काठमाडौं : गृहमन्त्री रामबहादुर थापा बादललाई बिहीवार प्रहरीले गत सोमवार भएको ‘इन्काउन्टर’ सम्बन्धी जानकारी गराएको छ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंह लगायतको टोलीले गृहमन्त्रीलाई अपहरणकारीसँगको जम्काभेटमा प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको दावी गरेको हो।
गृह मन्त्रालयका एक अधिकारीले भने, 'प्रहरीको टोलीले घटना इन्काउन्टर नै भएको भन्दै जानकारी दिएको हो। बाहिर आए जस्तो होइन।'
गत सोमबार प्रहरीको गोली लागेर सिन्धुपाल्चोकका २२ वर्षीय गोपाल तामाङ र नुवाकोटका २३ वर्षीय अजय तामाङको मृत्यु भएको थियो। प्रहरीले अपहरणकारीसँगको जम्काभेटमा आत्मरक्षाका लागि गोली चलाएको दावी गर्दै आएको छ।
उनीहरु आइतवार अपहरणपछि हत्या गरिएका ११ वर्षीय निशान्त खड्को अपहरण संलग्न रहेको प्रहरीको दावी छ। घटना प्रकृति र प्रत्यक्षदर्शीका अनुसार तामाङ द्वयको प्रहरी ‘इन्काउन्टर’ माथि नै शंका उव्जिएको छ।
गृहमन्त्री थापाले बिहीवार बसेको राज्य समितिको बैठकमा प्रहरी इन्काउन्टरमा नै मारिएको बताएका थिए। तर पनि उनले थप छानविन हुने बताएका थिए।
बालक अपहरण अनि हत्याको बारेमा महानगरीय अपराध अनुसन्धान महाशाखाले अनुसन्धान गरिरहेको छ। महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले भने, 'घटनाको थप अनुसन्धान भइरहको छ। सत्यतथ्य चाँडै पत्ता लगाउँछौं।'
प्रहरीले अनुसन्धानको लागि बालको शव भेटिएको घर धनी श्याम लवट लगायत अरुसँग पनि सोधपुछ गरिरहेको छ।