PahiloPost

Jan 29, 2025 | १६ माघ २०८१

पूर्व प्रम, पूर्व न्यायाधीश लगायत भिआइपीका सुरक्षा गार्ड फिर्ता गरिँदै



सविन ढकाल

पूर्व प्रम, पूर्व न्यायाधीश लगायत भिआइपीका सुरक्षा गार्ड फिर्ता गरिँदै

काठमाडौँ : गृहमन्त्रालयले पूर्व प्रधानमन्त्री, पूर्व न्यायाधीश, पूर्व मन्त्री लगायत उच्चतहका कर्मचारीको सुरक्षार्थ खटिएका सुरक्षा गार्ड (पिएसओ) मन्त्रिपरिषद्को बैठकबाट औपचारिक निर्णय नै गरेर फिर्ता गर्ने तयारी गरेको छ। 

पिएसओ फिर्ताका लागि गृह मन्त्रालयले पटक-पटक आह्वान गरेपनि धेरैले गरेका छैनन्।
 
गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक गरेको ८२ बुँदे गृह सुधार योजनामा वैशाख मसान्तसम्म अनावश्यक रूपमा लिएका पिएसओ र अर्दली फिर्ता गर्ने उल्लेख गरिएको थियो। तर केही पिएसओ मात्र फिर्ता भएका थिए।

गृहमन्त्री थापाले बारम्बार फिर्ताको लागि पहल गरे पछि पछिल्ला केहि महिनामा केही पूर्वमन्त्री, सांसद र प्रहरीले  पिएसओ फिर्ता गरेका छन्। गृहमन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले अहिलेसम्म १ सय ५६ जना पिएसओ फिर्ता भएको बताएका छन्। 

पहिलोपोस्टसँगको कुराकानीमा उनले भने, 'केही पूर्वमन्त्री, सांसद, कर्मचारीलगायतका पिएसओ फिर्ता गरेका छौं। अब बाँकी रहेका पिएसओ पनि फिर्ता हुन्छन्।'

गृहमन्त्रालयले अब भने मन्त्रिपरिषद्बाट नै निर्णय पारित गराएर थप भिआइपी व्यक्तिहरुका पिएसओ र अर्दली फिर्ताको लागि तयारी गरेको छ। 

पूर्वप्रधानमन्त्री, पूर्वन्यायाधीश, मन्त्री, उच्चतहका कर्मचारीको सुरक्षार्थ खटिएका पिएसओ फिर्ता गर्न लागिएको हो। 

गृहमन्त्रालय स्रोतले भन्यो, ठूलै सङ्ख्यामा पिएसओ र अर्दली फिर्ता गर्न तयारी गरिरहेका छौं। क्याबिनेटबाट नै पास गराएर यो काम हुन्छ।'

वर्षौदेखि भिआइपी व्यक्तिको सुरक्षा र सहयोगीको रुपमा ५ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ। पूर्व राष्ट्रपतिदेखि वर्तमान मन्त्रीसम्मका ड्राइभरमा पनि प्रहरी कर्मचारी खटिएका छन्। पूर्व सांसददेखि केन्द्रमा प्रभाव राख्ने स्थानीय नेताले समेत प्रहरीलाई ड्राइभर बनाएका छन्। उच्चपदस्थ सरकारी कर्मचारीका पनि ड्राइभर प्रहरी कर्मचारी छन्।  

गृहमन्त्री रामबहादुर थापाले गृहको जिम्मेवारी सम्हालेलगत्तै नेपाली कांग्रेस नेता अर्जुननरसिंह केसी, शंकर भण्डारी लगायत नेता तथा पूर्वसचिवका चालकका रुपमा रहेका प्रहरीहरु फिर्ता गरेका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell