PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

यू-१५ साफ गर्ल्स च्याम्पियनसिप : नेपाली टोली मंगलवार भुटान जाने



पहिलोपोस्ट

यू-१५ साफ गर्ल्स च्याम्पियनसिप : नेपाली टोली मंगलवार भुटान जाने

काठमाडौं : यही अगष्ट ९ देखि १८ सम्म भुटानमा आयोजना हुने यू-१५ गर्ल्स साफ च्याम्पियनसिपको लागि नेपाली टोली मंगलवार त्यतर्फ प्रस्थान गर्ने भएको छ।

भुटान जाने २३ खेलाडीसहित ३२ सदस्यीय नेपाली टोलीलाई सोमवार अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिदाइ गरेको छ। टोलीलाई युवा तथा खेलकुद मन्त्रालयको सचिव मोहन कृष्ण थापा, एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा लगायतले बिदाइ गरेका हुन्। 

च्याम्पियनसिपको एन्फाले यसअघि नेपाली टोलीको घोषणा गरिसकेको छ। नेपाली टोलीको मुख्य प्रशिक्षकमा गंगा गुरुङ, प्रशिक्षकमा श्याम मानन्धर र गोलकिपर प्रशिक्षक विनोद महर्जन रहेका छन्।

च्याम्पियनसिप खेलाउन दुई नेपाली रेफ्री, फिफा रेफ्री अस्मिता मानन्धर र फिफा एसिस्टेन्ट रेफ्री बिना श्रेष्ठ पनि नेपाली टोलीसँगै भुटान जाँदैछन्।

भुटानको राजधानी थिम्पुमा हुने च्याम्पियनसिपमा नेपाल, पाकिस्तान र बंगलादेश समूह 'बी' मा रहेका छन्।

नेपालले पहिलो खेल अगष्ट ११ मा मा पाकिस्तानसंग खेल्नेछ भने बंगलादेशसंग अगष्ट १३ मा दोस्रो खेल खेल्नेछ। समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा पुग्नेछन्।

 

नेपाली टोली :

गोलकिपर : सावित्री किसान, पुजा थापा, करिना धिमाल

डिफेन्डर : खुस्मा राई, पुष्पा गुरुङ, सुरक्षा सिंह, सरिष्मा थामा मगर, सलोनी राना मगर, सरिता न्यौपाने, सबिना चौधरी, मनमाया परियार 

मिडफिल्डर : प्रिति राई, सुष्मा तामाङ, रिया बानु, मनिषा बिष्ट, सबिता राना मगर, पुनम घिमिरे, अस्मिता चौधरी, सरस्वती हमाल

फरवार्ड :  रजनी थोकर,  निकिता थोकर, चन्द्रा भण्डारी, अनुष्का शेर्पा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell