्गा बिक्री गर्न कठिन हुन्छ।‘
 
मूल्यांकन बढेर जग्गाको माग हुनै छाडेपछि ऋण लगानी गरेका व्यवसायीहरु थप समस्यामा परेको भट्टरार्इले बताए। स्थानीय तहले घरजग्गाको राजस्व लिने भएपछि धेरैजसो ठाउँमा कारोबार मूल्य बराबरकै न्यूनतम मूल्य तोकिदिएका छन्। त्यो निर्णयले जग्गा रजिष्ट्रेशन गर्न लाग्ने शुल्कमै दोब्बर वृद्धि भएको छ। ३० लाख रुपैयाँको पूँजीगत लाभकरको सीमा १० लाख रुपैयाँमा झारेपछि रजिष्ट्रेशन शुल्कभन्दा बढी पूँजीगत लाभकर तिर्नुपर्छ। पूँजीगत लाभकर पनि रजिष्ट्रेशन शुल्कभन्दा बढी तिर्नुपर्ने भएपछि जग्गाको मूल्य गत वर्षको भन्दा ५० प्रतिशत महँगिएको भट्टराईले बताए।
 
उपत्यकामा भक्तपुर र ललितपुर मालपोत कार्यालय बाहेकका अन्य मालपोत कार्यालयमा सेवाग्रही नै नभएको मालपोत कार्यालय कलंकीका मालपोत अधिकृत विष्णु गौतमले बताए। पूँजीगत लाभकर बाट जोगिन असारमा अत्याधिक कारोबार भए पनि सामान्य कारोबार हुने महिनाको भन्दा पनि भिडभाड निकै घटेको गौतमले बताए।
 
तराई क्षेत्रमा पनि घरजग्गाको कारोबारमा अत्याधिक गिरावट आएको छ। विराटनगर, धनगढी, बुटवल लगायत सबै क्षेत्रमा कारोबार न्यून छ।
 

के होला मूल्य?

बजारमा अहिले घरजग्गाको माग हुनै छोडेको छ। बैंकबाट ऋण लिएर जग्गा जोडेका व्यावसायीहरुलाई निकै दवाव आइसकेको छ।
 
स्थानीय तह र मालपोत कार्यालयले घरजग्गाको मूल्याङ्कन बढाए पछि व्यवसायी थप तनावमा छन्। यसको एउटै कारण हो, स्थानीय तह र मालपोत कार्यालयले घरजग्गाको मूल्य बढाइदिएपछि बजारमा जग्गाको माग ह्वात्तै घटेको छ।
 
लगानी गरेको रकम र बैंकको ब्याज पनि नउठ्ने अवस्थामा घाटामा जग्गा बेच्न व्यवसायीहरु तयार छैनन्। तत्काल घरजग्गाको मूल्य घट्ने सम्भावना भने छैन। केही समयसम्म अहिले न्यूनतम मूल्याङ्कन र पूँजीगत लाभकरका कारण ५० प्रतिशतले बढेको मूल्य नै स्थिर रहने भट्टरार्इले बताए।
 
तत्कालै घरजग्गा कारोबार एकाएक बढ्ने सम्भावना छैन। नयाँ मूल्यांकन र लाभकर सिलिङका कारण कारोबार मूल्य बढाउने ठाउँ पनि छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell