PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

मिडियामाथि मोदीराज : एबीपीका पुण्यप्रसुन वाजपेयीको मास्टर स्ट्रोकमाथि बिजेपीको काउन्टर स्ट्रोक



पहिलोपोस्ट

मिडियामाथि मोदीराज : एबीपीका पुण्यप्रसुन वाजपेयीको मास्टर स्ट्रोकमाथि बिजेपीको काउन्टर स्ट्रोक

भारतको चर्चित न्युज च्यानल एबीपी न्युजका दुर्इ सम्पादकले राजीनामा दिनु र एक जनालार्इ १५ दिन भन्दा बढी समयदेखि कामविहीन बनाइएको घटना अहिले भारतीय मिडियामा चर्चाको विषय बनेको छ। 

उक्त घटनामा नरेन्द्र मोदीको सरकार र भारतीय जनता पार्टीको प्रभाव रहेको र नाम चलेका भारतीय मिडिया हाउसका संचालक नै सत्तासीन दलप्रति नतमस्तक भएको र उनीहरु सत्तामा रहेकालार्इ खुशी बनाउन लागि परेको यसबाट स्पष्ट भएको छ।  

एबीपी न्युजको संचालक समितिले बुधवार उक्त च्यानलका प्रधान सम्पादक मिलिन्ड कन्डेकरले राजीनामा दिएको सार्वजनिक गरेको थियो। त्यसको केही समयपछि चर्चित टिभी प्रस्तोता पुण्यप्रसुन वाजपेयी पनि एबीपी न्युजबाट बाहिरिएका थिए। वाजपायीले एबीपी न्युजमा 'मास्टर स्ट्रोक' भन्ने कार्यक्रम संचालन गर्दथे। 

भारतकै अर्को चर्चित च्यानल आजतकमा रहँदा रामदेवलार्इ ट्रस्टका माध्यमबाट कर छली गरेको प्रश्न सोध्दा त्यस च्यानलबाट हटाइएका प्रसून पछि एबीपी न्युज पुगेका थिए। 

वाजपायीले राजीनामा दिएको अथवा उनलार्इ कामबाट निस्कन भनिएको भन्ने विषय भने अझै प्रस्ट भएको छैन। तर, उनले आफ्नो कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गरिबी उन्मुलन गर्ने अभियानका क्रममा छत्तीसगढको एक महिलाले आफनो आय दुर्इ गुणाले बढेको बताएको कुरा गलत रहेको रिपोर्टिङ गरेका थिए। त्यस कारण उनीसँग मोदी सरकारका धेरै मन्त्रीहरु क्रुद्ध बनेका थिए। त्यसको केही दिन पछि वाजपायीलार्इ च्यानलको व्यवस्थापनले उनले अब 'मास्टर स्ट्रोक' कार्यक्रम संचालन गर्न नपाउने बताएको थियो।  

यी दुर्इ पत्रकारबाहेक एबीपी न्युजका वरिष्ठ समाचार प्रस्तोता अभिशार शर्मालार्इ पनि दुर्इ हप्तादेखि कुनै कार्यक्रममा अन एयर नपठाइएको एबीपीका स्रोतले जनाएको छ। उनलार्इ एबीपीको व्यवस्थापनले उनको कार्यक्रममा मोदीको कुनै आलोचना नगर्न भनिएको छ।  

एबीपी न्युजमा अचानक यस्तो परिवर्तन आउनुको कारण पछाडि भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहको संलग्नता रहेको भनिएको छ। शाहले गत सातामात्र भारतीय संसदमा पत्रकारहरुको एक समूहलार्इ 'एबीपी न्युजलार्इ पाठ सिकाउने' बताएको कुराले यो तथ्य स्पष्ट भएको छ।  


'मोदीको आलोचना गर्न पाइदैन'

केही दिन अघि नरेन्द्र मोदीले लखनउमा भाषण दिँदा उत्तर प्रदेशमा कानुन व्यवस्था सुध्रेको बताएका थिए। तर, त्यसको एक दिनपछि उत्तर प्रदेशमा दुर्इ हत्या भएका थिए। अभिशारले एक बुलेटिनमा मोदीको उक्त भनार्इको खण्डन गरेका थिए। त्यसैले उनी माथि च्यानलले एक्सन लिएको बताइएको छ। 

समाचार प्रसारण गर्ने क्रममा अभिशारले प्रधानमन्त्रीको नाम नै लिएपछि न्युज रुममा हल्ला मच्चिएको थियो। एबीपीका सिइओ अतिदेव सरकारले त तत्काल नै बुलेटिन प्रसारण रोक्न जोड दिएका थिए। 

एबीपीको न्युज रुममा कार्यरत कर्मचारीहरुका अनुसार बुलेटिनको प्रसारण तत्कालै नरोकेकोमा मिलिन्ड कन्डेकरमाथि अतिदेव क्रुद्ध बनेका थिए। कन्डेकरले बुलेटिन प्रसारण भएको पाँच मिनेट बितिसकेको भन्दै प्रसारण रोकेका थिएनन्। बुलेटिन सकिएपछि अभिशारलार्इ फेरि मोदीको आलोचना नगर्न सचेत गराइएको थियो। पछि च्यानलको व्यवस्थापनले उनलार्इ १५ दिनका लागि अन-एयर नपठाइने जनाकारी दिएको थियो। यस्तै च्यानलका सबै कार्यकारी निर्माताहरुलार्इ अबदेखि मोदी सरकारको आलोचना हुने कन्टेन्ट प्रसारण नगर्न भनिएको थियो। 

उक्त निर्णयहरु अतिदेव सरकारबाट सिधै आएको हो। सोही दिन नै बाजपायीलार्इ उनले संचालन गर्दैं आएको कार्यक्रम चित्रा त्रिपाठीले संचालन गर्ने बताइएको थियो। 

सेन्सरसिपको भिन्न रुप

सामाजिक संजालमा धेरै दिनदेखि बाजपायीले संचालन गर्दै आएको कार्यक्रमको बारेमा चर्चा भइरहेको थियो। यसैबीच एबीपी च्यानलले सरकारको आलोचना वा अपमान नहोस भनी जानी जानी बाजपायीको 'मास्टर स्ट्रोक' कार्यक्रको प्रसारण बन्द गरेको कुरा खुलेको छ। 

च्यानलले 'मास्टर स्ट्रोक' प्रसारण हुने समयमा विभिन्न डीटीएच प्ल्याटफर्महरुबाट सो कार्यक्रमको प्रसारण नै बन्द 'ब्ल्याक आउट' गरिदिएको विषयलार्इ एबीपीमै कार्यरत कर्मचारीहरुले पुष्टि गरेका छन्। 

केही हप्तादेखि भारतभरका दर्शकहरुले बाजपायीको कार्यक्रम हेर्न नपाएको दाबी गरेका थिए। एबीपीमै कार्यरत एक वरिष्ठ पत्रकारका अनुसार मोदीको स्किम अनुसार छत्तीसगढमा एक महिलाको आमदानी नबढेको फलोअप समाचार प्रसारण गरेको भोलिपल्टबाटै 'मास्टर स्ट्रोक' को कार्यक्रम ब्ल्याक आउट गरिएको थियो। 

वाजपायी आफैले ब्ल्याक आउटको आलोचना गर्दै ट्विटरमा लेखे' तिमीहरुले मास्टर स्ट्रोकको समयमा स्क्रिन ब्ल्याक आउट गर्नसक्छौ। तर, हामी त्यसलार्इ एउटा 'ब्ल्याक बोर्ड' मा रुपान्तरण गरी त्यसमा सत्य लेख्ने छौं।' डी वायरले स्वतन्त्र रुपमा च्यानलले प्रणालीविरुद्ध ब्ल्याक आउट गरेको पुष्टि नगरे पनि मास्टर स्ट्रोकका कार्यक्रमहरु युटयुवमा नराखिएको जनाएको छ।

भारतीय रक्षा मन्त्री निर्मला सीतारामण सहित केन्द्र सरकारका मन्त्रीहरुले केही समय अघि नरेन्द्र मोदीले गरेका कामहरुको विरोध गरेकोमा वाजपायीको आलोचना गरेका थिए। 

जुन २० मा नरेन्द्र मोदी र भारतका किसानहरुबीच भिडियो कन्फरेन्स मार्फत भएको कुराकानीमा छत्तीसगढकी चन्द्रमनी कौसिकले उनको आयमा दोब्बर वृद्धी भएको दाबी गरेकी थिइन्। तर एबीपीले जुलार्इ ६ मा प्रसारण गरेको रिपोर्टमा उनले आफ्नो आय वृद्धि भएको कुरा झुटो रहेको बताएकी थिइन्। उनलार्इ त्यसो भन्न सिकाइएको उनले रिपोर्टमा बताएकी छिन्।

सरकारका मन्त्रीहरुले चन्द्रमणिको परिवर्तित भनाइ प्रसारण गरेकोमा एबीपीको चर्को आलोचना गरेका थिए। च्यानलले आफ्ना रिपोटरहरुलार्इ त्यस क्षेत्रबाट प्रस्तुत गरिएका कुराहरुको सत्यता पत्ता लगाउन त्यहाँ पठाएको थियो। 

एबीपीका कर्मचारीहरुका अनुसार मोदी सरकारको आधिकारिक धारणा विपरीत गएर समाचार प्रसारण गरेकोमा वाजपायीलार्इ लक्षित गरिएको हो। छत्तीसगढको रिपोर्ट प्रसारण भएदेखि आएका दबाबका कारण मिलिन्ड कन्डेकरले एबीपी छाडेको बताइएको छ। 

भारतभरका कृषक र गाम्रीण क्षेत्रमा बसोबास गर्दै आएकाले मोदी सरकारले उनीहरुको समस्या समाधान गर्न केही नगरेको बताइरहँदा उक्त रिपोर्टले झनै समस्याहरु निर्माण गरेको भारतीय जनता पार्टीको बुझाइ रहेको बताइएको छ। 

(दी वायरमा प्रकाशित सामग्रीको भावानुवाद)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell