PahiloPost

Sep 23, 2026 | ७ असोज २०८३

निशानलाई बुवा गणेशले दिए जल, हजुरबुवाले दागबत्ती

निशानलाई बुवा गणेशले दिए जल, हजुरबुवाले दागबत्ती

नेत्र तामाङ/पहिलोपोस्ट


काठमाडौं : पशुपति आर्यघाट आइपुग्नासाथ गणेश खड्का ढलिहाले, बेहोस जस्तै। सँगै रहेका दुई जनाले उनको ज्यान थेगे। मलेसियाबाट दिउँसो २ बजे त्रिभुवन विमानस्थलमा आइपुगेका उनी ३ बजे पशुपति आर्यघाट आइपुगेका थिए।

निलो ट्र्याक सुट र कालो क्याप लगाएका गणेश अपहरणपछि मारिएको छोराको अनुहार देख्दा ढल्न सक्ने पूर्वानुमानकै कारण दुईजनाले छाडेका थिएनन्। उनलाई सोझै सोझै ब्रम्हनाल पुर्‍याइयो। ब्रम्हनालको छड्के ढुंगामा ११ वर्षे निशानको शव राखिएको थियो।

साउन २० गते अपहरण पछि उनको हत्या गरिएको थियो। त्यहीँ निशानको अनुहार हेरेपछि 'बाबु मेरो, बाबु...' यतिमात्र बोल्न सके गणेश।

त्यसपछि सम्हालिन सकेनन्, भक्कानिए।  

शिथिल देखिएका उनले केही बेरमा छोराको मुखमा पशुपतिनाथबाट आएको ब्रम्हनालको जल हालिदिए। 

उनकै प्रतीक्षामा रहेका मलामीहरुले त्यसपछि शव उठाएर तल चितासम्म पुर्‍याए। दागबत्ती दिने बेला भयो। हिन्दु संस्कार अनुसार हजुरबुवा भएकाले नातिलाई दागबत्ती दिए।

नजिकै निशानकी आमा चमेली सुकेको स्वरमै 'मेरो बाबु...' भन्दै कराइरहेकी थिइन्।

निशानलाई श्रद्धाञ्जली दिन आर्यघाटमा आफन्तजनको भिड लागेको थियो। त्यहाँको दृष्यले सबैलाई मलिन बनाएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell