
काठमाडौँ : भुटानमा भइरहेको साफ यू-१५ महिला च्याम्पियनसिप अन्तर्गत समूहको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ। समूह बी अन्तर्गत सोमवार भएको खेलमा साविक विजेता बंगलादेशसँग नेपाल ३-० ले पराजित भएको हो।
यसअघि नै सेमिफाइनलमा स्थान बनाएको नेपाल हारपछि समूह बी को उपविजेता बन्यो। बंगलादेश भने समूहको दुवै खेल जित्दै समूह विजेता बन्दै सेमिफाइनल पुग्यो। नेपाल र बंगलादेश दुवैले पहिलो खेलमा पाकिस्तानलाई हराएको थियो।
नेपालले अब सेमिफाइनलमा समूह ए को विजेता भारतसँग खेल्नेछ। आजै भएको खेलमा आयोजक भुटानलाई १-० ले पराजित गर्दै समूह ए को विजेता बनेको हो। हारेपनि भुटान समूह ए को उपविजेता बनेको छ।
अर्को सेमिफाइनल भुटान र बंगलादेशबीच हुनेछ।
पहिलो पटक सहभागिता जनाएका श्रीलंका र पाकिस्तान भने खेलेका दुवै खेल हार्दै समूह चरणबाट बाहिरिएका छन्। दक्षिण एसियाका ७ मध्ये ६ राष्ट्रले सहभागिता जनाएको प्रतियोगितामा ६ टोलीलाई दुई समूहमा विभाजन गरेर खेलाइएको थियो।