नोटः वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा गएराति हृदयाघातका कारण निधन भएको छ। २०४६ सालको राजनीतिक परिवर्तनपछि कुनै पनि समारोहमा वा सार्वजनिक ठाउँमा नदेखिएका उनी ०७३ असारमा परिवारसहित चन्द्रागिरी पुगेका थिए। ०७३ असार ९ गते प्रकाशित सामाग्री पुनः प्रकाशित गरिएको हो। -सम्पादक
काठमाडौँः घाम नअस्ताउँदै सुतिहाल्ने र मध्यरातमा उठेर घोत्लिरहने अथवा चित्र बनाउन थाल्ने कलाकार तथा साहित्यकार मनजुबाबु मिश्रलाई उनको घरबाट बाहिर भेट्नु दुर्लभ नै हो।
राणाकालीन व्यवस्था अन्त्य गर्दै भित्रिएको बहुदलीय व्यवस्थाको विरुप पक्षले उनलाई प्रजातन्त्रको पक्षधर बन्नै दिएन। २०४६ सालको परिवर्तनपछि कुनै पनि समारोहमा वा सार्वजनिक ठाउँमा उनी देखिएनन्। आफ्नै घरबाट उनी बाहिर आउन मानेनन्। उनलाई घरबाट बाहिर बोलाउन जानेहरु नै थाके।
यसपाला भने हामीले उनलाई बाहिरै भेट्ने मौका पायौँ। उनलाई हामीले त्यहाँ भेट्यौँ, जहाँ पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका हेरेर नेपाल खाल्डोमाथि विजय हासिल गर्न एउटा शिलामा शिर झुकाएका थिए। त्यहाँ भेट्यौं जहाँ महाकवि लक्ष्मीप्रसाद देवकोटाले कविता कोरेका थिए – यात्री-
‘कुन मन्दिरमा जान्छौँ यात्री
कुन मन्दिरमा जाने हो…।’
यो चन्द्रागिरी हो। यहाँबाट दक्षिणतिर हेर्दा राति वीरगञ्जमा बलेको बत्ती देखिन्छ भने उत्तरतिर हेर्दा हिमश्रृंखलाको पर्खाल। तर जतिखेर हामी मिश्रलाई भेट्दै थियौँ, २० मिटर दूरीका मानिसहरु पनि देख्न सकिने थिएन। काठमाडौँमा झरी परिरहेको थियो र यहाँ पानी बोकेर आएको बादलको बीचमा हामी थियौँ। पानी फुसफुसाउँदै थियो रुझाउने गरी होइन।
आकाश नखुल्दा केही पनि देखिएन बादल शिवाय।
‘यो सुन्दरता त पछि खोजेर पनि पाउन सकिन्न,’ सबैतिर बादलले छोपेको देख्दा मिश्र भने प्रफुल्लित थिए। घरबाट बाहिर ननिस्किएरै संसार नियाल्ने मनजुबाबु यहाँ बादलभित्रै रमाइरहेका थिए। भन्दै थिए, 'आहा', ‘अति सुन्दर!’
उनी यतिमै रोकिएनन्। भने, 'स्वर्गतिर जान लागेको जस्तो पो लाग्यो त!'
सँगै रहेकी पत्नीले भनिन् - 'धत् के बोलेको होला!'
उनकी भाइ बुहारी पनि चुप बसिनन्, 'हामी गए त केही भएन उहाँहरु (हामीलाई देखाउँदै) को त उमेर छ।'
बिहान थानकोटको पुलिस चौकीबाट दक्षिणतिर लागेपछि पुगिएको चन्द्रागिरी हिल्सको केबुलकार स्टेसन रित्तै थियो। मनुजबाबु परिवारका अन्य सदस्यसँगै टहलिँदै थिए। केबुलकार तयार भइसक्यो, परीक्षणहरु पनि पूरा भइसके। ओपनिङ हुन बाँकी छ। मानिसहरुको भिड सुरु नहुँदै मिश्र यो केबुलकार चढ्दै थिए। उनका छोरा रविन्द्र र बुहारी सारिका बाबुको रहर पूरा गराउन साथै थिए। सँगै थिए भाइ र बुहारी पनि। परिवार नै यहाँ आइपुगेको थियो।
डायबिटिजले मनुजबाबुको शरीरमा स्थायी डेरा जमाएको छ। आउँदा बुहारी सारिकाले सुगर फ्री बिस्कुट साथै ल्याएकी छिन्। तर उनी सुगर फ्रीमा रमाउन चाहिरहेका छैनन्। चियामा चिनी हाल्न लगाएरै पिए। चुरोट पटक-पटक सल्किरह्यो। ८० वर्षका उनले सुनाए, ‘म होइन, मेरो परिवार नै बिरामी छन्।’ व्यङ्ग्यात्मक शैलीमा आफू स्वस्थ रहेको बताउँदै थिए उनी।
‘मुखले चुरोट खानेलाई क्यान्सर हुन्छ,’ उनी रोकिएनन्, ‘आत्माले मागेर मनैदेखि खाने हो भने सबै पच्छ। मनले मागेन भने भात पनि पच्दैन।’
नेताहरुलाई बिबिसीको अन्तर्वार्तामा हायलकायल बनाउने रविन्द्र यता भने निरीह थिए। आफ्ना बाबु मनजुबाबुको तर्कमा उनी पनि सहमत देखिए। ‘अस्ति परीक्षण गरेको कसरी हो छातीमा एउटा दागसमेत देखिएन। अचम्मै लाग्यो,’ रविन्द्रले सुनाए।
केहीअघि उनको प्रोस्टेटको शल्यक्रिया भएको थियो। बेड रेस्टमै रहँदा उनले छोरासँग भनेछन् – ‘केबुलकारबाट चन्द्रागिरी जाऔं, कहिलेदेखि सुरु हुन्छ?’
घरको गुलाफलाई हेर्दा आउने आनन्दानुभूति बाहिर निस्किएर नपाउने उनी बादल चिर्दै उकालिने केबुलकारभित्र छन्। चन्द्रागिरीतिर उकालिरहँदा उनले पटक पटक ‘वाह’ र 'आहा' शब्द दोहोर्याइरहे। दक्षिणतिर फर्केर बसेका उनी पूरै टाउको तलतिर मोड्दै काठमाडौं हेरिरहेका थिए। एकाएक केबुलकार बादलभित्र घुस्यो। केबुलकारका लठ्ठासमेत देख्न मुस्किल।
‘तपाईँ आएरै होला आज बादलले छोप्यो,’ हामीले जिस्क्यायौँ, ‘अन्तर्मनले हेर्ने बानी परेकाले तपाईँलाई बादलले साथ दियो।’
उनले हाम्रो भनाइमा समर्थन जनाउँदै हाँसे। उनकी पत्नीले केही देख्न नपाएको बताइरहँदा मिश्रले भने, ‘हरेक मौसममा फरक टेस्ट छ। यस्तो मजा अर्को पटक पाइन्नँ।’ केबुलकारको यात्रा सकिएको छैन तर उनले योजना बुनिसके, ‘यो पहिलोपटक हो र, अब फेरि अर्को चोटी पनि आउने हो।’
एकाएक केबुलकार रोकियो तर हल्लियो राम्रैसँग। केबुलकार अड्याउने टावर कता छ भन्नेसमेत देखिएन। बुहारी सारिका सबैभन्दा धेरै आत्तिइन्। तर मनजुबाबु रोकिँदासमेत आनन्द लिइरहेका थिए। सायद् बिजुली गएको थियो। एकैछिनमा फेरि केबुलकारले गति लिइहाल्यो। हामी पुग्यौं चन्द्रागिरीको शीर्षस्थानमा।
यहाँ पुग्दा बादल थप बाक्लिएको थियो। ‘कहिलेकाँही त नजिकैको मानिस पनि देखिन्न,’ उनले हस्यौलीमा भने, ‘यहाँ आउने एउटा जोडीले अर्को जोडीसमेत देख्दैन।’
लट्ठी टेक्दै केबुल स्टेसनबाट बाहिरिएका मिश्रले भने, ‘साह्रै रोमान्टिक ठाउँ रहेछ।’
यहाँबाट थोरै माथितिर लागेपछि तयार भएको रहेछ भालेश्वर मन्दिर जसलाई इच्छापुरेश्वर पनि भनिएको छ। प्यागोडा शैलीको मन्दिरमा शिला प्रतिस्थापन हुन बाँकी नै छ। भित्र शिवलिंग भने राखिसकिएको छ। करिब ८ करोड रुपैयाँ त मन्दिर बनाउनकै लागि खर्च भएको रहेछ।
‘बैंकको ब्याज तिर्नेगरी बनेको मन्दिर,’ प्रबन्ध निर्देशक अम्बिकाप्रसाद पौडेलले ठट्यौली पारामा सुनाए।
मिश्रलाई पौडेलले ब्रिफ गरे, 'पानीको अभाव छ यहाँ। पूरै पानी बोकेर मन्दिर तयार पार्न पर्यो।'
मिश्रले पनि जवाफ दिइहाले, 'बौद्धनाथको स्तुपा बनाउँदा १४ वर्ष शित र पानी थापेर बनाएका थिए रे, तपाईँहरुले एकै वर्षमा सक्नुभयो।' बौद्ध स्तुपा नजिकै छ मिश्रको संसार जहाँबाट उनी हत्तपत्त बाहिरिएनन्।
कलासँग जोडिएका मनजुबाबुका लागि ओपन थिएटरले लोभ्यायो नै। मन्दिर र यहाँको वातावरणको उनले खुलेरै प्रसंसा गरे। कलाकारितासँग जोडिएका मानिसहरु धेरै नै सेलेक्टिभ हुने गर्छन् जसको चित्त बुझाउन हम्मेहम्मे पर्छ। यहाँ उनी निक्कै आनन्दित देखिए। त्यसैले हुनुपर्छ रविन्द्र भन्दै थिए, ‘बुबा अब दुई साता फ्रेस हुनुहुन्छ।’
केबुलकारको तल्लो स्टेसनदेखि माथिल्लो स्टेसनसम्मै मानिसहरु काम गरिरहेका थिए। मन्दिर फिनिसिङ करिब सकियो। भ्यू टावर बनिसक्यो त्यसमा फिनिसिङ हुँदैछ। करिब ४ अर्ब रुपैयाँ लगानीमा पूरा हुनै लागेको यो ‘प्रोजेक्ट’ छिटै सर्वसाधारणका लागि खुल्ने पौडेलले बताए।
२ घन्टाभन्दा बढी समय चन्द्रागिरीको शिरमा बिताए मनजुबाबुले। मनले हेर्ने मनजुबाबु यहाँ आँखाबाट हेर्न लालायित देखिन्थे। काठमाडौंमा घाम लाग्दा उखरमाउलो गर्मी हुँदा यहाँ भने लुगलुग काप्ने चिसो हुने रहेछ।
चन्द्रागिरीको शिरमा रहेको भालेश्वर महादेवको शिलामा पृथ्वीनारायण शाहले मुलुक एकिकरणका लागि भाकल गरेको सुनाए पौडेलले। भने, ‘तपाईँ पनि एउटा कुरा माग्नुस् पृथ्वीनारायणले जस्तै पूरा हुन्छ।’
मुसुक्क मुस्काउँदै उनले पनि मागिहाले – ‘नेपाल सँधै नेपालै रहिरहोस्।’