PahiloPost

May 15, 2025 | २ जेठ २०८२

३३ किलो सुन पत्ता लगाउने जिम्मा अब अपराध महाशाखालाई, के हुँदैछ अनुसन्धान?



सविन ढकाल

३३ किलो सुन पत्ता लगाउने जिम्मा अब अपराध महाशाखालाई, के हुँदैछ अनुसन्धान?

काठमाडौँ : ३३ किलो सुन हराउनु र त्यससँगै जोडिएर सनम शाक्यको हत्या भइसकेपछि सरकारले गत चैत २० गते सहसचिव ईश्वरराज पौडेलको नेतृत्वमा गठन गरेको विशेष अनुसन्धान टोली तीन महिना लगाएर अनुसन्धान गर्‍यो। समितिले ७ सय ५२ पेजको सुझाव सहितको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बुझाइसकेको छ।

तर ७५ जनालाई प्रतिवादी बनाएर अनुसन्धान गर्दा पनि ३३ किलो सुन भेटिएन। सुन कहाँ छ अझै पत्ता लागेको छैन। अहिले ३३ किलो सुन खोजी गर्ने र सुन तस्करीको थप अनुसन्धान गर्ने जिम्मेवारी महानगरीय अपराध महाशाखाले पाएको छ।

भक्तपुरमा भएको इन्काउन्टर प्रकरणले गर्दा महाशाखा तत्काल सुनको अनुसन्धानमा लाग्न सकेको थिएन। प्रहरीको इन्काउन्टर फेक भएको आरोप खेपेका महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह अब भने सुनको अनुसन्धान शुरु गर्ने बताउँछन्। एसएसपी सिंह भन्छन्,'हामीले पाएको जिम्मेवारी निर्वाह गर्छौं। सुन तस्करीको अनुसन्धान हुन्छ। थप तस्करीका पाटाहरु खुल्ने छन्।'

समितिले तयार पारेको प्रतिवेदन अपुरो नै रहेकाले आगामी दिन हुने अनुसन्धानलाई सहज बनाउन सुझाव समेत दिएको समितिका सदस्यले बताए।  प्रतिवेदनमा करिब २ सय ९३ जना जनालाई थप अनुसन्धानको घेरामा राखिएको छ। समितिको सुझाव र अन्य अनुसन्धानबाट काम अगाडि बढाइने एसएसपी सिंहले बताए।

प्रतिवेदनमा मोहनकुमार अग्रवाललाई मुख्य लगानीकर्ताको रूपमा देखाइएको छ। त्यस्तै दुबईबाट आएको सुनको नेपालमा व्यवस्थापन गर्ने जिम्मेवारीमा चुडामणि उप्रेती ‘गोरे’लाई बनाइएको छ। दुबईबाट अवैध हुन्डीमार्फत पठाउने कार्यमा व्यवसायी विमल पोद्दार लगायत भएको उल्लेख छ।

त्यस्तै प्रतिवदेनमा माघ ९ गते विमानस्थलबाट सजिलै बाहिरिएर हराएको ३३ किलो सुन कहाँ छ? कसले लुट्यो भन्ने विषय समेत स्पष्ट छैन। समितिका एक सदस्यले भने,'हराएको सुन कहाँ छ भन्ने स्पष्ट उल्लेख छैन।‘

एसएसपी सिंहले भने,' ३३ किलो सुन कहाँ हरायो? कसले लग्यो भन्ने हामी खोजी गर्छौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell