
काठमाडौँ : आगामी सेप्टेम्वरमा भारतमा हुने यू-१९ एकदिवसीय सिरिज नेपालको लागि यू-१९ एसिया कपको तयारी हुने प्रशिक्षक विनोद दासले बताएका छन्।
'हामी सेप्टेम्वर २४ देखि बंगलादेशमा यू-१९ एसिया कप खेल्दैछौँ। भारतमा हुने सिरिज त्यसको लागि लागि तयारी गर्ने ठूलो अवसर हो। हामीले बिसिसिआईलाई धन्यवाद दिनुपर्छ।' दासले बिहीवार पत्रकार सम्मेलन गर्दै सञ्चारकर्मीसँग भने। 'हाम्रै व्यवस्थापनले गर्दा चाँही उक्त अवसर नगुमोस्।'
भारतीय क्रिकेट बोर्ड बिसिसिआईको आयोजनामा आगामी भदौ २४ देखि असोज ४ गते (सेप्टेम्वर ९ देखि २०) सम्म कोलकताको एडेन गार्डेनमा चार टोली सम्मिलित एकदिवसीय प्रतियोतिामा हुँदैछ। जसमा भारत, नेपाल र अफगानिस्तानको यू-१९ टोली र बिसिसिआईको नेशनल क्रिकेट एकेडेमी (एनसिए) टिम सम्मिलित छन्।
भारतले पनि एसिया कपककै तयारीमा लागि यो प्रतियोगिता गर्न लागेको हो। यो सिरिज नेपालको लागि आफ्नो साख जोगाउने अवसर समेत रहेको दासले बताए। 'गत वर्ष हामीले भारतको यू-१९ लाई हराएका थियौँ। यो पटक त्यो साख जोगाउदै राम्रो खेल्ने चुनौती छ।'
गतवर्ष एसिया कपमा नेपालले समूह चरणमै भारतलाई पराजित गर्दै ऐतिहासिक जित हात पारेको थियो। समूह चरणमा दुई खेल जित्दै सेमिफाइनलमा पुगेको नेपाल यस पटक सिधै एसिया कपको लागि छनोट भएको हो।
यू-१९ एसिया कप सेप्टेम्वर २४ देखि बंगलादेशमा हुँदैछ। जहाँ एसियाका टेष्ट खेल्ने पाँच राष्ट्रका यूवा टोलीसहित नेपाल, युएई र हङकङले प्रतिस्पर्धा गर्नेछ।