PahiloPost

May 20, 2024 | ७ जेठ २०८१

पैसाको लोभमा भिनाजुले नै गराएका थिए अंकितको अपहरण, चिनेर पोल खुल्ने डरले गरियो हत्या



राधेश्याम पटेल

पैसाको लोभमा भिनाजुले नै गराएका थिए अंकितको अपहरण, चिनेर पोल खुल्ने डरले गरियो हत्या

वीरगंज : बारा जितपुरका ९ वर्षीय बालक अंकित गुप्ताको अपहरण र हत्या नातामा भिनाजु पर्ने प्रदिप गुप्ताको योजनामा भएको प्रहरीले बताएको छ। 

बारा प्रहरीले आज इलाका प्रहरी कार्याल सिमरामा गरेको पत्रकार सम्मेलनमा अंकितको अपहरणपछि हत्याका तथ्य प्रस्तुत गरेको हो। बाराका डिएसपी रञ्जितसिंह राठौरका अनुसार वीरगंज–१३ रानीघाट बस्ने भिनाजु नाता पर्ने पर्ने प्रदिप मुख्य योजनाकार एवं पर्सा,पोखरिया– ७ स्थायी घर भई हाल वीरगंज–२४ रामगढवा बस्ने सिपाही भनिने रामप्रवेश साह गोढ,सोही स्थान बस्ने पार्वती देवी र भारत विहार पश्चिम चम्पारण जोगापट्टी थाना बस्ने सुरज गिरीको संलग्नता देखिएको छ।

भिनाजु पर्ने प्रदिपकै योजनामा जेठ २२ गते जितपुरबाट अंकितलाई मोटरसाइकलमा अपहरण गरी मिलन चोक–जगरनाथपुर सडक भएर वीरगंज ल्याइएको थियो। मोटरसाइकलमा ल्याउने काम भिनाजु प्रदिप र सहयोगी रामप्रवेश साह गोढले गरेका थिए। रामप्रवेशसँग प्रदिपको पुरानो दोस्ती थियो। दुबैले तयारी स्वरुप केही सातादेखि अंकितको दैनिक गतिविधिलाई नियालिरहेका थिए ।

अपहरणको दिन अंकित घरबाट बजारतिर गइरहको अवस्थामा भिनाजु प्रदिपले 'आऊ मोटरसाइकलमा बस' भन्दै लगेर अपहरण गरेको प्रहरीको भनाई छ।

त्यसपछि वीरगंज रानीघाटमै राखेर फिरौतीको लागि विहारका सुरज गिरीलाई लगाइयो। दुई पटक गरी साढे ६४ लाख भारु अर्थात् १ करोड लिएर अंकितको हत्या गरियो।

अंकितलाई छाड्दा  चिनेको हुनाले भिनाजुको पोल खुल्ने र घटनामा फस्ने डरले फिरौती लिएर पनि अंकितको हत्या भएको प्रहरीको अनुसन्धानले देखाएको छ।

फिरौती लिएर साउन १ गते हत्या गरी वीरगंज–२२ मनियारी (जगरनाथपुर)मा अंकितको लाश बोरामा बाँधेर नहरमा फालिएको थियो। उनको लाशको हाल सम्म पहिचान हुन सकेको छैन। अभियुक्तहरुको बयानको आधारमा अभियुक्तहरुलाई प्रहरीले सार्वजनिक गरेको हो। डिएनए रिपोर्ट आउन बाँकी छ।

अंकितको रेखदेखमा संलग्न रहेकोले पार्वती देवीलाई पनि नियन्त्रणमा लिइएको हो।

सबै अभियुक्त वीरगञ्जबाट पक्राउ परेको दाबी पत्रकार सम्मेलनमा गरे पनि प्रहरी उच्च स्रोतका अनुसार घटनाका मुख्य योजनाकार भनिएका कलवारलाई १८ साउनमा प्रहरीले भारत विहारको पश्चिम चम्पारण स्थित जोगापट्टी डुमरीयाबाट पक्राउ गरेको हो। 

घटनामा संलग्न तीनजना पक्राउ परिसकेपछि उनी बिहार छिरेका थिए। प्रहरीले गत साउन ७ गते घटनामा संलग्नमध्ये रामप्रवेशलाई पक्राउ गरेको थियो। उनकै बयानका आधारमा पार्वतीदेवी र सुरज गिरीलाई ८ गते पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता डिएसपी राठौरले बताए । 

यसरी भएको थियो घटना

प्रहरीका अनुसार घटनाका मुख्य योजनाकार प्रदिपको रामप्रवेशसँग पहिलेदेखिकै चिनजान थियो। पेशाले सवारीचालक रहेका रामप्रवेशलाई प्रदिपले बच्चाको अपहरण गरी फिरौती असुल्ने योजना सुनाए। 

आर्थिक प्रलोभनमा परेपछि रामप्रवेशले प्रदिपको योजना अनुसार जीतपुर बजारमा आएर बच्चाको गतिविधि निगरानी गर्ने कार्यमा प्रदिपलाई सहयोग गरे। केही समयदेखि बच्चाको गतिविधि नियालिरहेका उनीहरुले जेठ २२ गते साँझ अंकितलाई जीतपुर बजारबाट अपहरण गरी मोटरसाइकलमा राखेर लगेको प्रहरीको भनाई छ। 

नातामा भिनाजु पर्ने प्रदिपले बोलाएपछि अंकित मोटरसाइकलमा बसेको र उनीहरुले जीतपुर पछाडिबाट पर्सा जिल्लाको बाटो हुँदै वीरगञ्ज पुर्‍याएका थिए। ‘भिनाजुले नै लगेकाले बच्चा लैजान उनीहरुलाई सहज भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने।

बच्चाको अपहरणपछि पार्वती देवी र सुरज गिरीले बच्चा लुकाउने र फिरौती बुझ्ने कार्यमा भूमिका खेलेको प्रहरीले जानकारी दियो। अपहरणकारी रामप्रवेशकी भाउजु पार्वतीदेवीले बच्चाको रेखदेख गर्ने र बालकको परिवारसँग फिरौती बुझ्ने कार्यमा सहयोग गरेको प्रहरीको भनाई छ। 

पारिवारिक श्रोतलाई उद्धृत गर्दै बारा प्रहरीले जनाए अनुसार उनीहरुले दुई पटक गरेर कूल ६४ लाख भारतीय रुपैयाँ फिरौती लिएका थिए । भारतमा फिरौती बुझेका उनीहरुले सुरजमार्फत् पटक-पटक परिवारलाई धम्काउने र फिरौती माग्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

अपहरणको मुख्य योजनाकार प्रदिपलाई बच्चाले राम्ररी चिन्ने भएकाले उनीहरुले फिरौती बुझेपछि बालकको हत्या गरेको प्रहरीको भनाई छ। ‘भिनाजु नै भएकाले अप्ठ्यारोमा पर्न सक्ने भन्दै प्रदिपकै योजनामा बालकको हत्या भएको देखिन्छ’ प्रहरी प्रवक्ता राठौरले भने। बारा प्रहरीले अपहरणमा प्रयोग भएको भिआर २२ जे ४७५७ नम्बरको भारतीय मोटरसाइकल, ८ एमएमको २ थान गोली र ७ लाख १५ हजार रुपैयाँ रामप्रवेशको घरबाट बरामद गरेको छ। 

जिल्ला प्रहरी कार्यालय बारा, जिल्ला प्रहरी कार्यालय पर्सा, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) र २ नम्बर प्रदेश प्रहरी कार्यालय र भारतीय प्रहरीको  संयुक्त पहलमा घटनाको अनुसन्धान गरी चारजनालाई पक्राउ गरिएको र घटनामा अन्य व्यक्तिको समेत संलग्नता हुन सक्ने भएकाले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ । 

अझै हुन बाँकी छ शवको पहिचान

जीतपुरबाट अपहरित अंकीतको हत्याका अभियुक्तहरु सार्वजनिक भइसके पनि अंकितको शवको पहिचान भने अझै पुष्टि हुन बाँकी छ। गत साउन १ गते वीरगञ्ज महानगरपालिका २२ जगरनाथपुर स्थित गण्डक नहरमा एक बालकको बेवारिसे शव भेटिएपछि प्रहरीले सो शवलाई डिएनए परिक्षणका लागि पठाइएको छ। 

बालकका परिवार र प्रहरीसमेतले सो शवको प्रकृति र बालकले घाँटीमा लगाएको मालाका आधारमा शव अंकितकै भएको बताएका छन् तर आधिकारिक पुष्टि हुन भने बाँकी छ। ‘अपहरित बालकको हत्या गरेको र शव गाडेको अभियुक्तहरुले समेत स्वीकार गरेका छन्। शवको डिएनए रिपोर्ट भने आइसकेको छैन,’ प्रहरी प्रवक्ता राठौरले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell