.jpg)
काठमाडौँ : लामो प्रक्रियापछि अन्तत: नेपाली जुडो टोलीले हंगेरीमा प्रशिक्षण लिने पक्का भएको छ। सुरुमा जर्मन एम्बेसीले भिसा दिन आनाकानी गरेपनि कुटनीतिक पहलमार्फत जर्मन दुतावासले भिसा दिएपछि नेपाली जुडो टोली अन्तत: हंगेरी प्रस्थान गरेको छ।
एसियन गेम्समा सहभागि हुने खेलाडीको लागि मध्यनजर गर्दै हंगेरीमा हुने जुडो प्रतियोगिता र प्रशिक्षणका लागि ८ सदस्यीय नेपाली जुडो टोली बुधवार हंगेरीको बुढापेष्ट प्रस्थान गरेको हो।
बुढापेस्ट ग्रान्ड प्रिक्समा नेपालका ७ खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। साथै एक प्रशिक्षक पनि नेपाली टोलीसँगै छन्।
अगष्ट १० देखि १२ तारिखसम्म हुने प्रतियोगिताको पुरुष ६६ केजीमुनि इन्द्रबहादुर श्रेष्ठ, ७३ केजीमुनि सन्जित डंगोल, ९० केजीमुनि श्रीराम मकाजु र १०० केजीमुनि रविन श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलाको ५२ केजीमुनि देविका खड्का, ५७ केजीमुनि मनीता श्रेष्ठ प्रधान र ७८ केजीमुनि पुनम श्रेष्ठले सहभागिता जनाउने छन् ।
उक्त प्रतियोगितामा सहभागी हुन लागेका सातै खेलाडी इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदमा सहभागी हुने खेलाडी हुन्। इन्डोनेसिया एसियाडमा नेपालबाट जुडोमा ८ खेलाडी सहभागी हुँदैछन्। बाँकी एक खेलाडी फुपुल्हामु खत्री टोकियो ओलम्पिक २०२० र एसियाडको तयारीका लागि जापानमा प्रशिक्षणरत छिन्।
बुढापेस्ट ग्रान्ड प्रिक्समा पुरुष ६० केजीमुनि मोहन बमले पनि नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन्। केहि वर्षएता अस्ट्रेलियामा बस्दै आएका मोहन त्यत्तैबाट बुढापेस्ट पुगिसकेको नेपाल जुडो संघले जनाएको छ।
प्रतियोगिता सम्पन्न भएपछि जुडो टोलीले हंगेरीमै प्रशिक्षण गर्नेछ। अगष्ट २५ तारिखमा हंगेरीबाटै टोली इन्डोनेसिया जाने छ।
टोलीलाई प्रतिनिधि सभाका सांसद एवं नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बुधवारै बिदाइ गरे।
त्यसपछि नेपाली टोली अगष्ट २७ मा एसियन गेम्सका लागि इन्डोनेसियाको जाकार्ता प्रस्थान गर्नेछ।
हंगेरी जानुअघि नेपालले थाइल्याण्डमा युनिभर्सिटी जुडो च्याम्पियनसिप खेल्दै २ स्वर्ण, १ रजत र १ कास्य जितेको थियो।
एसियन गेम्समा अगष्ट २९ देखि सेप्टेम्वर १ सम्म हुने जुडोतर्फ नेपालले यसपटक पदक जित्ने अपेक्षा राखेको छ।
सन् १९८६ को दशौँ एसियन गेम्सदेखि सहभागिता जनाउन थालेको नेपाली जुडोले अहिलेसम्म पदक जित्न सकेको छैन।