
काठमाडौँ : महिला भलिबल आयोजना गरेर छुट्टै पहिचान बनाएको ढोरपाटन क्लबको अब पुरुष भलिबललाई पनि निरन्तरता दिने भएको छ। ढोरपाटनले नेपालकै चर्चित महिला भलिबल प्रतियोगिता ढोरपाटन डबल महिला भलिबल लिगको १३ संस्करण आयोजना गरिसकेको छ।
नेपाल भलिबल संघ (एनभीए)सँगको सहकार्यमा ढोरपाटन क्लबले पाँचौ पुरुष भलिबल प्रतियोगिता भदौ ३० देखि असोज ६ गतेसम्म आयोजना गर्ने जनाएको छ।
८ दिनसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा १६ टोलीले भाग लिने आयोजक क्लबका अध्यक्ष मनबीर छन्त्यालले जानकारी दिए। छन्त्यालले यो खुल्ला प्रतियोगिता भएको र लिगकम नटआउटका आधारमा खेलाइने बताए।
एनभीएका महासचिव जितेन्द्र बहादुर चन्दले यस प्रतियोगितालाई एनभीएले पनि स्वीकृती दिएको बताए।
प्रतियोगिता सम्पन्न गर्न १२ लाख खर्चे हुने र विजेताले नगद १ लाख पुरस्कार पाउने आयोजकले जनाएको छ। यस्तै उपिवेताले ६० तथा तेस्रो हुनेले ३५ हजार नगद हात पार्नेछ। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई एक थान स्कुटर प्रदान गरिनेछ।
यस्तै विधागत उत्कृष्ट खेलाडीहरुले नगद ५ हजार प्राप्त गर्नेछन्। यस्तै प्रतियोगिता हेर्ने भाग्यमानी एक जना दर्शकले १ थान स्कुटर पाउनेछन्।
आयोजक ढोरपाटन क्लबले प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा रहेको यती ब्रुअरी प्रालीसँग सम्झौता समेत गरेको छ। सोमवार आयोजकका तर्फबाट अध्यक्ष मनबीर छन्त्याल र यती ब्रुअरीका मार्केटिङ म्यानेजर बिभोर रायमाझीले सम्झौता पत्रमा हस्ताक्षर गरे।
सम्झौतापश्चात प्रतियोगिता पाँचौ ढोरपाटन एम१५० पुरुष भलिबलको नामबाट संचालन हुनेछ। मुख्य प्रायोजन बापत यती ब्रुअरीले आयोजकलाई नगद ५ लाख उपलब्ध गराउने छ। प्रतियोगिताको सह प्रायोजकमा आईएमई प्राली र बीजी मल रहेका छन्।
प्रतियोगिताको लागि दोस्रो पुरस्कार रकम दिपक कुँवर र तेस्रो पुरस्कार श्री शान्ति दोहोरी साँझले प्रायोजन गरेका छन्।