PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नेदरल्यण्डस् विरुद्ध सेन्सेसनल जितका पाँच पल जो तपाईँ भुल्न सक्नुहुन्न



पहिलोपोस्ट

नेदरल्यान्डसलाई अन्तिम बलमा एक रनले पराजित गर्दै शुक्रबार भएको रोमाञ्चक खेलमा नेपालले पहिलो ओडिआई जित हात पारेको छ। खेलमा पाँच रोमाञ्चक पल-

१) पारसको अर्धशतक

अघिल्लो खेलमा ज्ञानेन्द्र मल्लले ५१ रन बनाई नेपालका लागि ओडिआईमा पहिलो अर्धशतक बनाउने कीर्तिमान राखिसकेका थिए। आजको खेलमा ज्ञानेन्द्र १३ रनमै आउट भए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका पारसले यस पटक अर्धशतक बनाए। ६९ बलमा ५१ रन बनाएका पारसले ६ वटा चौका र दुई वटा छक्का हानेका थिए। नेपालका लागि ओडिआईमा दुई छक्का हान्ने पहिलो खेलाडी पारस बने। ३०.६ ओभरमा नेपालको स्कोर १३५ रन हुँदा छैटौँ विकेटका रुपमा पारस आउट भए। 

२) म्यान अफ दि म्याच सोमपालको इनिङ्ग्स

बलिङ र ब्याटिङ दुवैमा सोमपाल कामीले आज जादू देखाए। नेपालले पारस खड्काको महत्वपूर्ण विकेट गुमाएपछि सोमपाल ब्याटिङका लागि आउँदा १३५ रनमा ६ विकेटको क्षति थियो। आठौँ नम्बरमा ब्याटिङ गर्न आएका सोमपालले अर्धशतक मात्र ठोकेनन्, नेपाली ब्याट्सम्यानमध्ये सबैभन्दा धेरै रन ६१ बनाए। नेपाली खेलाडीले ओडिआईमा बनाएको यो अहिलेसम्मकै उच्चस्कोर हो। त्यसैगरी उनले तीन वटा छक्का र पाँच वटा चौका पनि प्रहार गरे। नेपाली इनिङ्ग्सलाई भरथेग गर्न सोमपालको ब्याटिङ महत्त्वपूर्ण रह्यो। २०४ रन बनाउँदा नवौँ विकेटका रुपमा सोमपाल आउट भए।  बलिङमा पनि उनले पहिलो ओभरको दोस्रो बलमै माइबर्घलाई आउट गरे। 

३) सन्दीप लामिछानेको दुई बलमा दुई विकेट

२१५ रनमा अल आउट भएर २१६ रनको लक्ष्य दिएको नेपाललाई हायल कायल बनाइरहेको थियो नेदरल्यान्डस। ११४ रनमा दुई विकेटको क्षतिको स्थितिलाई सन्दीप लामिछानेले दुई बलमा दुई विकेट लिएर दबाबमा पारिदिए। २८.४ ओभरमा सन्दीपले ३९ रन बनाइसकेका दि जे टेरबाराकलाई एलबिडब्लु धरापमा पारे। त्यसको दुई बलपछि दे लिडेलाई ० रनमा आउट गर्दा सन्दीपको बलिङमा सुवास खकुरेलको स्टम्पिङ थियो। सन्दीपको अर्को विकेट ४३.३ ओभरमा स्नेटरलाई बोल्ड थियो। यो नवौँ विकेट थियो नेदरल्यान्डसको। 

४) तीन खेलाडीको डेब्यु

आजको खेलमा सुवास खकुरेल, रोहित पौडेल र ललितसिंह भण्डारीले ओडिआई डेब्यु गरेका थिए। रोहित पौडेल ओडिआई डेब्यु गर्ने विश्वकै चौथो कम उमेरका खेलाडी बने। रोहितले १५ बलमा एक चौका सहित ६ रन जोडे। खकुरेलले ३३ बलमा ३ चौकासहित १९ रन जोडे। भण्डारीले भने सन्दीप लामिछानेसँग मिली अन्तिम विकेटका लागि महत्त्वपूर्ण साझेदारी गरे। उनी ४ रनमा अविजित रहे। 

५)  नेदरल्यान्डसको अन्तिम विकेटको लागि संघर्ष

नेदरल्यान्डसले १८५ रन बनाउँदा नवौँ विकेट गुमेको थियो। तर अन्तिम एउटा विकेट हात पार्न नेपालले अन्तिम बलसम्म संघर्ष गर्नुपर्‍यो। ४८ ओभरको समाप्तिसम्म डच टिमलाई जितका लागि १२ बलमा ९ रन आवश्यक थियो। ४९ औँ ओभरमा बलिङका लागि पारसले प्रदीप ऐरीलाई अह्राए। उनले ओभरमा ३ रन दिएपछि अन्तिम ओभरमा जितका लागि ६ बलमा ६ रन आवश्यक भयो। अन्तिम ओभर बलिङका लागि कप्तान पारस आफै अघि सरे।  पहिलो बलमा एक रन, दोस्रो बलमा सून्य रन, तेस्रो बलमा १ रन बनाएपछि अन्तिम तीन बलमा ४ रन आवश्यक थियो। चौथो बलमा मिस फिल्डिङका कारण दुई रन बन्यो। अब अन्तिम दुई बलमा दुई रन आवश्यक थियो। पाँचौ बलमा कुनै रन बनेन। अन्तिम बलमा एक रन लिए खेल बराबरी र दुई रन लिए नेदरल्यान्डसले जित्थ्यो। तर अन्तिम बल स्लो हानेका पारसले गुड्दै आएको बललाई लिएर आफू नजिकैको स्टम्प उखेलेपछि क्लास्सेन रनआउट भए र नेपालले खेल एक रनले जित्यो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell