
काठमाडौँ : एसियन गेम्सको तयारीका लागि हाल थाइल्याण्डमा विशेष प्रशिक्षण गरिरहेको नेपाली यू-२३ टोलीले आज पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ। खेल स्थानिय समयअनुसार ५ बजे हुनेछ।
एसियन गेम्स खेल्ने नेपालको यू-२३ ओलम्पिक टोलीले थाइ क्लब पुलिस तेरोसँग खेल्नेछ। पुलिस थाइल्याण्डको पहिलो श्रेणीको लिग लिग वानको क्लब हो। यस क्लबको कप्तान फ्रेन्च खेलाडी माइकल एन' ड्री हुन्।
एसियन गेमासको लागि नेपाली टोलीको कप्तानको जिम्मेवारी पाएका गोलकिपर किरण चेम्जोङ र मिडफिल्डर रोहित चन्द आजको खेल हुने छैनन्। दुबै खेलाडी आ-आफ्नो लिगको व्यस्तताका कारण उपलब्ध नहुने भएका हुन्।
एसियन गेम्सका लागि २३ वर्ष माथिका ३ खेलाडी राख्न पाउने प्रावधान अनुसार एन्फाले किरण र रोहितसँगै विशाल राईलाई यू-२३ टिममा राखेको हो।
यस्तै राष्ट्रिय टिमबाट खेलिसकेका अनन्त तामाङ, कमल श्रेष्ठ, आदित्य चौधरी, अन्जन विष्ट, विमल घर्ती मगर, हेमन गुरुङ, हेमन्त थापा मगर, सुमन लामा लगायत खेलाडी नेपालको यू-२३ टोलीमा छन्।
एसियन गेम्सको समूह चरणमा नेपालले जापान, भियतनाम र पाकिस्तानसँग खेल्नेछ।
एसियन गेम्स खेल्ने २० सदस्यीय टोली
गोकिपर : किरण कुमार लिम्बु, एलान न्यौपाने, सोजित गुरुङ
डिफेण्डर : अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दिनेश राजवंशी, गौरव बुढाथोकी, छिरिङ गुरुङ
मिडफिल्डर : रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, अन्जन विष्ट, अभिषेक रिजाल, तेज तामाङ
फरवार्ड : सुनिल बल, विशाल राई, सुमन लामा, विमल घर्ती मगर
मुख्य प्रशिक्षक : योतुकु कोजी
प्रशिक्षक : बालगोपाल महर्जन