PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

राष्ट्रिय शिक्षा आयोगले गठन गर्‍यो आठ विज्ञ समूह



पहिलोपोस्ट

राष्ट्रिय शिक्षा आयोगले गठन गर्‍यो आठ विज्ञ समूह

काठमाडौँः उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले शिक्षाका आठ वटा विषय क्षेत्र निर्धारण गरी प्रतिवेदन पेश गर्न विज्ञ समूह गठन गरेको छ।

आयोगका अध्यक्ष, शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा आज बसेको तेस्रो बैठकले शिक्षाका आठ वटा विषयगत कार्यक्षेत्र तोकी विज्ञ समूह गठन गरिएको मन्त्रालयका प्रवक्ता वैकुण्ठ अर्यालले जानकारी दिए।  

बैठकले उच्च शिक्षाको बारेमा सुझाव दिनका लागि पूर्वशिक्षामन्त्री गङ्गालाल तुलाधार, माध्यमिक शिक्षाका लागि श्याम श्रेष्ठ, आधारभूत शिक्षाका लागि प्रा डा मीनवहादुर विष्ट, जीवनपर्यन्त शिक्षाका लागि विमल फुयाँल र प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि प्रा डा टंकनाथ शर्माको विज्ञ समूह गठन गरिएको छ।

यसैगरी शैक्षिक संस्थाको सुशासन, वित्त र साझेदारीका लागि उषा झा, शिक्षामा गुणस्तरको लागि पूर्वशिक्षामन्त्री धनीराम पौडेल र समावेशिता र समसामयिक विषयको लागि प्रा डा विद्यानाथ कोइरालाको विज्ञ समूह गठन गरिएको छ।

प्रवक्ता अर्यालले आठ विषयमा विज्ञ समूहले सरोकारवालासँग छलफल गरेर चाँडै नै आयोगलाई प्रतिवेदन बुझाउने बताए। बैठकमा प्रस्तुत गरिएको अनिवार्य तथा निःशुल्क शिक्षाको व्यवस्था गर्न बनेको विधेयकको विषयवस्तु र विधेयकमा समावेश गर्नुपर्ने थप विषयका सम्बन्धमा आयोगका सदस्यले आआफ्नो धारणासमेत प्रस्तुत गरेका थिए।

बैठकमा सङ्घीय शासन प्रणालीमा शिक्षाको दूरदृष्टि, उद्देश्य, समाजवादउन्मुख शिक्षाको प्रणाली, शिक्षाको निर्देशक सिद्धान्त र सङ्घीय संरचनाअनुसार तहगत भूमिकाका सम्बन्धमा आयोगमा छलफल अगाडि बढाउँदै अवधारणा पत्र विकास गर्नेसमेत निर्णय भएको प्रवक्ता अर्यालले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell