
काठमाडौँः उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले नेपाल र अमेरिकाबीचको सैन्य सम्बन्धलाई व्यवस्थित र कार्यक्रममा आधारित बनाउनुपर्नेमा जोड दिएका छन्।
अमेरिकी सेनाका इण्डो–प्यासिफिक कमाण्डका डेपुटी कमाण्डर ब्रायन फेन्टनसँगको भेटमा पोखरेलले नेपाली सेनाको तालिम र कुशलता अभिवृद्धिका लागि अमेरिकी सहयोग महत्वपूर्ण हुने बताए।
भेटमा डेपुटी कमाण्डर फेन्टनले नेपाल र अमेरिकाबीच ‘स्टेट पार्टनरसीप प्रोग्राम’ सञ्चालन गर्ने नीतिबारे नेपाललाई पहिलो प्राथमिकता दिएको बताए। नेपाली सेना र अमेरिकी सेनाले हाल सञ्चालन गरिरहेको संयुक्त तालिम प्रभावकारी भएको भन्दै विश्वशान्ति स्थापनाका लागि नेपाली सेनाको भूमिका महत्वपूर्ण रहेको बताए।
भेटमा रक्षा मन्त्रालयका सहसचिव ऋषिराज भण्डारी, अमेरिकी दूतावासका उच्च अधिकारीका साथै परराष्ट्र मन्त्रालयका प्रतिनिधिको सहभागिता थियो।