गत साउन १० गते। राजधानीबाट नै एक पुरुषको अपहरणको खबरले प्रहरी अधिकृतहरुको मथिङगल नै हल्लायो। तनहुँ घर भएका २५ वर्षीय शिवराज घिमिरेको अपहरणको उजुरी प्रहरीको टेबुलमा आएको थियो।
मोबाइल ट्रयाक रेकर्डको आधारमा प्रहरी अपहरित घिमिरेको खोजीमा जुट्यो। पहिलो लोकेसन कलङ्की, दोस्रो पटक काडाँघारी अनि धुलिखेल हुँदै बनेपासम्म। लोकेसनको पदचाप पहिलाउँदै काठमाडौं प्रहरीको टोली बनेपासम्म पुग्यो। अपहरित घिमिरेको खोजीमा सिंगो दिन नै बित्यो। काठमाडौं मात्र होइन, काभ्रेका प्रहरी समेत घटनाको अनुसन्धानमा जुट्यो।
सोही दिन बेलुका घिमिरेले आफूलाई अपहरणकारीले गाडीमा हालेर दिनभर घुमाएको र कुटपिट गरेको भन्दै फोन आयो। कल ट्र्याक गर्यो प्रहरीले। लोकेसन देखियो स्वयम्भू। प्रहरी तत्काल त्यहाँ पुग्यो। अपहरित भनिएका घिमिरे त्यही भेटिए। अपहरणकारीको पत्तो थिएन।
प्रहरी आफ्नो मिसनमा सफल भयो। घिमिरेसँग सोधपुछ गर्दा अनुसन्धानमा जुटेका प्रहरीको मथिङगल फेरि घुम्यो। घिमिरे अपहरणमा नै परेका रहेनछन्। उनले त आफ्नी पत्नीलाई घुर्की देखाउन नाटक गरेका रहेछन्। अनि प्रहरी भएछ घिमिरेले रचेको नाटकको पात्र।
सार्वजनिक अपराधको अभियोगमा अहिले घिमिरे परिसरको हिरासतमा छन्। 'पारिवारिक झगडाको कारण जघन्य प्रकृतिका अपराधमा प्रहरीको समेत समय बर्बाद गर्ने नाटक गरियो। यस्ता घटनाले महत्त्वपूर्ण अनुसन्धानको समय खेर जान्छ,' महानगरीय प्रहरी परिसर टेकुका डिएसपी मोहनकुमार थापाले भने।
अर्को उस्तै घटना
दाङमा व्यापार गर्दै आएका ४२ वर्षीय खड्गबहादुर सुनारले एक किलो सुन लुटिएको भन्दै प्रहरीलाई खबर गरे। उनको गोंगबुस्थित रापती पाहुना घरबाट सुन लुटिएको थियो। प्रहरी रातभर अनुसन्धानमा खटिए। बिहानीपख सुन गोंगबुस्थित बिजी मलमा लुकाइएको खबर आयो।प्रहरी मलमा पुगेर हेर्दा सुन फेला पर्यो। सुन सहित अन्य चार जनालाई प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ सुरु गर्यो। कुरो खुल्दै जाँदा थाहा भयो, सुन त लुटिएको नै होइन रहेछ। यहाँ पनि लुटको नाटक मञ्चन भएको रहेछ।
सुनारले १ किलो सुन साथीहरू सँग मिलेर किनेका रहेछन्। उनी सुन व्यापारी। सुन लुटियो भन्ने समाचार फैलिएपछि साथीहरूसँग सुन किन्न उठाएको पैसा तिर्नु नपर्ने। आम्दानी एकलौटी हुने आशामा उनले ड्रामा रचेका रहेछन्। ड्रामाका डाइरेक्टर सुनवारसहित चार पात्र अहिले प्रहरी हिरासतमा छन्।
फेरि पनि प्रहरी नाटकीय अपराधको पात्र बन्यो। आपराधिक मनस्थिति र मानसिक असन्तुलनमा पुगेकाहरूले प्रहरीलाई अनावश्यक रूपमा दु:ख दिने गरेको डिएसपी थापा बताउँछन्। उनी भन्छन्, 'उजुरी परेपछि प्रहरीले अनुसन्धान गर्नै पर्छ गर्दै जाँदा केही यस्ता घटना पनि आउँछन्।'
प्रहरी अल्मल्याउने अर्को घटना
'दश वर्षदेखि सोनिकट हतियार प्रयोग गरेर शरीर, दिमाग सबै नियन्त्रणमा लिएको छ। मेरो आँखाले देख्ने तथा कानले सुन्ने देखि परिवारलाई समेत नियन्त्रणमा लिएको प्रमाण छ,' एक युवकले महानगर प्रहरीमा यस्तो उजुरी दिए।आतंवादी समूहले नेपालमा 'इन्फ्रासोनिक साउन्ड हतियार' प्रयोग गरिररहेको भन्दै नियन्त्रणको लागि उजुरी दिएका थिए। प्रहरीले अनुसन्धान सुरु गर्यो तर हात केही लागेन।
पछिल्लो समयमा प्रहरीको समय बर्बाद गर्ने यस्ता प्रकृतिका घटना आउने गरेको डिएसपी थापाले बताए। उनले भने, 'महिनामा केही यस्ता एक दुई वटा घटनाहरू आउँछन्। जसले प्रहरीलाई सास्ती दिएका छन्।'