
काठमाडौँ : नेदरल्याण्ड्स विरुद्ध ऐतिहासिक ओडिआई सिरिज नेपाली राष्ट्रिय क्रिकेट टोली सोमवार स्वदेश फर्किएको छ।
टोली बिहान काठमाडौँ आइपुगेको हो। नेदरल्याण्ड्स विरुद्ध ओडिआई सिरिजको पहिलो खेल हारेपनि दोस्रो खेलमा १ रनको रोमाञ्चक जित हात पारेपछि नेपालले सिरिज १-१ ले बराबरी गर्यो।
गत मार्चमा जिम्बावेमा भएको वान डे वर्ल्डकप क्वालिफायरमा एसोसिएटतर्फ उत्कृष्ट तीन भित्र परेपछि नेपालले आगामी चार वर्षको लागि ओडिआई मान्यता पाएको हो।
पहिलो वान डे इन्टरनेशनल (ओडिआई) खेलमा जित हासिल गरेपछि नेपाली टोलीका कप्तान पारस खड्काले पनि पहिलो जित ऐतिहासिक भएको प्रतिक्रिया दिए। उनले लर्ड्सको सिरिज वर्षाले प्रभावित भएपनि नेदरल्याण्ड्सको सिरिज बराबरी हुनुले आफूहरु उत्साही भएको बताए।
एसियाकप छनोट नजिक आइरहेको अवस्थामा पहिलो ओडिआई सिरिजमा राम्रो प्रदर्शनले भविष्यमा नेपाली टोली माथिल्लो स्तरको क्रिकेटका लागि तयार रहने कप्तान पारसले बताए। 'यो पहिलो ओडिआई जित हो। हामी अझै माथिल्लो स्तरका लागि तयार भएको यसले देखाउँछ।'
पारसले एसिया कप छनोट नेपालका लागि अवसरको रुपमा रहेको र त्यसका लागि अझै राम्रो क्रिकेट खेल्नुपर्ने आवश्यकता रहेको बताए।
यस्तै नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटेले भने नेदरल्याण्ड्स विरुद्धको सिरिज नेपाली क्रिकेटको स्तरोन्नतिका लागि महत्वपूर्ण रहेको बताए। प्रशिक्षक टमाटाले बलिङ र फिल्डिङमा उत्कृष्ट प्रदर्शन गरे पनि ब्याटिङमा सुधार गर्नुपर्ने ठाउँ रहेको पनि स्वीकार गरे। उनले विश्व क्रिकेटकै पावर हाउस मानिने भारत, पाकिस्तानसँग क्रिकेट खेल्ने सपना पूरा गर्नका लागि एसिया कप छनोटमा शतप्रतिशत प्रदर्शन गर्ने बताए।
२३ दिनपछि एसिया कप छनोट
नेपालले अबको २३ दिनपछि एसिया कप छनोट खेल्दैछ। आगामी अगष्ट २९ देखि मलेसियामा हुने एसिया कप छनोटमा नेपालसहित एसियाका ६ राष्ट्रले एसिया कपमा स्थान बनाउन प्रतिस्पर्धा गर्नेछ।
जहाँ नेपालले पहिलो खेल अगष्ट २९ मा ओमानसँग बायोमास ओभलमा खेल्नेछ। अगस्ट ३० मा नेपालले दोस्रो खेल युएईसँग खेल्नेछ। उक्त खेलले ओडीआई मान्यता समेत पाउनेछ। जुन नेपालको तेस्रो ओ८आई खेल हुनेछ।
यस्तै नेपालले सेप्टेम्बर १ मा घरेलु टोली मलेसियासँग, सेप्टेम्बर २ मा सिंगापुरसँग र सेप्टम्बर ४ मा हङकङसँग खेल्नेछ। यस प्रतियोगिताको विजेता एसिया कप क्रिकेटका लागि छनोट हुनेछ।
नेपालका प्रशिक्षक टमाटाले ५० ओभरको एसिया कप पनि चुनौतीपूर्ण रहेको बताए। 'सबै खेलाडीको चाहना छ भारत र पाकिस्तानसँग खेल्ने। एसिया कपको विजेता पनि त्यही पुलमा परेको छ। हामी अब ४/४ दिनपिछ नै एसिया कप छनोटको लागि तयारी गर्छौँ'
एसिया कपमा एसियाका पाँच टेष्ट मान्यता प्राप्त मुलुकका टोलीसँग प्रतिस्पर्धा हुनेछ। छनोट विजेताले समूह चरणमै भारत र पाकिस्तानसँग खेल्न पाउनेछ।