PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

विप्लव Vs बादल : कहिले साथ, कहिले विस्मात; प्रकाण्ड पक्राउसँग जोडिएको राजनीतिको जालो



विधुर ढकाल

विप्लव Vs बादल : कहिले साथ, कहिले विस्मात; प्रकाण्ड पक्राउसँग जोडिएको राजनीतिको जालो

काठमाडौं : एकाएक गृह प्रशासनको तारो बने बामपन्थी नेता नेत्र विक्रम चन्द ‘विप्लव’। एक एक गर्दै अहिले प्रहरीले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्तालाई पक्राउ गर्न थालेको छ। 

मंगलबारमात्र प्रहरीले विप्लव नेतृत्वको नेकपाका प्रवक्ता तथा पूर्व मन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई राजधानीबाटै पक्राउ गर्योि। यसअघि सोमबारमात्रै प्रहरीले नेकपाका केन्द्रीय सदस्य आजाद केसीलाई पक्राउ गरेको थियो। 

त्यसअगाडि नागढुंगाबाट प्रहरीले नेकपाका पोलिटव्यूरो सदस्यहरु पदम राई, मोहन कार्की, कृष्ण धमला र ओमप्रकाश पुनलाई साउन १० गते पक्राउ गरेको थियो। अहिले प्रहरीले धमाधम नेकपाका नेता कार्यकर्ताहरुलाई पक्राउ गरिरहेको छ। 

बादल गृहमन्त्री विप्लवका कार्यकर्ता पक्राउ

तत्कालीन ‘जनयुद्ध’का एक नेता रामबहादुर थापा ‘बादल’ अहिले गृहमन्त्री छन्। बादल गृहमन्त्री हुँदै गर्दा विप्लव नेतृत्वको पार्टीका हिंसात्मक गतिविधि नियन्त्रण गर्नु प्रमुख चुनौती देखिएको थियो उनलाई। हाल आएर उनले नेतृत्वको गरेको गृहमन्त्रालय मातहतका निकायले प्रकाण्ड पक्राउ गर्नु संयोग मात्र हो त?

विप्लव नेतृत्वको पार्टीलाई नजिकबाट नियालिरहेको स्रोत भन्छ, ‘यो संयोग मात्र हो।’ अहिले पक्राउ पर्नुमा प्रहरीमात्र होइन विप्लवको पार्टी भित्रकै कारण भएको उनको तर्क छ। ‘यसमा गृहमन्त्री जोडिनु स्वभाविक हो। तर, गृहमन्त्री हुँदैमा बादललाई जोड्नु सतही विश्लेषण मात्र हुने छ। अरु गृहमन्त्री हुन्थे भने अझै धेरै धरपकड हुन्थ्यो,’ उनले पहिलोपोस्टसँग भने।
 

विप्लव र बादलको सहयात्रा

तत्कालीन एकीकृत नेकपा माओवादीसँग मोहन वैद्य ‘किरण’ले २–३ असार, २०६९ मा बौद्धमा भएको भेलाबाट नेकपा–माओवादी गठन गरे। किरणले अध्यक्ष प्रचण्डले क्रान्तिलाई धोका दिएको र जनवादी क्रान्तिका लागि भन्दै ४० प्रतिशतभन्दा बढी सदस्य लिएर पार्टी फुटाएका थिए।
यो सम्बन्ध विच्छेद गर्दाका मुख्य पात्रहरु हुन विप्लव र बादल। त्यतिबेला यिनै दुई पात्रले चर्को रुपमा प्रचण्डको आलोचना गर्थे। २०७१ मंसिरमा आइपुग्दा विप्लव समूह मोहन वैद्य नेतृत्वको तत्कालीन नेकपा–माओवादीबाट अलग भइ नेकपा माओवादी गठन गर्योर। 

वैद्य नेतृत्वमा तत्कालीन नेकपा–माओवादीको २०७१ कार्तिक २९ र ३० मा भएको केन्द्रीय बैठकलाई विप्लव समूहले गुटगत भेलाको संज्ञा दियो। बैठकमा विप्लव पक्षको तर्फबाट प्रकाण्डले नै फरक मत राखेका थिए। सो बैठकले चन्द पक्षलाई गुटगत भेला, बैठक र कार्यक्रम गरेको भन्दै आत्मालोचनासहित लिखित स्पष्टिकरण बुझाउन निर्देशन दिएको थियो। तर, चन्द पक्षले उल्टै अध्यक्ष मोहन बैद्य र महासचिव रामबहादुर थापाले आत्मालोचना गर्नुपर्ने र आफूसहितको सहमतिमा बैठक बोलाउनुपर्ने माग गरेका थिए। 

विप्लव समूहको माग बमोजिम मंसिर ६ गते विस्तारित बैठक बोलाइयो। तर, यहाँसम्म आइपुग्दा विप्लव समूह अलग हुने निष्कर्षमा पुगेको थियो। त्यतिवेला विप्लव समूहको सबैभन्दा ठूलो तारो बनेका थिए – बादल, हालका गृहमन्त्री। 

विप्लव समूहले ११–१४ मंसिरमा चितवनमा राष्ट्रिय भेला सम्पन्न गरी नेकपा माओवादी गठन गर्यो । नेकपा माओवादीको १ फागुन, २०७३ मा रोल्पामा भएको सातौं महाधिवेशनबाट पार्टीको नाम परिवर्तन गरी नेपाल कम्युनिस्ट पार्टी गठन भयो। 

यसबीच तत्कालीन नेकपा–माओवादी (परी थापा नेतृत्वको नेकपा एकीकृतसँगको एकीकरणपछि बनेको) भित्र पनि फुट देखा पर्योन। क्रान्तिकारी माओवादीबाट बादल समूह ठूलो हिस्सा लिएर पुन माउ पार्टीमा फर्कियो। बादलहरु फर्किएपछि एकीकृत नेकपा माओवादी नेकपा माओवादी केन्द्र बन्यो। यो पार्टी तत्कालीन नेकपा एमालेसँग मिलेर नेकपा गठन गरेको छ। त्यही पार्टीबाट गृहमन्त्री बनेका छन् बादल भने भूमिगत अवस्थामा छन् विप्लव।   

विप्लवभित्रको आन्तरिक समस्या

यसैबीच विप्लव नेतृत्वको नेकपा माओवादी भित्रसमेत समस्या देखा परेको छ। पछिल्लो पटक महासचिव विप्लव र प्रवक्ता प्रकाण्डबीच मतभेद देखा परेको नेकपाका एक नेताले पहिलोपोस्टलाई जानकारी दिए। 

विप्लव समूहभित्र राजनीतिक र आर्थिक विषयमा मतभेद चर्किको स्रोतले बतायो। पछिल्लो समय विप्लवको नाता पूर्व राजा ज्ञानेन्द्र, स्वतन्त्र मधेश राज्य माग्ने सिके राउत र भारतसँग जोडिएर प्रचारमा आयो। यही विषयलाई लिएर पार्टीभित्र मतभेद चर्किएको बताइन्छ। त्यस्तै पार्टीले उठाएको चन्दाको हिसाब किताबको विषयमा पनि हालै सम्पन्न पार्टी केन्द्रीय कमिटीको बैठकमा चर्काचर्की भएको नेकपाका अर्का नेताले भने। 
प्रकाण्ड पक्राउ गर्दैगर्दा प्रहरी स्रोतले समेत राजनीतिक नभइ आर्थिक कारण रहेको जनाएको छ। नेकपाले हालै सम्पन्न तीन तहका चुनावको बहिस्कार गर्योा। उसले करिब सात करोड रुपैयाँ चन्दा संकलन गरेको प्रहरी स्रोतका दाबी छ। त्यस्तै प्रकाण्डको खातामा मात्र दुई करोड देखिएको छ। 

पार्टीको केन्द्रीय समितिको गोप्य रुपमा सम्पन्न भए पनि बैठकका निर्णय पार्टीभित्रकै विवादका कारण सार्वजनिक समेत हुन सकेका छैनन्।  

पहिले देखि नै निगरानी 

गत वर्ष सम्पन्न निर्वाचन बहिस्कार गरेको विप्लव समूहले ठाउँठाउँमा हिंसात्मक घटनासमेत घटाएको थियो। तत्कालीन देउवा सरकार गराएको निर्वाचनका क्रममा हिंसात्मक घटना बढेदेखि नै विप्लव र विप्लव समूहका नेता कार्यकर्ताहरु प्रहरी निगरानीमा थिए। 

त्यसैको निरन्तरताको रुपमा अहिले नेकपाका शीर्ष नेताहरु पक्राउ परिरहेको स्रोत बताउँछ। उनीहरुलाई चुनावका क्रममा भएका हिंसात्मक गतिविधिका आधारमा विभिन्न मुद्दा चलेका छन्। तीनै मुद्दाका आधारमा प्रहरीले विप्लव नेतृत्वका नेता कार्यकर्ताहरु पक्राउ गरिरहेको छ।  
यसरी पक्राउ परेका विप्लवका नेता कार्यकर्ताहरुलाई सम्बन्धित स्थानमा बुझाइँदै छ। यसअघि साउन १० गत पक्राउ परेका पोलिटव्यूरो सदस्यहरुलाई काभ्रे जिल्लामा मुद्दा चलाएर हिरासतमा राखिएको छ।

बेसिजनमा मिल्यो मुद्दा

आन्तरिक किचलो र राजनीतिक मतभेदका बाबजुद उनको गिरफ्तारी नेपाल कम्युनिस्ट पार्टीका लागि शुभ संकेत होइन। प्रकाण्डमात्र होइन, केही समययता नेता/कार्यकर्ता पक्राउको रफ्तार बढेको छ। प्रकाण्ड समातिँदा पार्टीका लागि राजनीतिक मुद्दा भने मिलेको छ। पार्टी महासचिव विप्लवले प्रेस विज्ञप्ति जारी गर्दै केपी-प्रचण्ड सरकारले गरेको गिरफ्तारको भत्सर्ना गरेको छ। दमनले प्रतिरोध निम्त्याउँछ भन्दै उनले जारी गरेको विज्ञप्तिमा देशव्यापी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ। बामपन्थी सरकारले दुई तिहाई बहुमतको सरकार चलाइरहँदा विप्लव नेतृत्वको पार्टीले ध्यान सिर्जना गर्ने आधार पाइरहेको थिएन। उसले यो गिरफ्तारीलाई राजनीतिक मुद्दा बनाउँदै कोणसभा, विरोधसभा, भण्डाफोर, मसाल जुलुस र नेपाल बन्दसम्मका कार्यक्रम घोषणा गरेको छ।

सम्बन्धित समाचार:

पूर्व मन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता खड्गबहादुर विक पक्राउ

प्रकाण्ड पक्राउ प्रकरण: अनुसन्धानका लागि ५ दिन म्याद थप

प्रकाण्ड पक्राउमा चन्दाकै कारण, स्रोत भन्छ : ७ करोड चन्दा उठाएका थिए, उनकै खातामा देखियो २ करोड



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell