
काठमाडौं : अब राहदानी दुरुपयोग गर्नेले पाँच लाख रुपैयाँसम्म जरिवाना र तीन वर्षसम्म कैद सजाय पाउने भएको छ। सरकारले राहदानी दुरुपयोग गर्ने विरुद्धको सजायलाई बढाउँदै नयाँ विधेयक संसदमा पेश गरेको छ।
सरकारले संसद सचिवालयमा दर्ता गराएको राहदानी सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०७५ मा यस्तो व्यवस्था गरिएको हो।
यसअघि राहदानी दुरुपयोग गर्नेलाई एक वर्षसम्म कैद वा पाँच सय रुपैयाँ जरिवाना वा दुवै हुने व्यवस्था थियो। राहदानी ऐन २०२४ को दफा ५ मा राहदानी दुरुपयोग गर्ने विरुद्ध सजायको व्यवस्था गरिएको थियो।
सो दफामा झुट्टा विवरण पेश गरेमा, नेपाल सरकारले दिएको आदेश पालना नगरेमा वा जुन उद्देश्यका साथ राहदानी लिएको सो उद्देश्य विपरीत प्रयोग गरेमा दण्ड सजाय हुने व्यवस्था छ। त्यस्तै आफ्नो नामको राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा ऐनमा उल्लेख भए विपरीत काम गरेमा सजाय हुने व्यवस्था उल्लेख छ। ऐनको दफा ३ मा विदेश जाँदा आफ्नो नाममा जारी भइ बहाल भएको राहदानी लिएर जानुपर्ने उल्लेख छ। यसलाई उल्लंघन गरे पनि दफा ५ ले दण्डनीय मानेको छ।
सरकारले संसद सचिवालयमा दर्ता गराएको विधेयकको दफा २१ मा ८ वटा कार्य गरेमा, गर्न लगाएमा वा गर्न सहयोग गरेमा कसुर गरेको मानिने उल्लेख छ।
साथै अरुको राहदान मञ्जुरीविना नियन्त्रणमा लिएमा पनि सजायको व्यवस्था गरिएको छ। यसले वैदेशिक रोजगारसँग जोडिएका मुद्दालाई सम्बोधन गर्नेछ।
के के हुन कसुर?
१. झुट्टा विवरण दिइ राहदानी वा यात्रा अनुमति पत्र लिएमा वा लिन प्रयत्न गरेमा२. राहदानी वा यात्रा अनुमतिपत्र नलिइ विदेश भ्रमण गरेमा वा गर्न प्रयत्न गरेमा
३. नेपाल सरकारले दिएको आदेश वा निर्देशनको पालना नगरेमा
४. जुन उद्देश्यको लागि राहदानी जारी गरिएको हो सो बाहेक अन्य उद्देश्यको लागि राहदानीको प्रयोग गरेमा
५. आफ्नो राहदानी अरुलाई प्रयोग गर्न दिएमा वा अर्काको नामको राहदानी प्रयोग गरेमा
६. राहदानी भएको फोटो वा विवरण सच्याएमा
७. अन्य व्यक्तिको राहदानी निजको मञ्जुरी नलिइ बदनीयतपूर्वक नियन्त्रणमा राखेमा
८ यो ऐन र यस ऐनअन्तर्गत बनेको नियमको बर्खिलाप हुने गरी अन्य कुनै कारवाही गरेमा
के छ सजाय?
हाल परराष्ट्र मन्त्रालयले तयार गरेको विधेयकमा दफा २१ बमोजिमको कसुर ठहर भए दुई लाख रुपैयाँ देखि पाँच लाख रुपैयाँ सम्म जरिवाना वा एक वर्ष देखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था दफा २२ मा गरिएको छ।त्यस्तै दफा २२ कै उपदफा २ मा ऐन र ऐन अन्तर्गत बनेको नियम विपरीत कुनै काम गर्ने व्यक्तिलाई पचास हजार रुपैयाँ देखि एक लाख सम्म जरिवाना वा ६ महिना देखि एक वर्षसम्म कैद वा दुवै सजाय हुने उल्लेख छ।
कसुर गर्न उत्प्रेरित गर्नेलाईसमेत सजाय
यसैबीच विधेयकमा कसुर गर्न उत्प्रेरण दिनेलाई समेत सजयाको व्यवस्था गरेको छ। दफा २२ को उपदफ ३ मा ऐन बमोजिम कसुरदार ठहर गरेका कामहरु गर्न आदेश दिने वा दुरुत्साहन गरेमा कसुरदार भए सरहको सजाय हुने उल्लेख छ। त्यस्तै कसुर गर्न सहयोग गर्ने मतियारलाई कसुरदारलाई हुने सजायको आधा सजाय हुने विधेयकमा उल्लेख छ।राहदानी ऐन २०२४ यस विषयमा मौन छ।