
काठमाडौं : फिल्म 'ब्ल्याक' भदौ १ गतेबाट प्रदर्शनमा आउने फिल्म हो। फिल्मको खासै चर्चा सुनिंदैन। निर्माण टिमले फिल्मको प्रचारमा ढिला सुरु गर्यो।
टिमले हालै फिल्मको प्रचार पनि थाल्यो। आकाश श्रेष्ठ र आँचल शर्मा अभिनित फिल्म टिम यतिबेला पुर्वी नेपालमा छ। झापाको बिर्तामोडमा आकाश र आँचलले फिल्मबारे जानकारी दिएका छन्।
आँचलले बच्चादेखि बृद्धसम्म सबैलाई समेट्ने किसिमको कथा फिल्मले बोकेको बताइन्। भनिन् 'पछिल्लो पुस्ताका युवाहरुको जीवन कसरी अन्धकारमा पर्छ र त्यसलाई उज्यालोतर्फ डोर्याउँदा आइपर्ने अनेकन परिस्थितीको वरीपरी फिल्म घुमेको छ।'
आकाशले युवाहरुको लभस्टोरीदेखि दैनिक जीवन भोगाइको केहि फरक परिवेश फिल्मले बोल्ने बताए। सोमबार बिर्तामोड र दमक पुगेको टिमले मंगलबार इटहरी र धरान, बुधबार हेटौंडा, बिहिबार चितवन र शुक्रबार बुटवलहुँदै पोखरा पुग्नेछ।
मौनता श्रेष्ठको कथामा बनेको फिल्मलाई प्रदिप श्रेष्ठले निर्देशन गरेका हुन्। फिल्ममा आकाश र आँचलसँगै सुन्दर श्रेष्ठ, आयुष रिजाल, प्रिया रिजाल, धिरेन शाक्य लगायतको अभिनय रहेको छ।