
थिम्पु (भुटान) : यू-१५ महिला साफ च्याम्पियनसिप फुटबलमा नेपालले उपाधि जित्ने लक्ष्य लिएको छ।
बंगलादेशमा गतवर्ष भएको पहिलो संस्करणको खेलमा अपेक्षित नतिजा निकाल्न नसकेको नेपाली किशोरी टोलीले यसपटक भने प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन गर्दै उपाधि जित्ने दाउमा छन्। यो दोस्रो संस्करणको प्रतियोगिता हो।
विगतमा भन्दा यसपटकको साफ च्याम्पियनसिपमा तयारी राम्रो भएकाले उपाधि जित्ने लक्ष्य रहेको नेपाली टोलीकी प्रशिक्षक गंगा गुरुङले बताए।
उनले खेलाडीको नियमित तालिमसँगै मनोबल पनि उच्च रहेकोले प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने बताए। पाकिस्तान र बंगलादेश दुवै टोली बलियो भएको टिप्पणी गर्दै प्रशिक्षक गुरुङले भने, 'खेल हो हार जित त भइहाल्छ तर नेपाली चेलीले उत्कृष्ट प्रर्दशन गर्नेछन्।'
पहिलो संस्करणको खेलमा भने नेपालले सन्तोषजनक प्रर्दशन गर्न सकेका थिएननं। त्यतिबेला नेपालले कुनैपनि खेलमा जीत हासिल गर्न सकेनन्।
नेपाली टोलीकी कप्तान प्रिति राईले प्रतियोगिता तयारीको लागि अन्तर्राष्ट्रिय तालिम नलिएता पनि सयप्रतिशत दिएर खेल्ने बताइन्। नेपालले यही साउन २६ गते पाकिस्तानसँग पहिलो खेल खेल्दैछ। समूह बी मा रहेको नेपालको समूहमा पाकिस्तानसँगै बंगलादेश छ।
बंगलादेशका मुख्य प्रशिक्षक गोलोन रोब्बिनले आफनो टोलीलो राम्रो खेल प्रर्दशन गर्ने अपेक्षा लिएको बताए। बंगलादेश गत संस्करणको उपाधि विजेता हो।
त्यस्तै बंगलादेशको कप्तान माभी माण्डाले आफुहरुले राष्ट्रिय तथा अन्तराष्टिय तालिम लिएकोले खेलमा कुनै किसिमको प्रेसर नहुने प्रतिक्रिया दिए।
यता पाकिस्तानका प्रशिक्षक मोहम्मद रसिदले तीन वर्षपछिमात्र आफ्नो राष्टले फुटबलमा सहभागिता जनाएको भन्दै प्रतियोगितामा सकेसम्म राम्रो खेल प्रर्दशन गर्ने बताए। उनको अनुसार टोलीले एक महिना मात्र बन्द प्रशिक्षणमा रही तालिम लिएका थिए।
समूह बी मा रहेका भारत, श्रीलंका र भुटानका प्रशिक्षकहरुले प्रतियोगितामा सकेसम्म उपाधि रक्षा गर्ने दाउमा रहेको र प्रतियोगितामा सय प्रतिशत दिएर खेल्ने बताए।
भोलिदेखि सुरु हुने उक्त प्रतियोगताको उद्घाटन खेलमा भारत र श्रीलंका भिडनेछन भने दोस्रो खेल बंगलादेश र पाकिस्तानबीच हुनेछ। रासस