PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

प्रहरीको खोजी सूचीमा रहेका राज्यमन्त्री शर्माले गरे आत्मसमर्पण



पहिलोपोस्ट

प्रहरीको खोजी सूचीमा रहेका राज्यमन्त्री शर्माले गरे आत्मसमर्पण

काठमाडौँ : प्रहरीको खोजी सुचिमा रहेका प्रदेश २ को प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री अभिराम शर्माले अदालत समक्ष आत्मसमर्पण गरेका छन्।

उनले सोमवार बिहान अदालत पुगेर आत्मसमर्पण गरेको महोत्तरी जिल्ला प्रहरी कार्यालयका डिएसपी खगेन्द्रबहादुर खड्काले पहिलोपोस्टलाई जानकारी दिए।

केही दिन अगाडी उच्च अदालत जनकपुरले प्रदेश २ का राज्यमन्त्री शर्मा र जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र ‘शाही'लाई पक्राउ गर्न परमादेश जारी गरेको थियो।

२०७२ भदौमा हत्या गरिएका सशस्त्र प्रहरीका सहाक निरीक्षक थमन विककी पत्नी शोभा गहतराजले दायर गरेको रिटमा सुनुवाई गर्दै माधवप्रसाद पोखरेल र रवि शर्मा अर्यालको संयुक्त इजलासले प्रदेश २ का सामाजिक विकास राज्यमन्त्री अभिराम शर्मा र जलेश्वर नगरपालिकाका मेयर शाहीसहित प्रतिवादीहरुलाई अविलम्ब पक्राउ गर्न आदेश दिएको हो।

प्रहरीको सूचीमा फरार भएकै बेला शर्मा प्रदेशसभा सदस्य र शाही मेयर चुनिएका थिए। पछि शर्मालाई राज्यमन्त्री बनाइएको थियो। दुवै राजपाबाट निर्वाचित भएका हुन्।

साउन १५ गते उच्च अदालतले यस्तो परमादेश जारी गरे पनि प्रहरीले दुवैलाई पक्राउ गरेको थिएन्।

यो मुद्दामा जलेश्वरका मिश्रील माझी, संजयकुमार साह र परिकौलीका मोहन ठाकुर थुनामा छन्। अन्य २८ जना फरार छन्।  

मधेस आन्दोलनका क्रममा २०७२ भदौ २५ गतेका दिन महोत्तरीको जलेश्वरमा कार्यरत सशस्त्र प्रहरीका असई थमन विकको आन्दोलनकारीहरूले हत्या गरेको भन्दै महोत्तरी जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell