PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

काठमाडौँमै कानुन विपरीत नेपालीलार्इ दुवर्इको घर बेच्दै



सुदर्शन सापकोटा

काठमाडौँमै कानुन विपरीत नेपालीलार्इ दुवर्इको घर बेच्दै

काठमाडौँ: दरवारमार्गस्थित पाँचतारे होटल डेला अन्नपूर्णको 'ब्याकेट हल' मा तीन दिनदेखि घरजग्गा मेला भइरहेको छ।

तपार्इँलार्इ लाग्ला घरजग्गा मेला नेपालको भइरहेको छ। तर होइन दुवर्इको अपार्टमेन्ट र इन्डिभिज्युल होम(भिल्ला)बिक्रीका लागि मेला लागिरहेको छ।

आज(आइतबार)सम्म चल्ने यो मेलामा आयोजकको दाबी छ-‘सयौंले अपार्टमेन्ट र भिल्ला बुकिङ गरिसकेका छन्।‘ उनका अनुसार दुवर्इमा बस्न र लगानीका लागि किन्ने बढी छन्।

डम्याक कम्पनीको एकोया अक्सिजन नामक रियलस्टेट कारोबार गर्ने संस्थाले मेला गरिरहेको छ। कम्पनीले प्रि-बुकिङ भन्दै ६ लाख रुपैयाँ लिइरहेको छ।

तर नेपाली नागरिकलाई विदेशमा सम्पति खरीद गर्न प्रतिवन्ध छ। यो कम्पनीले दोस्रो पटक यस्तो मेला गरेको हो।

'अघिल्लो पटक हामीले राजधानीको ह्यात होटलमा यस्तै कार्यक्रम गरेका थियौं' त्यहाँ भेटिएका एक एजेन्टले भने, 'त्यहाँ हामीले राम्रो नतिजा हात परेको थियो। त्यही भएर यसपाली फेरि काठमाडौं आएका हौं।' उनले ह्यात होटलमा 'वान टु वान' मार्केटिङ गरेर दर्जनौं घर/अपार्टमेन्टहरु नेपालीलाई बिक्री गरेको बताए। शनिवार सबैभन्दा लामो लाइन थियो।

ह्यातको सफलताका कारण अन्नपूर्णमा इच्छुकहरुका लागि 'वान टु वान मिटिङ' आयोजना गरिएको बताए। उनले अन्नपूर्णको कार्यक्रमबाट दर्जनौं घरका लागि बुकिङ आएको बताए। 'धेरै नै बुकिङ भएको छ' उनले भने, 'जे होस् राम्रो सफलता हात परेको छ।'

६ लाख तिरेपछि कम्पनीले के गर्छ?

दुवर्इमा घर किन्नका लागि सुरुमा ६ लाख नेपाली रुपैयाँ तिरेर बुकिङ गर्नु पर्छ। त्यसपछि कम्पनीले बुकिङ गराउनेलाई दुवर्इस्थित घर अपार्टमेन्ट हेर्नका लागि लैजान्छ। त्यसबेलाको सबै खर्च कम्पनीले नै गर्नेछ। यो कम्पनीका एजेण्टले गरेको दाबी हो।

उनका अनुसार एक करोड ८० लाख रुपैयाँदेखि १४ करोड रुपैयाँसम्मका घर अपार्टमेन्ट दुवर्इमा खरीदका लागि उपलब्ध छन्। नेपालीहरु लगानी र बस्न दुबैका लागि घर तथा अपार्टमेन्टको बुकिङ गरिरहेको ती एजेण्टले जानकारी दिए।

बुकिङको पैसा दिन गाह्रो भएन तर त्यसपछिको पैसा कसरी भूक्तानी गर्ने? यस बारेमा आयोजकलाई प्रश्न गर्दा उनले नेपाल सरकारले सजिलै स्वीकृती दिइरहेको बताए। उनले अहिलेसम्म कयौं नेपाली ग्राहकले केन्द्रीय बैंकबाट दुवर्इमा घर तथा अपार्टमेन्ट किन्नका लागि स्वीकृति लिइसकेको दावीसमेत गरे।

नेपालीहरुले विदेशमा घर सम्पति खरीद गर्न पाउँदैनन्, त्यसका लागि तिमीहरुले नेपाल सरकारबाट स्वीकृतीका लागि सहजीकरण गर्ने बारेमा उनी भन्छन्- हामीले पहिले पनि कार्यक्रम आयोजना गरेर दुवर्इमा नेपालीको लागि घर किनाइदिएका छौं। यहाँ सजिलै स्वीकृती पाइन्छ। समस्या केही पनि पर्दैन।

कानुनमा के छ?

विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन २०२१ अनुसार नेपालभित्र वा बाहिर जहाँसुकै रहिबसी आएको भए पनि सबै नेपाली नागरिक र नेपालभित्र स्थापित भएको संघसंस्थाहरुले विदेशमा लगानी गर्न पाउँदैन। 

ऐनको दफा २ कले लगानीलाई प्रष्ट्याएको छ, जसमा घरजग्गा पनि पर्छ-
 
 

ऐन उल्लंघन गरी विदेशमा लगानी गर्नेलाई बिगो बमोजिम जरिवाना र ६ महिनासम्म कैद हुनसक्छ। 
 

राष्ट्र बैंक के भन्छ?

विदेशी मुद्राको सटही सुविधा उपलब्ध गराउने राष्ट्र बैंकले भने विदेशमा नेपालीले घरजग्गा किन्न नपाउने जनाएको छ। 'नेपालीले बाहिर पैसा लगेर सम्पति जोड्नै पाउँदैन' राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले भने, 'नपाउने स्पष्ट व्यवस्था भएकाले हामीले कसैलाई स्वीकृति दिने कुरो पनि आउँदैन। दिएको पनि छैन।'

राष्ट्र बैंक विदेशी विनिमय विभागका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाले नेपालमा बसेर विदेशमा सम्पति जोड्न नपाइने बताए। विदेशै हुँदा कमाएको पैसाबाट त्यहाँ बसुन्जेल प्रयोगका लागि सम्पति जोड्न पाइने भएपनि नेपाल फर्किएको ३५ दिनभित्र बेचेर ल्याउनुपर्ने कानुनी व्यवस्था रहेको उनले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell