PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

चर्चमा नेपाली भाका : टुङ्गना, मादल र खैँजडीको धूनमा भजन



रीना मोक्तान

चर्चमा नेपाली भाका : टुङ्गना, मादल र खैँजडीको धूनमा भजन

शनिबारको बिहान, सिमसिम पानी परिरहेको छ। बिदाका कारण प्रायको दैनिकी सधैंभन्दा फरक। सडकमा अन्य दिनभन्दा कम सवारी चाप। मान्छेको भिड भने केही बढी। सायद, घुम्न निस्किएकाहरु देखिएका हुन्।

आठ बजेतिर भने भक्तपुरको जगातीमा अवस्थित 'आदर्श कलवरी' चर्चमा गीत गुञ्जिन सुरु हुन्छ।

'मुक्ति छ हाम्रो प्रभुमा 
जो सिंहासनमा विराजमान छन्…'


सात जनाको समूह स्टेजमा गीत गाउँदैछन्। अरु कोही देखिंदैनन्। बस्ने बेन्चहरु खाली छन्। अगाडिको स्टेजमा लगातार गीत गाउँदैछ समूह।
गितार बजाउन बसेका एक युवक। उनको छेउमा सी आकार बनाएर उभिएका युवतीहरु छन्। 

गीत गाउँदै गर्दा युवतीहरुमध्येका एकले खैँजडी बजाइरहेकी हुन्छिन्। 

बीचबीचमा पानी पिउँदै गीत गाउने काम दोहिरिरहन्छ। युवतीहरुका अगाडि लस्करै मिलेका छन् माइक स्टाण्ड। माइकहरुको तार जोडीएका छन् मिक्सरसँग। मिक्सरको नजिक छ ड्रम सेट। 

ड्रम बजाउँदै गरेकी एक युवतीले सबैको ध्यान तान्छिन्। उनी निकै जोसका साथ दुई स्टीकले ड्रम बजाउँदै थिइन्। यी पूरा दृश्य कुनै स्टेज कार्यक्रमको तयारी जस्तै लाग्थ्यो। 

तर, यो चर्चको साप्ताहिक भजन कार्यक्रम हो। समूहको नेतृत्व गर्छन् राकेश कर्माचार्य। हाम्रो कौतुहलता मेट्न भने 'हामी हरेक शनिबार बिहानको ८ बजेबाट १० बजेसम्म भजन तयारी गर्छौं। हाम्रो मण्डलीमा १० बजेबाट सेवा सुरु हुन्छ। सेवा संगतीमा हामी यिनै भजनहरु गाउँछौं।'
उनका अनुसार सबै मण्डलीमा भजन तयारी गर्ने र  गाउने समय एउटै हुन्छ भन्नै छैन। 

राकेशको भजन तयारी गरिरहेका सदस्यहरुलाई कहिले गीत गाउन सिकाउँथे, कहिले ड्रम बजाउन निर्देशन दिन्थे। 

१० बज्यो। २ घण्टाको तयारीसँगै बेन्चहरु भरिन थाले। सेवा सुरु भयो।  

अभ्यास भएका भजनहरु चर्चभित्र गुन्जन थाल्छ। नेपाली लयमा भएका भजनसँगै दर्शकदिर्घाबाट आएको तालीको आवाज मिसिन्थ्यो। कोही बीचमै उठेर नाच्छन् पनि। 

भजन गाउँदै गर्दा केही रोएको दृश्य भने नयाँ मान्छेलाई अचम्म लाग्न सक्छ। 'आफ्ना पीडा परमेश्वरमा पोखेको' रुँदै भजन गाइरहेकाहरुलाई इंगित गर्दै छेउमा उभिएको एकजनाले हाम्रो जिज्ञासा मेटिदिए। 

चर्चको हलमा भएका ८० जनाले एकसाथ भजन गाउँदा, चर्चभन्दा पर परसम्म पनि त्यो आवाज गुञ्जिन्छ। माहोल सांगीतिक बन्छ।
यो शनिबार ६ वटा जति भजन गाइए। भजन गाउने समय सकियो। चर्चका अन्य नियमित क्रियाकलाप सुरु भयो। धर्मशास्त्र बाइबलबाट प्रवचन, भेटी, प्रार्थना। 

*** 
१२ बजेतिर सकियो चर्च सेवा। त्यसपछि कोही निस्कन थाले। कोही चर्च भित्रै रमाउन थाले। 

नजिक रहेकी ड्रमर युवतिसँग कुरा थाल्यौं। 

२२ वर्षीया दीना कुश्माले ड्रम बजाउन थालेको ७ वर्ष भइसक्यो। सानैदेखि संगीतमा रुचि राख्ने उनको लागि चर्चको मञ्च राम्रो अवसर बन्यो। ड्रम बजाउन उनले तालिम लिएकी थिइन्।

भनिन्,'अब त मैले परमेश्वरको महिमाको लागि ड्रम बजाउने भएकी छु। खुशी छु।' 

परिवारले दिने हौसला र चर्चमा पाउने मायाले पनि उनलाई यो काम गर्न झनै हौस्याउँछ। त्यसैले अन्य दिन पढाईमा व्यस्त रहने उनी हरेक हप्ता शनिबार भने स्वयंसेविकाको रुपमा हो ड्रम बजाउन चर्च आउँछिन्। 

प्राय चर्चमा हरेक साता यस्तै सांगीतिक माहोल बन्छ।

त्यस्तै अर्कै चर्चमा करिब ३ वर्षदेखि लगातार संगीत टोलीलाई नेतृत्व गर्दै आएका विजय लामाले धर्मशास्त्रमा भजन गाउनुपर्छ भन्ने लेखिएकोले आफूहरुले भजन गाउँदै आएको बताए।
 
यस्ता भजनहरुमा नेपाली भाका, पप र वेस्टर्न भाका पनि प्रयोग गरिने उनले सुनाए।  

चर्चमा भजन किताब पनि हुँदो रहेछ। चर्चका सबैले भजन किताबबाट हेरेर भजन गाउँछन्। त्यसैले प्राय चर्चका गाइने भजनको लय फरक भएपनि शब्द फरक हुँदैन। 

विजयले संगीत नेतृत्व गर्दै आएको चर्चको नाम इम्मानूयल हो। नेपाली ख्रिष्टियन इतिहासमा यो नेपालको तेस्रो चर्च हो। उनी २०६० देखि इम्मानुयल चर्चमा आबद्ध छन्। 

किन गाइन्छ त चर्चमा भजन? 

बाइबलले गीत गाउन उत्साह दिएको विजयले बताए। उनी संगीतका विद्यार्थी हुन्। त्रिभुवन विश्वविद्यालय अन्तर्गत ललितकला क्याम्पसमा संगीतमा स्नातकोत्तर गर्दै छन्। विद्यालयमा सधैँ गायन प्रतियोगितामा प्रथम हुने विजयलाई चर्चमा मात्रै नभई एल्बम किन निकाल्दैनौ भन्ने साथीहरु सोध्ने गर्छन्। तर उनी अहिले चर्चमा गीत गाउनमै रमाएका छन्। 

उनी केहीवर्ष अघि इस्टर्न स्टार भन्ने व्याण्डमा आबद्ध थिए। २ वर्ष जति व्याण्डमा गाए। व्याण्ड निस्कृय हुँदै गयो। त्यसपछि व्याण्ड छोडेर चर्चमा गाउन थालेका हुन्।

अहिले १८ जना जतिको समूहकालाई तीन वर्षदेखि संगीतमा नेतृत्व गर्छन्। 

चर्चको संगीतमा विजयको संगीत झुण्ड किबोर्ड, मादल, सारंगी, गीतार, ड्रम जस्ता बाजा बजाउने गर्छन्। विजयलाई ड्रम, मादल, गितार, सारंगी, हारमोनियम, नेपाली बाजा तुङ्गना बजाउन आउँछ। पहिला चर्चमा संगीतका सामाग्री बजाउन पनि सिकाउँथे तर पछि सिकाउन छोडे। भने 'पछि मैले सिकाएका भाइबहिनी नै म भन्दा जान्ने भए। त्यसपछि उनीहरुलाई सिकाउन अन्य संस्थामा पठायौं।'

हरेक चर्चमा हुने छुट्टाछुट्टै संगीत झुण्ड/क्वायर ग्रुपका कारण संगीत सिक्न, गाउन, बजाउन रहर हुनेका लागि चर्चको मञ्च अवसर बनेको छ। यहीँबाट गायक गायिका भएर निस्किएकाको उदाहरण दिन्छन्। 

विगत १७ वर्षदेखि चर्चको संगीत क्षेत्रमा आवद्ध गायक राजेश राईले ८ ‍ओटा एल्बम निकालिसकेका छन्। उनले गाएका क्रिश्चियन बाहेकका अन्य ५ गीत भने यूट्युबमा छन्। कत्ति गीतको रेकर्डिङ पनि भइरहेको छ। 

करिब ९०० जनाको बीचमा उनको संगीत झुण्डले हरेक शनिबार भजन गाउँदै आएको छ। उनी आबद्ध पाटन कोइनोनिया चर्चमा हरेक शनिबार तीन भागमा चर्च सेवा हुन्छ। दुई भागमा उनले नै संगीत झुण्ड सम्हाल्छन्। उनको संगीत झुण्डमा ३२ जना गाउने बजाउनेहरु छन्। 

बाहिर गाउने गीत र चर्चमा गाउने गीतमा फरक हुने उनले बताए। भने 'संसारको माया प्रेम नभई ईश्वरीय प्रेमका संगीत हुने गर्छ चर्चमा। बाहिर प्रेमी प्रेमीकाको गीतहरु हुन्छ। परमेश्वरका सृजनाको बयान गर्दै हामी गीत गाउँछौं। धन्यवादको गीतहरु गाउँछौं।' 

सानैदेखि गायनमा उनको रुचि थियो। पछि चर्चमा पनि सबैले आवाजको तारिफ गर्न थाले। त्यसपछि संगीत पढ्न थाले कुमारीपाटी ललितपुरमा रहेको ललितकला क्याम्पसमा। त्यसपछि झुण्डलाई नै निर्देशन गर्दै आए। 

इसाइ धर्मलाई बाहिरबाट आएको धर्म भन्नेहरुलाई जवाफ हो नेपाली भजन जुन नितान्त नेपाली लय र भाकामा हुन्छन्। नेपाली शब्दको मिठासमा हुन्छन्। यो उनको तर्क हो।

'अहिलेका गीतमा सारंगी टुङ्ना, मादल विरलै सुनिन्छ तर चर्चका संगीतमा यसको प्रयोग पाउँछौं', उनी भन्छन्, 'चर्चमा ड्रम, किबोर्ड, पियानो बजाए पनि मादल बजाउन छाडेका छैनन्। सारंगी सिकाउन बिर्सेका छैनन्। नेपाली भाका गुञ्जिने ठाउँ हो चर्च।' 




 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell