PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भारत मोह? भारतबाट हुँदैछ प्रचण्डको राजनीतिक विदेश यात्रा



विधुर ढकाल

भारत मोह? भारतबाट हुँदैछ प्रचण्डको राजनीतिक विदेश यात्रा
फाइल फोटो।

काठमाडौं :  नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ दुई छिमेकी देशहरुको भ्रमणको तयारी गरिरहेका छन्। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बनेको ने क पाका अध्यक्षको हैसियतमा प्रचण्ड पहिलो पटक राजनीतिक भ्रमणका क्रममा विदेश जाने तयारी गरेका हुन्। 

पार्टी एकतापछि थाइल्याण्ड गएर दुई साता बसेका उनको त्यो राजनीतिक भ्रमण थिएन। उनी पत्नी सीता दाहालको उपचारका लागि बैंकक पुगेका थिए। अबको यो भ्रमण राजनीतिक हुने प्रचण्ड निकट स्रोतले जनायो।

प्रचण्ड नेपालको ठूलो पार्टीको अध्यक्षका हैसियतमा पहिले भारतको भ्रमण गर्ने छन्। भारत भ्रमणको दुई साता पछि नै उनी चीन जाने तयारी गरिरहेको स्रोतले जनायो। 

भारतीय दूतावास स्रोतका अनुसार प्रचण्डको भारत भ्रमणको तयारी भइरहेको छ। सेप्टेम्बरको पहिलो साता प्रचण्डको भारत भ्रमण हुने गरी तयारी भइरहेको छ। 

उनी नेपालको शक्तिशाली नेताको हैसियतमा भारत जाँदै गर्दा त्यहाँ भारतीय संस्थापन पक्षसँगका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम बन्दैछ। प्रचण्डको भेट भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग हुने बताइएको छ। मोदीकै चासोमा प्रचण्डलाई भारत भ्रमणको निम्तो आएको हो। 
‘उहाँ नेपालको सरकार सञ्चालन गरिरहेको पार्टीको अध्यक्ष हो। उहाँको भ्रमणको क्रममा त्यहाँको संस्थापन पक्षीय नेताहरुसँग भेट हुने नै छ। प्रधानमन्त्री मोदीजीसँग पनि हुन सक्छ,’ स्रोतले भन्यो।  

प्रचण्ड निकट स्रोतका अनुसार उनी भारत भ्रमणबाट फर्किएको एक सातामै उत्तरी छिमेकी चीनको समेत भ्रमण गर्ने तयारी गरिरहेका छन्। उनी सेप्टेम्बरको तेस्रो साता चीनको भ्रमण गर्ने गरी तयारी भइरहेको छ। भ्रमणको तयारीका लागि काठमाडौँस्थित चिनियाँ दूतावासका अधिकारीहरुको सक्रियतासमेत बढेको छ। 

प्रचण्डले स्वयंले पनि यसअघि पटक पटक दुई ठूला छिमेकी देशको राजनीतिक भ्रमणमा छिट्टै जाने बताउँदै आएका छन्। उनले नेपालको विकासका लागि चीन र भारतको विकास सम्बन्धि मोडेलको अध्ययनका लागि पनि दुई देशको रणनीतिक भ्रमण गर्ने बताउँदै आएका थिए। 
प्रचण्डले पार्टी एकता भएको तीन साता नबित्दै चितवनमा पुगेर भनेका थिए, 'भारतीय प्रधानमन्त्री मोदीजीको नेपाल भ्रमणका क्रममा विकासका मोडेलको बारेमा कुराकानी भएको थियो। उहाँले विकासका एजेण्डाका बारेमा छलफल गर्न भारत भ्रमणको निम्ता दिनु भएको छ। म छिट्टै भारत जान्छु। चीनबाट पनि निम्तो आएको छ। चीन पनि जान्छु।' 

साउन १५ गते नेपाल र भारतका थिंक ट्यांकहरुको सम्मेलनमा सहभागी हुन नेपाल आएका भारतीय जनता पार्टीका महासचिव राम माधवले समेत प्रचण्डलाई भारत भ्रमणका लागि निम्ता दिएका थिए। सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रचण्ड सहभागी थिए।  

त्यस्तै प्रचण्डलाई चीन भ्रमणका लागि साउन १४ गते चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभागका उपमन्त्री वाङ याचिनले खुमलटार पुगेर चीन भ्रमणको निम्तो दिएका थिए। प्रचण्डको चीन भ्रमणका क्रममा कुन तहका नेतासँग छलफल तथा भेटवार्ता पनि टुंगो लागि नसकेको स्रोतले जनायो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell