PahiloPost

Dec 29, 2024 | १४ पुष २०८१

पुनर्निर्माणमा समस्या अनेक, उर्लँदो कोसी किनारमा पानीकै हाहाकार



सागर बुढाथोकी

पुनर्निर्माणमा समस्या अनेक, उर्लँदो कोसी किनारमा पानीकै हाहाकार

सुन्दा अचम्म लाग्ला। घर बनाउन चाहिने कच्चा पदार्थ, मजदुर अभाव त सुनिएकै कुरा हो। पूर्वी पहाडी जिल्लामा घर बनाउने पानी समेत अभाव छ। किन्न खोज्दा पाइन्न।

२०७२ साल वैशाख १२ गतेको भूकम्पले भत्किएको घर बनाउन पानी नपाउँदा घर अझै बन्न सकेका छैनन्। त्यसमाथि राहत दिन सरकारको ढिलाई र प्राविधिकको कमीले पुनर्निर्माणले गति लिन सकेको छैन।

ओखलढुङ्गाका नवीन कार्कीले घर बनाउनको लागि ढुङ्गा जम्मा पारे। दिनभरको यात्रा गरेर उदयपुरको कटारीबाट सिमेन्ट र छड किने। सिराहाको गोलबजारबाट इँटा किनेर लगे। पहाडी अप्ठ्यारो र लामो दुरीको बाटोबाट सामान किन्नु परेकाले ढुवानी खर्चले सामानको मोल दोब्बर झैँ भयो। तर पनि उनले समयमै घर बनाउन सकेनन्।

कारण सामान्य थियो- पानी र मजदुर अभाव। उनले लिटरको एक रुपैयाँ गरेर २० हजार लिटर भन्दा बढी पानी किनिसकेका छन्। किन्नलाई समेत पानीको समस्या हुँदा नवीनलाई जस्तै ओखलढुङ्गाका निशंखेवासीलाई घर बनाउन समस्या परेको छ। ४५ मिनेटभन्दा बढी लाग्ने दुरीबाट पानी किनेर ल्याउँदा अन्य सामान ढुवानीसँग थपिएको छ, पानी ढुवानीको खर्च। कार्की भन्छन्, 'यत्रो पानी किनिसकियो, घर आधा पनि भएको छैन। अझै कति किन्नुपर्ने हो, थाहा छैन।'

ओखलढुङ्गामा २१ हजार १ सय २२ घर पूर्णरुपमा क्षति भएका छन्। यीमध्ये धेरैलाई पानीको समस्याले सताएको छ। कतिपयले पानी किनेरै घर बनाइसके भने कतिपयले पानी जम्मा गर्न आकासे पानी संकलन गरिरहेका छन्।

सोलुखुम्बु तिङ्लाकी अनिता विकको समस्या पनि उस्तै छ। पानीको समस्याले घर बनाउँदा लाग्ने लागत बढेको छ उनको। खानेपानीको समस्या भएको ठाउँमा घर बनाउनका लागि पानी किन्नुको विकल्प नभएको उनको कथन छ। अरूभन्दा पनि पानीको अभावले समस्या पारेको बताउँछन्। भन्छिन्, 'यो पानी जति किने पनि कहिल्यै नपुग्ने।'

सोलुखुम्बुमा ११ हजार ९ सय ८८ घर क्षति भएका छन्। सबै ठाउँमा पानीको अभाव नभए पनि तिङ्ला लगायतका केही गाउँ पानी किनेर घर बनाउन बाध्य छ।

खोटाङ  हलेसीका कात्तिके, अर्घौले, राजापानीका अधिकांश गाउँका मानिसहरुले आकासे पानी संकलन गरी घर बनाइरहेका छन्। आकासे पानी संकलन गर्न नसक्नेहरुले लिटरको एक रुपैयाँ तिरेर पानी किनेर घर बनाइरहेका छन्। हलेसीका विशाल राई पानी किन्छु भन्दा नि पाउन गाह्रो भएको सुनाउँछन्। सुनकोशी र दुधकोशीबाट ट्यांकरहरुले पानी ल्याए पनि भनेको बेला नपाइने गुनासो छ उनको।

राईका अनुसार हलेसी तुवाचुङमा भूकम्पपछि पानीको हाहाकार भएको हो। भूकम्पअघि मूलमा पानी आए पनि भूकम्पपछि पानीको मूल सुकेको हो। भन्छन्, 'भूकम्प आएपछि पानीको मूल सुक्यो। पूरै गाउँमा हाहाकार छ।'

हलेसी तुवाचुङ नगरपालिका मेयर इभन राई १० वटा वडामा पानी समस्या रहेको बताउँछन्। उनका अनुसार नगरपालिकाको ११ वडा मध्ये १० वटा वडामा सुनकोशी र दुधकोशी घुमेको छ। तै पनि पानीको समस्या समाधान हुन सकेको छैन। पानीको अभावले हलेसी तुवाचुङ नगरपालिकाका ७ वटा वडालाई सुख्खा क्षेत्र घोषणा गरिएको छ। राई भन्छन्, 'पानीको अभावले बसाइ सराइ गर्ने अवस्था आइसक्यो।'

पुनर्निर्माणमा खटिएका प्राविधिकहरु पानीको समस्या समाधान गर्न निकै गाह्रो परेको सुनाउँछन्। पानीकै कारण कामले गति लिन नसको उनीहरुको अनुभव छ। पानीको अभावले चाँडो घर बनाएर सक्न दबाब दिन नसकेको उनीहरु स्वीकार्छन्। ओखलढुङ्गामा खटिएका पुनर्निर्माण प्राधिकरणका इन्जिनियर सागरचन्द्र अधिकारी समस्या बुझेर काम गरिरहेको बताउँछन्। उनका अनुसार कच्चा पदार्थदेखि लिएर सबै कुरा जुटाउन गाह्रो छ। पानी र मजदुरको अभावले काम ढिलो भइरहेको छ।

ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बुमा ४१ हजार ५ सय ५३ घर पूर्णरुपमा क्षति भएका छन्। त्यसमध्ये खोटाङमा मात्रै ८ हजार ४ सय ४३ घर पुनर्निर्माण गर्नुपर्छ। त्यसका लागि खोटाङवासीले पानीको समस्या भोगिरहेका छन्।

सरकारले निजी आवास २०७५ असार मसान्तभित्र निर्माण सक्ने बताएको छ। सरकारले तीन किस्तामा गरेर पीडितलाई ३ लाख रुपैयाँ उपलब्ध गराइरहेको छ। पानी, ढुङ्गा लगायतका निर्माण सामाग्रीको अभावमा उनीहरू तोकिएको समयमा घर बनाउन मुस्किल छ। भूकम्प पीडित सबैको एउटै बोली छ,  'सरकारले तोकेको समयमा घर बन्दैन। अभाव नै अभावमा काम भइरहेको ठाउँमा सरकारले घर चाँडै सक्ने दबाब नि दिँदैन होला।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell