PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

बालकको अपहरण, हत्या र इन्काउन्टर : यी हुन् नखुलेका पाटो



सविन ढकाल

बालकको अपहरण, हत्या र इन्काउन्टर : यी हुन् नखुलेका पाटो

काठमाडौँ : ‘तपाईँको छोरा हामीसँग छ। छोराको माया भए ४० लाख रुपैयाँ लिएर आउनू।‘

आइतबार राति ९ बजे अपरिचित नम्बरबाट आएको फोनबाट यस्तो धम्की आउँदा चमेली खड्काको होसहवास गुम्यो। काडाँघारीमा चिया पसल चलाएर गुजारा गरिरहेकी आमा चमेलीलाई छोरा अपहरण भएको पत्तै थिएन। 

आइतबार दिउँसो साढे ४ बजे ११ वर्षीय बालक निशान खड्का अपहरणकारीको फन्दा परिसकेका थिए। सामान्य दिन झैँ कहीँ कतै साथीभाइसँग खेलिरहेकै होला भन्ने लागेको थियो उनलाई। 

सामान्य चिया पसल चलाएर बिहान बेलुकाको हात जोड्ने चमेलीलाई ४० लाख कसरी जुटाउने निकै मुस्किल थियो। श्रीमान् पनि साथमा थिएनन्। सिन्धुपाल्चोकको ज्यामिरेमा स्थायी घर भएका  गणेश खड्का रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए।

सोमबार बिहानै प्रहरीले बालक अपहरण भएको ठाउँ पत्ता लगाए। महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध अनुसन्धान महाशाखाको टोली अपहरणकारी र बच्चाको खोजीमा जुट्यो।

फिरौती रकम माग्न प्रयोग भएको मोबाइल नम्बर ट्रयाक गर्यो । भक्तपुर प्रहरीको पनि सहयोग लिन पुग्यो। 

दिउँसो १२ बजेर ३० मिनेटमा प्रहरीले ठाउँ लोकेट गर्‍यो। भक्तपुरको थिमि नगरपालिका वडा नम्बर ९ स्थित श्याम लवटको  निर्माणधीन घर। तर बालकको हत्या भइसकेको थियो। घरको पिलरमा गाडेको अवस्थामा शव फेला पर्‍यो। महाशाखाका एसपी नरेन्द्र उप्रेतीले भने, ' हामीले फलो गर्दै जाँदा बालकको शव गाडेको अवस्था भेट्टाएका हौँ।' 

बालकलाई अपहरणकारीबाट जीवित उद्दार गर्न प्रहरी असफल भइसकेको थियो। अपहरणकारी पनि पत्ता लगाउन सकेको थिएन। त्यसपछि प्रहरी अपहरणकारीको खोजीमा लाग्यो। सुराकी आयो -अपहरणकारी पाइलट बाबा जङ्गलतर्फ भागेका छन्। एसपी उप्रेतीले भने, ‘त्यसपछि हामी जङ्गलतर्फ लायौँ।‘

सूचना सही निस्कियो। दुई अपहरणकारी जङ्गल नजिकै भेटिए। प्रहरीको दावी अनुसार उनीहरूले आक्रमण गर्न खोजे। त्यसपछि प्रहरीले जवाफ फायर गरेको एसपी उप्रेतीले बताए। गोली लागेर नुवाकोटका २२ वर्षीय गोपाल तामाङ र सिन्धुपाचोक कर्थली २३ वर्षीयको अजय तामाङ मृत्यु भयो। प्रहरीको इन्काउन्टरमा मारिएका तामाङ चमेलीको चिया पसलको ग्राहक भएको खुलेको छ। आइतवार पनि तामाङले पसलमा खाना खाएको एसपी उप्रेतिले बताए।

तर अपहरणदेखि हत्या र इन्कान्टरसम्म पुग्दा केही नखुलेका पाटो छन्-

- के अपहरणकारी र बालकका आमाबीच पहिले नै चिनजान थियो? उनीहरु विच कस्तो सम्वन्ध थियो ? उनीहरु अपहरण गर्ने दिन चिया पसलमा आएको आमाले प्रहरीलाई जानकारी दिएकी थिइन्। उनीहरुसँग हतियारसमेत बरामद भएकाले अपहरण र फिरौतीमा सक्रिय भएको प्रारम्भिक अनुसन्धानमा देखिएको एसपी उप्रेतीले बताए।

- सामान्य परिवारसित किन मागियो ४० लाख? चमेलीका अनुसार सुरुमा एक करोड फिरौती मागेपछि बार्गेनिङ गर्दागर्दा ४० लाखमा घटेको थियो। तर सामान्य चियापसल गरी खाने आमा र मलेसियामा वैदेशिक रोजगारीमा गएका बाबुसित कसरी हुन्छ ४० लाख? 

- बालकको हत्या किन गरियो भन्ने बारे पनि खुलेको छैन। फिरौती मागेको र त्यो रकम प्राप्त नहुँदै हत्या गर्नुपर्ने त्यस्तो के परिस्थिति थियो? प्रारम्भिक अनुसन्धानमा अपहरित बालक रुन कराउन थालेपछि छरछिमेकले थाहा पाउने डरले हत्या गरेको देखिएको एसपी उप्रेती बताउँछन्।
सम्वन्धित समचारहरु

प्रहरी ‘इन्काउन्टर’मा दुई अपहरणकारी मारिए

अपहरित बालक मृत अवस्थामा फेला, अपहरणकारी पक्राउ गर्न प्रहरीले खोल्यो 'फायरिङ'

काठमाडौँ काँडाघारीबाट ११ वर्षीय 'बालक अपहरण', ४० लाख रुपैयाँ फिरौती माग



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell