PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

विरोधलाई निषेध गर्ने कानून खारेज गर्न वैद्यको माग



पहिलोपोस्ट

विरोधलाई निषेध गर्ने कानून खारेज गर्न वैद्यको माग

काठमाडौं : नेकपा क्रान्तिकारी माआोवादीले बन्द हड्ताल निषेध गर्ने कानुनहरुको खारेज गर्न माग गरेको छ। पार्टीका महासचिव मोहन वैद्य किरणले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

सरकार राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्यालाई समाधान गर्न गम्भीर नभएको आरोप समेत विज्ञप्तिमा लगाईएको छ। ‘वर्तमान सरकार एकातिर राष्ट्रियता, जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान गर्नेतर्फ गम्भीर देखिदैन भने अर्कोतिर यस प्रकारका समस्याहरुलाई लिएर आन्दोलन तथा विरोध प्रदर्शन गर्न पाउने हक अधिकारबाट जनतालाई बञ्चित गर्नेतर्फ उद्दत रहेको छ,’ विज्ञप्तिमा अगाडि भनिएको छ।

विज्ञप्तिमा जनताको विरोध प्रदर्शन तथा आम हड्ताल लगायतका आन्दोलनहरुलाई निषेध गर्नका लागि विधेयकहरु ल्याई विभिन्न ऐन कानुनहरु बनाउन थालिएको भन्दै सरकार फासिवाद तर्फ उन्मुख हुँदै गएको आरोपसमेत लगाइएको छ।

‘हाम्रो पार्टी जनताका यस प्रकारका आन्दोलन, विरोध प्रदर्शन तथा आम हड्ताललाई निषेधित तथा नियन्त्रित गर्ने काम र त्यस ढंगका विधेयक एवम् कानुनहरु खारेज गर्नका लागि सरकारसित जोडदार माग गर्दछ,’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘साथै, हाम्रो पार्टी सरकारका यसप्रकारका जनविरोधी गतिविधिहरुका विरुद्ध सशक्त आवाज उठाउन र आन्दोलनमा जानका लागि देशभक्त, जनवादी तथा वामपन्थी शक्तिहरुसित पनि विशेष अनुरोध गर्दछ।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell