PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नेपाली महिला टोलीले ओलम्पिकको लागि छनोट खेल्ने, छनोट खेल तालिका सार्वजनिक



पहिलोपोस्ट

नेपाली महिला टोलीले ओलम्पिकको लागि छनोट खेल्ने, छनोट खेल तालिका सार्वजनिक
file photo/anfa

काठमाडौँ : सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका सार्वजनिक गरिएको छ।

पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो। पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ। नेपालसँगै भारत, बंगलादेश र म्यानमार समूह ‘सी’ मा रहेका छन्। नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ। यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा बंगलादेशसँग खेल्नेछ। खेलस्थान भने टुंगो लागेको छैन।

एसियाको पहिलो चरणको छनोटमा नेपालसहित १८ देशले भाग लिएका छन्। उक्त खेलमा १८ देशलाई चार समूहमा विभाजन गरिएको छ। जहाँबाट समूह विजेता र उपविजेता गरी आठ र उत्कृष्ट हुने दुई गरी १२ टोली दोस्रो चरणमा पुग्नेछन्।

यसअघि नै भियतनाम र उज्वेकिस्तान सिधै दोस्रो चरणमा पुगिसकेका छन्। १२ टोलीलाई तीन समूहमा विभाजन गरिनेछ। समूह विजेता तीन टोली तेस्रो चरणमा पुग्नेछन्।

तेस्रो चरण पुगेका तीन टोली र सिधै तेस्रो चरण पुगेका पाँच टोली अस्ट्रेलिया, चीन, उत्तर कोरिया, दक्षिण कोरिया र थाइल्याण्ड गरी आठ टोलीको दुई समूहमा प्रतिस्पर्धा हुनेछ। उक्त चरणबाट समूह विजेता र उपविजेता गरी चार टोली अन्तिम चरणमा पुग्नेछन्।

अन्तिम चरणमा चार टोलीबीच ‘होम एन्ड अवे’ का आधारमा प्रतिस्पर्धा हुनेछ र उत्कृष्ट दुई टोली टोकियो ओलम्पिकमा छनोट हुनेछन्।

ओलम्पिकको महिला फूटबलमा एसियाबाट ३ कोटा छ। जापान आयोजकको हैसियतमा छनोट भइसकेकाले बाँकी दुई स्थानको छनोट प्रतियोगिताबाट हुन लागेको हो। ओलम्पिकको महिला फूटबलमा विश्वभरबाट छनोट भएका १२ टोलीबीच प्रतिस्पर्धा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell