PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

आफ्नै सक्रियतामा वीर अस्पताल रंगाएको दावी गर्ने धुर्मुस सुन्तलीलाई सरकारको ७० लाख 'अनुदान'



विधुर ढकाल

आफ्नै सक्रियतामा वीर अस्पताल रंगाएको दावी गर्ने धुर्मुस सुन्तलीलाई सरकारको ७० लाख 'अनुदान'

काठमाडौं : कुनै पनि सरकारी काम गर्दा सार्वजनिक बोलपत्रको आह्वान गरी प्रक्रिया पुर्‍याउनुपर्छ। विधि पूरा भएको व्यवसायिक फर्म बोलपत्रमार्फत छानिन्छ। तर, सरकारका निर्णय हेर्ने हो भने यस्तो विधि र प्रकृया सबैका हकमा लागू हुँदैन। 

हालै सरकारले धुर्मुस सुन्तली फाउन्डेशनलाई ६९ लाख ८६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेर त्यसको उदाहरण दिएको छ। स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको साउन १० गते बसेको बैठकले वीर अस्पताल सरसफाइवापत सो रकम दिने निर्णय गरेको हो। सबैभन्दा रोचक त के हो भने सरकारले जुन संस्थालाई रकम दिने निर्णय गरेको छ, त्यसले रंगरोगन गर्दा आफ्नै सक्रियतामा र सरकारको सहयोगविना नै काम गरेको दावी गरेको थियो।

सामाजिक संस्थाका रुपमा स्थापित फाउन्डेशनले ‘कुरुप’ देखिएको वीर अस्पताललाई रंगरोगन गर्दैगर्दा यसका अध्यक्ष सिताराम कट्टेलले भनेका थिए – ‘सरकारले सहयोग गरेको छैन।‘ 

फाउन्डेशनलाई सो रकम वीर अस्पतालको लागि आर्थिक वर्ष २०७५/७६मा विनियोजित बजेटबाट उपलब्ध गराउन हालै क्याविनेटले मन्त्रालयलाई स्वीकृत दिएको हो। मन्त्रिपरिषदको निर्णयमा सो रकम ‘अनुदान’ भनिएको छ।

वीर अस्पालको रंगरोगन गरेर धुर्मुस सुन्तली फाउण्डेशनले त्यसको क्रेडिट बटुले पनि अन्तत: सरकारले रकम उपलब्ध गराउने भएको हो। फाउन्डेशनका अध्यक्ष सीताराम कट्टेलले अस्पताल रंगरोगन गर्दा आफूलाई सरकारले सहयोग नगरेको भन्दै त्यतिखेर सरकारको कडा आलोचना गरेका थिए। 

वीर अस्पतालको रंगरोगनका लागि भन्दै फाउन्डेशनले विभिन्न सहयोगीबाट चन्दासमेत लिएको र रंग कम्पनीबाट निशुल्क रंगसमेत लिएको त्यतिखेर नै सार्वजनिक भएको थियो। उनको यो अभियानमा विभिन्न स्वमंसेवी संस्थाहरुले सहयोग गरेका थिए। उनले रंग निशुल्क ल्याएको र कामदारले पनि निशुल्क काम गरेको उल्लेख गरेका थिए। साथै रकम संकलन गरेको समेत जनाएका थिए। मनोरञ्जनको क्षेत्रबाट स्थापित धुर्मुस, सुन्तली दुवैको निर्माण कम्पनी भने छैन।

सार्वजनिक खरिद ऐनको उल्लंघन

सुरुमा स्वयमसेवी रुपमा प्रचार गरिए पनि अन्त्यमा आइपुग्दा सरकारले धुर्मुस सुन्तली फाउन्डेशनलाई वीर अस्पतालको रंगरोगनको लागि ठेक्का दिएको देखिएको छ। 

चन्दा समेत संकलन गरेर भएको रंगरोगनका सरकारले अनुदानबापत दिएको मोटो रकम फाउन्डेशनले पाएको छ। 

धुर्मुस सुन्तली फाउन्डेशनले वीर अस्पतालमा गरेको कामलाई ‘निर्माण कार्य’ भनेर परिभाषित गर्छ सार्वजनिक खरिद ऐनले। सोही ऐनमा १ लाख भन्दा बढी रकमको निर्माण कार्यका लागि टेण्डर आह्वान गर्नुपर्ने प्रस्ट उल्लेख छ। यसरी आह्वान गरिएको टेन्डरमा बोलपत्रदाताले मूल्य वा प्रस्ताव वा दररेट भरी वा तयार गरी पेश गर्नका लागि बोलपत्र आह्वान गर्ने सम्बन्धित सार्वजनिक निकायमा पेश गर्नुपर्छ। जसमा दिइएको निर्देशन, स्पेशिफिकेशन, नक्सा, डिजाइन, कार्यक्षेत्रगत शर्तहरु (टर्मस अफ रेफरेन्स), कार्यतालिका, मूल्यांकनका आधार, परिमाण सूची, सम्झौताका शर्तहरुसमेत उल्लेख गरी टेन्डर आह्वान गर्नुपर्छ। 

त्यस्तै सार्वजनिक निकायले मालसामान, निर्माण कार्य वा सेवा खरिद गर्नु अघि त्यस सम्बन्धी स्पेशिफिकेशन, योजना, नक्शा, डिजाइन, विशेष आवश्यकता वा अन्य विवरणहरु तयार गरी बोलपत्र आह्वान गर्नुपर्छ। 

वीर अस्पतालको रंगरोगनका क्रममा न त सार्वजनिक निकायले वोलपत्र आह्वान गरेको छ। न त काम गर्ने संस्थाले नै प्रक्रिया पुर्‍याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell