PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

नयाँ संहिताका कार्यविधिबारे लेखापढी कानुन व्यवसायीलाई प्रशिक्षण



पहिलोपोस्ट

नयाँ संहिताका कार्यविधिबारे लेखापढी कानुन व्यवसायीलाई प्रशिक्षण

काठमाडौँः नेपाल लेखापढी कानून व्यवसायी मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐनका बारे दीक्षित भएका छन्।

ती ऐनमा परिमार्जित गरी समावेश भएका मुलुकी फौजदारी कार्यविधि, तारिख, वारिस, प्रमाण परीक्षण, सजाय, जरिवाना, क्षतिपूर्तिसम्बन्धी व्यवस्था, करणीसम्बन्धी कसुर, करार तथा अन्य दायित्वको व्यवस्था, मुलुकी देवानी कार्यविधि, मुलुकी अपराधजस्ता विषयमा सेवाग्राहीलाई लाभान्वित गराउने उद्देश्यले उनीहरुलाई दीक्षित गरिएको छ।

नेपाल वार एशोसिएशन र नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनले संयुक्तरुपमा पाठ्यक्रम निर्माण गरी कानूनविद् तथा विज्ञबाट प्रशिक्षण दिइएको हो। सातै प्रदेशबाट सहभागी ७० व्यवसायीलाई प्रशिक्षित गरिएको छ। आगामी भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइने उक्त ऐनबारे दीक्षित व्यवसायीले सिकेका ज्ञान, सीपलाई स्थानीय तहका व्यवसायीलाई सिकाउने छन्।

नेपाल बार एशोसिएशनका अध्यक्ष शेरबहादुर केसीले समाजमा विकास भएको चेतना तथा वस्तुस्थितिका आधारमा ऐन, नियम तथा कानून समयसापेक्ष परिमार्जित हुँदै जाने विश्वव्यापी अभ्यास रहेको बताए।

उनले अहिलेको अत्याधुनिक समाजलाई न्यायिक दृष्टिकोणबाट सशक्त र प्रभावकारी बनाउन मुलुकी ऐनलाई संशोधन गरी कार्यान्वयनमा ल्याउन लागिएको बताउँदै व्यवसायीले पनि ऐनको गहन अध्ययन गरेरमात्र सेवाग्राहीलाई आवश्यक सेवा प्रदान गर्नुपर्नेमा जोड दिए।

नेपाल लेखापढी कानून व्यवसायी एशोसिएशनका अध्यक्ष सीताराम दाहालले मुलुकको परिवर्तित संरचनामा परिमार्जित भएको ऐनबारे देशभरका सर्वसाधारण नागरिकलाई आवश्यक पर्ने कानूनी परामर्शका साथै लेखापढीको सेवा सर्वसुलभ तरिकाले उपलब्ध गराउन प्रशिक्षण महत्वपूर्ण रहेको बताए। विसं १९१० मा ल्याइएको मुलुकी ऐन विसं २०२० मा परिमार्जित गरी कार्यान्वयनमा आएको थियो। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell