
काठमाडौं : फिल्म निर्माण टिम प्रचारका लागि विभिन्न नयाँ तरिका अपनाउने गर्छन्। प्रदर्शनको तयारीमा रहेको फिल्म 'रोजी'को टिमले पनि प्रचारको अस्त्र म्युजिकल्लीलाई बनाएको छ।
'रोजी' निर्माण कम्पनीद्वय गोपिकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टले शुक्रबार म्युजिकल्ली प्रतिस्पर्धाको घोषणा गरेको हो।
संयोजक सन्ध्या थापाका अनुसार प्रतिस्पर्धीले ‘रोजी नेपाली फिचर फिल्म’ नामक अफिसियल फेसबुक पृष्ठको म्यासेज बक्समा भिडियो पठाउन सक्छन् वा वालमा सेयर गर्न सक्छन्।
विजयी प्रतिस्पर्धीमध्ये ५० जनालाई आकर्षक गिफ्ट ह्याम्पर, उत्कृष्ट १० लाई कलाकारसँग डिनर डेटले पुरस्कृत गरिने टिमले जनाएको छ। साथै, दोस्रो र तेस्रो हुनेलाई कुनै एक फिल्म इन्स्टिच्युटमा विजेताले रुचाएको विधामा छात्रवृद्धि दिइनेछ।
सर्वोत्कृष्टलाई नगद रु. १ लाखले पुरस्कृत गरिने भएको छ। सर्वाधिक भ्युजका आधारमा विजेता घोषणा गरिनेछ। नीरक पौडेल निर्देशित क्राइम थ्रीलर फिल्म आगामी २२ भदौमा प्रदर्शनमा आउनेछ। फिल्ममा प्रदीप खड्का, मिरुना मगर र परमिता राणाको मुख्य भूमिका रहेको छ। यसअघि 'बोबी' निर्माण टिमले नर्वे जाने अफर ल्याएको थियो। 'मेरी मामु' टिमले आफ्नो मामुको विषयमा राम्रो कुरा लेख्ने प्रतियोगिता घोषणा गरेको थियो।