
न्यूयोर्क : अमेरिकी प्रथम महिला मेलानिया ट्रम्पका स्लोभेनियाली बाबुआमाले बिहीबार औपचारिक रुपमा अमेरिकी नागरिकता प्राप्त गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पका ससुरा भिक्टर र सासु अमालिजा नाभ्सले अमेरिकी नागरिकता लिएको आप्रवासन सम्बन्धी कानुन व्यवसायी मिसेल विल्ड्सले बताए।
नागरिकता प्राप्त गर्न कति समय लाग्यो वा स्थायी अनुमतिका लागि प्रथम महिला मेलानियाले सिफारिस गरेको हो होइन भन्ने उनले जानकारी दिएनन्।
ट्रम्पले आप्रवासन नीतिमा कडा नीति अख्तियार गरेका छन्। अमेरिकी नागरिकता लिएका कतिपय मुलुकका नागरिकले आफ्ना परिवारका सदस्यलाई एकपछि अर्को गर्दै स्थायी आवासीय अनुमति दिलाउने र पछि नागरिकता लिने गर्दा अमेरिकामा बिदेशीको संख्या बढेको राष्ट्रपति ट्रम्पले आरोप लगाउँदै आएका छन्।
राष्ट्रपति ट्रम्पले बिदेशीका कारण रोजगारी गुमेको र राष्ट्रिय सुरक्षामै चुनौती सिर्जना भइरहेको बताउँदै आएका छन्। योग्य र बढी शिक्षित, अंग्रेजी राम्रोसँग बोल्न सक्नेलाई मात्र अमेरिकामा प्रवेश दिनुपर्ने उनको जोड छ।
स्लोभेनियामा कार बिक्रेता भिक्टर नाभ्स र कपडा कारखानामा काम गर्ने अमालिजा दुवैको उमेर ७० वर्षभन्दा बढी छ। अवकाश जीवन बिताइरहेका उनीहरु दुवै ज्यादाजसो अमेरिकामै बस्दै आएका छन्। उनीहरु छोरी मेलानीया र नाति ब्यारोनसँग रमाइरहेका छन्। रासस/एएफपी