PahiloPost

May 16, 2026 | २ जेठ २०८३

सलमान खान ल्याउँछु भन्ने गुरुङ हिरासतबाट छुट्ने वित्तिकै फेरि पक्राउ



पहिलोपोस्ट

सलमान खान ल्याउँछु भन्ने गुरुङ हिरासतबाट छुट्ने वित्तिकै फेरि पक्राउ

काठमाडौं : गत असार २९ गते पक्राउ परेका ओडिसी नेपालका सञ्चालक सीमान्त गुरुङ हिरासतबाट छुट्न नपाउँदै फेरि पक्राउ परेका छन्। 

महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले गुरुङलाई बलिउड कलाकार सलमान खान लगायतका स्टार नेपाल ल्याउने भन्दै झुक्क्याएर टिकट बिक्री गरी ठगी गरेको उजुरीको आधारमा पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानपछि अदालतमा बुझाएका गुरुङलाई जिल्ला अदालत काठमाडौंले बिहीवार धरौटीमा छुट्न आदेश दिएको थियो। १५ लाख रुपैयाँ धरौटी बुझाएका गुरुङलाई बिहीवार नै महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो। चेक बाउन्सको उजुरी परेको कारणले गुरुङलाई पक्राउ गरेको परिसरका डिएसपी मोहनकुमार थापाले बताए। डिएसपी थापाले भने, 'उनीविरुद्ध ९९ लाख रुपैयाँको चेक बाउन्स उजुरी परेको छ। त्यसैको लागि नियन्त्रणमा लिएका हौं।'

गत फागुन २६ गते काठमाडौंको टुँडिखेलमा हुने भनिएको सलमान खानको 'दब्याङ्ग टुर नेपाल' स्थगित भएको थियो। त्यसपछि फेरि जेठमा कार्यक्रम गर्ने भन्दै आयोजकले बताउँदै आएका थिए। जेठमा पनि कार्यक्रम हुन सकेन। 

गुरुङले बयानमा ३ हजारदेखि २० हजार रुपैयाँसम्मको ४८ लाख रुपैयाँ बराबरको टिकट बिक्री भएको जानकारी दिएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell