PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सत्तारुढ दलकै नेताको प्रश्न : प्रकाण्डको हातमा हत्कडी देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भयो?



विधुर ढकाल

सत्तारुढ दलकै नेताको प्रश्न : प्रकाण्डको हातमा हत्कडी देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भयो?

काठमाडौं : मुलुकमा नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को नेतृत्वमा दुई तिहाइको सरकार छ। अर्कोतिर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सरकार विरोधी संघर्षमा छ, जनक्रान्तिको लागि भन्दै। भूमिगत अवस्थामै सक्रिय छ। 

अहिले नेपालको राजनीतिमा यी दुई नेकपाको संघर्ष सतहमा देखिएको छ। 

तत्कालीन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको माओवादीको ठूलो घटक माओवादी केन्द्र र तत्कालीन नेकपा एमालेबीच एकतापछि बनेको ने क पाको सरकार विरुद्ध तत्कालीन माओवादी नेता तथा फुटको नेतृत्व गर्दै नेकपा बनाएका नेत्रविक्रम चन्दबीच टकराव देखिएको हो। नेकपाका प्रवक्ता प्रकाण्डको पक्राउ पछि द्वन्द्व सतहमा देखिएको हो। भलै केही समय यता नेकपाका नेता तथा कार्यक्रता पक्राउको क्रम ह्वात्तै बढेको हो। 

पछिल्लो समय पक्राउका श्रृङखला बढ्दै जाँदा प्रश्न उठेको छ के सरकार विप्लव प्रति कठोर भएकै हो?

बुधवारमात्र सत्तारुढ दल ने क पाको सचिवालयको बैठक बस्यो। बैठकमा ने क पाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको ‘विद्रोही’ नेकपाका गतिविधि नियन्त्रण गर्नुपर्ने स्पष्ट रुपमा विचार राखेका थिए। विप्लव नेतृत्वको समूहका गतिविधिहरु हिंसात्मक भएको भन्दै नियन्त्रण गर्न कुनै कसर नराखिने बताएको बालुवाटार स्रोतले बतायो। 

हुन त ओली सरकारको गृह प्रशासन सम्हालेका गृहमन्त्री रामबहादुर थापा प्रकाण्ड पक्राउ पर्दैगर्दा विदेशमा थिए। तर पनि सरकारको लाइन अनुसार नै गृह प्रशासनले विप्लव समूहका कार्यकर्तालाई पक्राउ गर्दै गएको देखिन्छ। पक्राउ परेसँगै मुलधारभन्दा बाहिर रहेका क्रान्तिकारी माओवादीले समेत विरोध जनाउँदै निशर्त रिहा गर्न माग गरेका छन्। त्यस्तै विप्लवले बन्दसहितका संघर्षका कार्यक्रम सार्वजनिक गरेका छन्। 

ने क पाकै नेताको विरोध

यसैबीच प्रकाण्ड पक्राउको विरोधमा ने क पाका नेता नै सार्वजनिक रुपमा देखिएका छन्। पूर्वमन्त्री समेत रहेका ने क पाका नेता डीआर पौडेलले प्रकाण्डलाई विना शर्त रिहा गर्न माग गरेका छन्। 

सामाजिक सञ्जाल फेसवुकमा उनले प्रश्न गर्दै लेखेका छन्, ‘बादल गृहमन्त्री ! प्रकाण्डको हातमा हत्कडी?’ उनले सामाजिक सञ्जालमै ६ बुँदा उल्लेख गर्दै पक्राउको निन्दासमेत गरेका छन्। उलने प्रकाण्डको हातमा हत्कडी भएको फोटोसहित राखेको पोष्टमा प्रश्न गरेका छन्, ‘यो दृश्य देख्दा गृहमन्त्री कमरेडको मनमा कस्तो भाव पैदा भए होला?’ 

‘वैचारिक निकटता, वर्गसंघर्षको जटिलता, वर्गपक्षधरता र मानवाधिकारको कोणबाट पनि यो कार्य आजको सन्दर्भमा निन्दनीय हो,’ उनले अगाडि लेखेका छन्, ‘प्रतिशोधपूर्ण आरोप लगाएर गिरफ्तार गरिएका पूर्वमन्त्री र एउटा राजनीतिक पार्टीका जिम्मेवार नेतालाई कुनै पनि हिसाबले हत्कडी लाउनुपर्ने समय यो होइन।’  

नेता पौडेलले प्रकाण्डले आँखामा पट्टी बाँधेर शारीरिक र मानसिक यातना दिनुपर्ने स्तरको अपराध नगरेको भन्दै अगाडि भनेका छन्, ‘न त उनको पार्टीले नै २०५२ मा जस्तो राज्यसत्ताका विरुद्ध युद्धको घोषणा गरेको थियो।’ 

उनले विप्लव नेतृत्वको नेकपाका सिद्धान्त राज्यका लागि समस्या भए पनि राजनीतिक रुपमा समाधान गरिनुपर्ने बताएका छन्। 
‘नेकपाको नीति, विचार, सिद्धान्त र कार्यक्रम यतिबेला राज्यको लागि समस्या हुन सक्छ। त्यो राजनीतिक समस्या हो,’ उनले लेखेका छन्, ‘राजनैतिक रुपले मात्र राजनैतिक समस्याको समाधान गर्न सकिन्छ।’
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell