काठमाडौँ : अखिल नेपाल फुटबल संघ (एन्फा)को नयाँ कार्यसमितिको कार्यशैली बिधान विपरित रहेको भन्दै एन्फाकै पूर्व वरिष्ठ उपाध्यक्ष मणि कुँवरले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)मा उजुरी दिएका छन् ।
दक्षिण एसियाली फुटबल संघका उपाध्यक्षसमेत रहेका कुँवरले शुक्रवार दुई निकायमा ज्ञापनपत्र बुझाएका हुन्।
उजुरीमा मुख्य गरी पाँच बुँदामा आरोप लगाइएको छ। जसमा आफ्नो अभिष्ट पूरा गर्न संसारमै नभएको रेलिगेसन बिनाको लिग सञ्चालन गर्न लागिएकोमा मन्त्री तथा सदस्यसचिवको ध्यानाकर्षण गराइएको छ।
त्यस्तै एन्फाको बिदेश विभाग प्रमुख नवीन पाण्डेले बिदेशी नागरिकको हैसियतमा फिफा कंग्रेसमा सहभागी भएको, फिफा विश्वकपका लागि २५० टिकट बिक्री गरिएको भनिए पनि पारदर्शी हिसाब नदेखाएको लगायतका आरोप लगाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराइएको छ।
निर्वाचन भएको ३ महिना नबित्दै विशेष साधारणसभा बोलाएर एकलौटी एन्फा सन्चालन गर्न खाजेको आरोप पनि उजुरीमा छ। अनावश्य ठाउँमा बिधान संशोधन गर्न लागिएको, जिल्लाको मताधिकार कटौती गरी प्रदेशमा सार्न खोज्नु फिफा र एएफसीकै प्रचलन मिचिएको, खेलकुद परिषद संघीय संरचनामा गइनसकेको अवस्थामा फुटबललाई आफ्नै हिसाबमा संघीय संरचनामा लैजाँदै एकलौटी पार्न खोजीएको आरोप छ।
शुक्रवारै यस विषयमा एन्फा प्रवक्ता किरण राईसँग बुझ्दा उनले यो आरोप मात्रै भएको प्रतिक्रिया दिए।
कुँवरले गत वैशाख २२ गते भएको एन्फा निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएपनि एकदिन अघि अध्यक्षको दाबेदारीबाट पछि हट्दै निर्वाचनमा भाग नलिने बताएका थिए।