
काठमाडौं : आर्थिक वर्ष २०७३/७४ को पत्रपत्रिका वर्गीकरणका लागि परेका ९ सय ५३ आवेदनमध्येबाट प्रेस काउन्सिलले ११ वटालाई राष्ट्रिय क प्लस वर्गको हैसियत दिएको छ।
राष्ट्रिय क प्लस वर्गमा पर्ने पत्रिकाहरुमा ५ वटा दैनिक, ५ वटा साप्ताहिक र एउटा मासिक पत्रिका रहेको प्रेस काउन्सिलले जनाएको छ। क प्लस वर्गमा मुलुककै सबैभन्दा पुरानो पत्रिका गोरखापत्र दैनिकसँगै कान्तिपुर, नागरिक, नयाँ पत्रिका र दि हिमालय टाइम्स परेका छन्।
साप्ताहिकहरुमा यही वर्गमा दुई वटा म्यागेजिन र तीनवटा लुजसिट परेका छन्। हिमाल खबरपत्रिका र नेपाल साप्ताहिक यो वर्गमा परेका हुन्। लुजसिट तर्फ कान्तिपुरको साप्ताहिक, नेपाल रिपब्लिक मिडियाको शुक्रवार साप्ताहिक र जनआस्था साप्ताहिक यो वर्गमा छ। जनआस्थाका संम्पादक/प्रकाशक प्रेस काउन्सिलका कार्यवाहक अध्यक्ष हुन्।
कान्तिपुरकै नारी मासिक पनि राष्ट्रिय स्तरको क प्लसमा परेको छ। पत्रपत्रिका वितरण सम्परीक्षण समितिबाट पेश भएअनुसार काउन्सिलले वर्गीकरण सार्वजनिक गरेको हो।