PahiloPost

Dec 28, 2024 | १३ पुष २०८१

जोशीलाई अस्वीकृत गर्न लक्ष्मणलाल कर्णलाई किन भयो कठिन?



बीपी साह

जोशीलाई अस्वीकृत गर्न लक्ष्मणलाल कर्णलाई किन भयो कठिन?

काठमाडौं : बिहीवार विहानैदेखि संसदीय विशेष सुनवाई समितिका सभापति लक्ष्मणलाल कर्णको मोबाइल फोन बज्न थाल्यो। 

सभापति कर्णको मोबाइलमा शीर्ष नेताकै फोन आइरहेको थियो। ‘तपाईँ समितिको सभापतिबाट राजीनामा दिनुस्। आउनुस् प्रतिपक्षीको भूमिका निर्वाह गर्नुस्,’ फोनबाटै उनले सुझाव पाएका थिए। फोन गर्ने थिए नेपाली कांग्रेसका एक शीर्ष नेता। 

कर्णले जवाफ फर्काए, ‘अब अन्तिम समयमा मैले राजीनामा दिनु कतिको उचित होला र? हेरौं, के गर्न सकिन्छ, म विचार गर्छु। तर, जे हुन्छ सबै सहमतिमै हुन्छ।’

कांग्रेसका नेतापछि फोन बज्यो नेकपाका नेताको। ‘आज जसरी पनि प्रक्रियामा लग्नुपर्छ, आज टुंगो लगाउनैपर्छ,’ फोनमा उस्तै सुझाव। 
कर्णले उनलाई पनि आफ्नै शैलीमा जबाफ फर्काए, ‘विचार गर्छु। समितिका साथीहरुले जे गर्नुहुन्छ म त्यसैमा सहमत छु।’

नेकपाका सांसदहरुलाई समितिको बैठक फेरि सारिन्छ कि भन्ने चिन्ता थियो। त्यही भएर बारम्बार कर्णलाई सम्पर्क गरिरहेका थिए।

यो क्रम चलिरहँदा सभापति कर्णलाई पारिवारिक समस्या समेत आइलाग्यो। उनकी भाइ बुहारीको काठमाडौंकै एक अस्पतालमा अप्रेसन हुँदै थियो। त्यहाँबाट पनि फोन आउँदै थियो। कर्ण ‘म सिंहरबारबाट आउँछु’ भन्दै घरबाट निस्के।

सिंहदरबारमा आएर करिब अढाइ घण्टासम्म बैठक लगातार चल्यो। र, अन्तिममा प्रस्तावित प्रधान न्यायाधीश दीपक राज जोशीलाई अस्वीकृत गरियो। कर्णले उनलाई प्रधान न्यायाधीशका लागि अयोग्य घोषणा गरे। 
 

जोशी र कर्णको सम्बन्ध

राजपाका सह-अध्यक्ष कर्ण राजनीतिमा प्रवेश गर्नुअघि वकालत पेशामा थिए। निकै लामो समय वकालती पेशामा रहेका कर्ण पुनरावेदन अदालत हेटौंडामा बहस गर्थे।

नेपाल ल क्याम्पसका तत्कालीन प्रमुख रहेका दीपकराज जोशीको पहिलो नियुक्ति पनि सोही अदालतमा भएको थियो। जोशीको बेञ्चमा कर्णले करिब दुई वर्षसम्म वकालत गरेका थिए।

त्यसैले कर्ण र जोशीबीच राम्रो सम्बन्ध रहेको कर्ण स्वयम् स्वीकार गर्छन्।

जोशीका बारे कर्ण भन्छन्, ‘दीपकजीलाई मैले लामो समयदेखि चिन्छु। उहाँको बेन्चमा लामो समयसम्म बहस पैरबी गरेको छु। व्यक्तिगत रुपमा राम्रा मान्छे हुन्। साधारण तथा व्यवहारिक।’ 

कर्णका अनुसार त्यसबेला दीपकराज जोशीको कार्य क्षमता ठीकै थियो। ‘आजको जति विवाद त्यो समयमा थिएन। उनको विषयमा हेटौंडा अथवा तत्कालीन नारायणी अञ्चलमै भ्रष्टाचारबारे कुनै कुरा उठेको थिएन,’ कर्णले भने, ‘त्यसपछि उनी विभिन्न अदालतमा गए, विभिन्न क्रियाकलापमा सामेल भए। सर्बोच्च अदालतका न्यायाधीश भए, कामू प्रधान न्यायाधीश पनि। उनलाई प्रधान न्यायाधीशमा सिफारिस पनि गरिएको थियो। तर, सफल हुन सकेनन्।’

पछिल्लो समय जोशी घेराबन्दीमा परेको कर्णको बुझाइ छ।

आफूले बहस गरेको न्यायाधीशलाई नै अयोग्य घोषणा गर्दा कस्तो महसुस भयो? 

‘दीपकराज जोशीलाई अस्वीकृत गर्ने त्यो मेरो निर्णय होइन, समितिको निर्णय हो। समितिको सभापति भएको नाताले मैले त्यो निर्णय बाचन गरेको हो। निर्णयमा मेरो हस्ताक्षर पनि छैन। सभापतिले निर्णायक मतमात्र दिने गरेका छन्। अब निर्णायक मत नै प्राप्त भइसकेको अवस्थामा मैले मत दिनुको अर्थ थिएन,’ उनले बताए।

‘जुन ठाउँमा व्यक्तिगत चिनजान हुन्छ, त्यो ठाउँमा अप्रिय निर्णय गर्न त निश्चित नै कठिन हुन्छ। त्यो समस्या मसँग पनि थियो। मलाई पनि कठिनाई भयो। तर, व्यक्तिगत समस्यालाई संस्थागत समस्यासँग जोड्नु हुँदैन। समिति थियो, त्यसलाई अधिकार थियो। मेरो मित्रवत व्यवहारमा जे असर परे पनि समितिको निर्णय सुनाउनु मेरो दायित्व थियो, मैले त्यही गरे,’ कर्णले थप ब्रिफ गरे।

फोरम नआउँदा फसाद

संघीय समाजवादी फोरम नेपालले दीपक राज जोशीलाई समर्थन गर्ने कुरा कर्णलाई बारम्बार सुनाइँदै थियो।

‘फोरमले समर्थन गर्ने सहमति जनाएको छ तपाईँले पनि जोशीलाई समर्थन गर्नु पर्यो,’ पटक पटक यसो भन्दै फोन आइरहे उनलाई।

समितिको बैठक सुरु भइसक्दा फोरमका तर्फबाट सुनवाई समितिका सदस्य राजेन्द्र श्रेष्ठ समितिको बैठकमा आइसकेका थिएनन्। उनी नआउँदा समितिको बैठकमा कानेखुसी चल्दै थियो। जसले गर्दा कर्ण पनि अल्मलिएका थिए।

तर, श्रेष्ठ एक घण्टा ढिलो समितिको बैठकमा पुगे।

त्यो एक घण्टाको राम्रो सदुपयोग श्रेष्ठले गर्न भ्याएछन्।

फोरमको तर्फबाट राज्यमन्त्री हुने व्यक्तिको टुंगो लगाउने र शपथ ग्रहण गराउने टुंगो लागेछ। 

त्यतिमात्र होइन, फोरमलाई एउटा समिति दिइने र त्यसको सभापतित्व पनि श्रेष्ठलाई बनाउने विश्वास नेकपाका शीर्ष नेताले दिएपछि श्रेष्ठ समितिको बैठकमा आएको स्रोतको दाबी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell