
सर्जियो अगुएरोको दुई गोल मद्दतमा चेल्सीलाई हराउँदै म्यानचेष्टर सिटीले कम्युनिटी शिल्डको उपाधि जितेको छ।
लण्डनको वेम्ली स्टेडियममा आइतवार भएको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो। सिटीका लागि अगुएरोले दुवै हाफमा एक-एक गोल गरे। पहिलो हाफको १३औँ मिनेटमा गोल गर्दै सिटीलाई अग्रता दिलाएका अगुएरोले दोस्रो हाफको नि १३औँ मिनेटमै गोल गरे।
पहिलो गोल गरेसँगै अगुएरोले सिटीका लागि दुई सयौँ गोल पुरा गरेका छन्। प्रिमियर लिगमा सिटीका लागि सर्वाधिक १४३ गोल गरेका अगुएरो सिटीका लागि सबैखाले प्रतियोगिता २०० गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन्।
सिटी सन् २०१३ पछि प्रिमियर लिग र कम्युनिटी शिल्ड जित्ने पहिलो क्लब समेत बनेको छ। सन् २०१३ मा म्यानचेष्टर युनाइटेडले प्रिमियर लिग र कम्युनिटी शिल्ड जितेको थियो।
यस्तै कम्युनिटी शिल्ड जितेर प्रिमियर लिग जित्ने पछिल्लो टिम पनि युनाइटेड नै हो। उसले २०१० मा यस्तो सफलता हात पारेको थियो।
प्रिमियर लिग च्याम्पियन र एफएकप च्याम्पियनले प्रिमियर लिग सुरु हुनुअघि कम्युनिटी शिल्डमा प्रतिस्पर्धा गर्नेछन्।