4.jpg)
काठमाडौं : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने लनटेनिस टोली बैदेशिक प्रशिक्षणका लागि बुधवार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ।
खेलाडीले मलेसिया लनटेनिस संघको एकेडेमीमा प्रशिक्षण गर्नेछन्। त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकोले नेपाली खेलाडीले उनीहरुसँग अभ्यास खेल खेल्ने नेपाल टेनिस संघले जनाएको छ।
पुरुष खेलाडीमा अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनाल रहेका छन्। महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा छन्। संरक्षक र एनी हाल टोलीमा समावेश छैनन्। संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइरहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ। एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउने छ।
लनटेनिसमा नेपालले १९७० को बैंकक एसियाडदेखि भाग लिन थालेको थियो। सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो। त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएन। चीनको ग्वान्झाउ एसियाडदेखि भने नेपालको सहभागिता पुनः निरन्तर छ।
लनटेनिस टोली अगष्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ। एसियाडअन्तर्गत लनटेनिस अगष्ट १९ देखि २६ तारिखसम्म हुनेछ। टोलीलाई नेपाल टेनिस संघकी अध्यक्ष समेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले बुधवारै बिदाइ गरे।