PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

काठमाडौँ आइपुग्यो पहिलो ओडिआई जितेको नेपाली क्रिकेट टोली, हेर्नुस फोटोमा

काठमाडौँ आइपुग्यो पहिलो ओडिआई जितेको नेपाली क्रिकेट टोली, हेर्नुस फोटोमा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : पहिलो ओडिआई सिरिज खेल्दै नेदरल्याण्ड्स विरुद्ध पहिलो ओडिआई जित हात पारेको नेपाली क्रिकेट टोली सोमबार बिहान काठमाडौँ आइपुगेको छ। 

ऐतिहासिक ओडिआई जितेको नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसिचव केशव कुमार विष्ट लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा  स्वागत गरे।

नेपाली टोलीका युवा स्टार सन्दीप लामिछाने भने सीपीएल खेल्नका लागि नेदरल्याण्ड्सबाटै वेष्टइन्डिज गइसकेका छन्। नेदरल्याण्ड्स पुगेका १९ सदस्यीय टोली मध्ये कप्तान पारस सहित १४ खेलाडी, म्यानेजर, प्रशिक्षक, फिजियो र ट्रेनर सहित १८ सदस्यीय टोली फर्किएका हुन्।

यस्तै गत फेब्रुअरीमा नामिबियामा भएको डिभिजन टु खेलेपछि उतैबाट अमेरिका पुगेका शरद पनि त्यसयता पहिलो पटक टोलीसागै नेपाल फर्केका छन्। शरद जिम्बावेमा वान डे वर्ल्डकप क्वालिफायर र नेदरल्याण्ड्समा खेल्न अमेरिकाबाटै गएका थिए।

पहिलो पटक ओडिआई मान्यता पाएको साँढे ४ महिनापछि नेदरल्याण्ड्ससँग २ खेलको ओडिआई सिरिज खेलेको नेपालले दोस्रो खेल १ रनले जितेको थियो। पहिलो खेलमा भने नेपाल ५५ रनले पराजित भएको थियो।

नेपालले अब यसै अगष्टको अन्तिममा एसिया कप छनोट खेल्दैछ। उक्त छनोटबाट विजेता हुने टोली एसिया कपको लागि छनोट हुनेछ। कप्तान पारसले एसिया कप नेपालको लागि अर्को अवसर भएको प्रतिक्रिया दिए। एसिया कप छनोट जित्नेले एसिया कपमा भारत र पाकिस्तानसँग खेल्न पाउँनेछ।

सन् १९९६ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न सुरु गरेको नेपालले २२ वर्षपछि गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन स्थान हात पार्दै आगामी ४ वर्षका लागि ओडिआई स्ट्याटस पाएको हो।


ट्रेन्डिङ पोस्ट

Ncell