PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आइसीसी ओडिआई वरियतामा पहिलो पटक नेपाली खेलाडी समावेश, बलरमा सन्दीप तथा ब्याट्सम्यानमा सोमपाल र ज्ञानेन्द्र



पहिलोपोस्ट

आइसीसी ओडिआई वरियतामा पहिलो पटक नेपाली खेलाडी समावेश, बलरमा सन्दीप तथा ब्याट्सम्यानमा सोमपाल र ज्ञानेन्द्र
फोटो : ICC

काठमाडौँ : नेपालका ३ क्रिकेटर आइसीसी वान डे इन्टरनेशनल (ओडिआई) को नयाँ सार्वजनिक वरियतामा समावेश भएका छन्।

आइसीसीले सोमवार सार्वजनिक गरेको ओडिआईतर्फको नयाँ वरियतामा नेपालबाट बलिङतर्फ युवा स्टार सन्दीप लामिछाने तथा ब्याटिङमा अलराउण्डर सोमपाल कामी र उपकप्तान ज्ञानेन्द्र मल्ल परेका छन्।

२२ वर्षीय अन्तर्राष्ट्रिय क्रिकेट इतिहासमा नेदरल्याण्ड्ससँग २ खेलको पहिलो ओडिआई सिरिज खेलेपछि नेपाली खेलाडी पनि वरियतामा समावेश भएका हुन्। नेपालले अगष्ट १र ३ मा नेदरल्याण्ड्ससँग उसैको घरेलु मैदानमा २ ओडिआई खेलेको थियो।

२ ओडिआई खेल्दै ४ विकेट लिएका सन्दीप ओडिआई बलिङ वरियताको २१७औं स्थानमा छन्।

यस्तै २ खेलबाट एक अर्धसतकसहित ६१ रन बनाएका सोमपाल कामी ब्याटिङमा २२९ औं स्थानमा छन्।  २ खेलबाट नै एक अर्धसतकसहित नेपालका लागि ओडिआईमा सर्वाधिक ६४ रन बनाएका उपकप्तान ज्ञानेन्द्र मल्ल ब्याटिङमा २३६औं स्थानमा छन्।

यसअघि आइसीसी टी-२० इन्टरनेशनल वरियतामा बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी तथा ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावर समावेश भइसकेका छन्।

आइसीसीको नयाँ ओडिआई वरियतामा भारतीय कप्तान विराट कोहली ब्याटिङतर्फ, भारतीय बलर जसप्रित बुमराह बलिङतर्फ तथा बंगलादेशका शकिब अह हशन अलराउण्डरतर्फ शीर्ष स्थानमा छन्।

नेपाली टीम ओडिआई वरियतामा पर्न भने अझै दुईवटा ओडिआई खेल्नुपर्ने आइसीसीले जनाएको छ। अहिले आइसीसी ओडिआई मान्यता पाएको १६ मध्ये टेष्ट खेल्ने १२ टोलीसहित युएई र स्कटल्याण्ड ओडिआई वरियतामा समावेश छन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell