काठमाडौं : शेयर बजारको अघिल्लो 'बुल' पछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सुचक नियमित झर्न थालेको थियो। बजार झर्न थालेपछि बैंक तथा वित्तीय संस्थाले शेयरमा गएको ऋणमा कडाइ सुरु गरे। कतियको शेयर लिलाम गरेर पैसा उठाए, कतिले अन्य स्रोतबाट ल्याएर बैंकको पैसा तिर्न थाले।
'बैंकले पानी पर्न थालेपछि छाता खोस्छन्' भन्ने उखानजस्तै ब्यवहार देखाउन थालेपछि निर्मल प्रधान पनि अप्ठेरोमा नपर्ने कुरा भएन। उनी धमाधम शेयर बेच्न थाले। जग्गा जमिन बेच्न थाले। बिक्रीबाट आएको पैसाबाट उनले बैंकको ऋण चुक्ता गरे।
त्यहीबेला निर्मल प्रधानले बैंकहरुलाई ब्यङ्ग्य गर्दै 'टाइ लाउने गुण्डा' भनेका थिए। नम्बर एक शेयर कारोबारीको परिचय बनाएका प्रधानको भनाइलाई लिएर ठूलो टिकाटिप्पणी भयो। कारोबारीहरुले प्रधानको भनाइलाई समर्थन गरे भने बैंकरले 'मनपरी' बोल्ने भनेर विरोध गरे।
त्यस बेला एनआइडिसीले संचालन गरेको सामुहिक लगानी कोष एनसिएम म्युचुअल फण्डभन्दा १० गुणा बढी शेयर प्रधानसँग थियो। एनसिएमले प्रत्येक महिना आफ्नो शेयर संख्या सार्बजनिक गर्थ्यो।
'एनसिएमले निकालेको लगतभन्दा म एक्लैसँग बजार मूल्यांकनका आधारमा १० गुणा बढी शेयर हुन्थ्यो त्यो बेला,' प्रधानले पुराना कुरा खोले, 'त्यो सरकारले खोलेको कोष थियो। त्यसको भन्दा म एक्लोसँग त्योभन्दा दसौ गुणा बढी शेयर थियो। त्यो बेलामा एउटा बैंकको पूँजी जम्मा एक अर्बको हुन्थ्यो। जबकी दुई सय ५० करोडको ऋण लिएर त मैले शेयर नै किनेको थिएँ।'
प्रधानसँग कुनैबेला एक करोड कित्तासम्म शेयर थियो। एक रुपैयाँ मूल्य बढ्दा पनि एक करोड रुपैयाँ दैनिक आम्दानी हुन्थ्यो। निर्मल प्रधानले दैनिक १० देखि ३० करोड रुपैयाँसम्म शेयर बजारबाट नाफा गर्थे।
दिन सँधै एकनास हुँदैन। कतै घाम चर्किँदा कतै मेघ गर्जिन्छ। कतै अँध्यारो हुन्छ। संसारभर आर्थिक मन्दी सुरु हुँदै थियो। प्रत्यक्ष त्यसको असर नेपालमा परेन। तर नेपालमा रियलस्टेटमा मन्दी सुरु भयो। त्यो मन्दीले शेयर बजारलाई पनि छोयो।
राष्ट्र बैंकले वित्तीय क्षेत्रलाई जोखिमबाट जोगाउन शेयर खरीदमा जाने ऋणमा कडाइ गर्न थाल्यो। त्यो कडाइले निर्मल प्रधानलाई पनि छोयो।
शेयर बजारबाट जति कमाएका थिए त्यसकै हाराहारीमा उनीसँग बैंकको ऋण थियो। शेयर बेच्न थाले। त्यसले नपुगेपछि जग्गा बिक्री गर्न थाले। अहिले मेरिएट होटल बनिरहेको जग्गा उनले शशी खेतानलाई बिक्री गरे। उनले त्यो जग्गा आनाको ४ देखि ६ लाख रुपैयाँ हालेर किनेका थिए। उनले ३० लाख रुपैयाँ आनाका दरले बिक्री गरे। अहिले त्यसको भाउ करोडको हाराहारीमा छ। सबै बेचेर उनले बैंकको ऋण चुक्ता गरेका थिए।
'मान्छेहरुको आफ्नै स्वभाव हुन्छ। एउटा निश्चित बिन्दुमा पुगेपछि पनि अझै कमाउँ भन्ने हुन्छ। तर मलाई त्यस्तो लागेन,' उनले सम्झिए, 'बरु ऋण तिरेर हलुका हौं भन्ने लग्यो। किनभने मैले ६ बर्षको दौरानमै ५० लाखको पूँजीलाई अढाई अर्ब रुपैयाँसम्म पुर्याएको थिएँ।'
उनले अढाइ अर्बको ऋण कटाएर ७० देखि ८० करोड रुपैयाँ आफ्नो आम्दानी बनाइसकेका थिए। 'त्यति पैसा कमाएपछि मलाई अब पुग्यो भन्ने लाग्न थाल्यो। ठूलो जोखिम नलिउँ जस्तो लाग्न थाल्यो।'
शेयर बजारमा पूर्णकालीन लगानीकर्ताका रुपमा लागेका प्रधानसँग केही बैंक 'होल्ड' गर्नेसम्मको तागत थियो। एभरेष्ट बैंकको चुक्ता पूँजी २५ करोड हुँदै ३० करोड रुपैयाँसम्म पुग्यो। ३० करोड चुक्ता पूँजी हुँदा बैंकले ३० प्रतिशत शेयर सर्वसाधारणमा जारी गर्यो। जारी गरेको नौं लाख कित्ता शेयरमध्ये पाँच लाख कित्ता त प्रधानसँग मात्रै थियो।
शेयर बजारका माहिर खेलाडीका रुपमा स्थापित भइसकेका प्रधानले 'भाग्य' का भरमा मात्रै पैसा छापिरहेका थिएनन्। बिहानदेखि बेलुकासम्म एक्लै काम गर्थे। त्यो बेला कम्प्युटर पनि थिएन। कम्पुटराइज हुनु पर्छ भन्ने मानसिकता पनि थिएन।
'म पहिलेदेखि बाउबाजेले सिकाएको मारवाडी पाराको डे बुक, क्यास बुक, लेजरमा हिसाब राख्थेँ,' उनले सुनाए, 'शेयर किन्यो लेख्यो, बेच्यो लेख्यो। सुरुदेखि अहिलेसम्मको सबै हिसाब अहिले पनि मसँग छ।'
त्यसबेला शेयर बजारलाई प्रधानलगायत केही गिनेचुनेका लगानीकर्ताले सजिलै नचाउन सक्ने हिम्मत राख्थे। अचेल भने उनले नम्बर १ हुने होड छाडिसकेका छन्। बैंकहरुको पूँजी पनि ह्वात्तै बढ्यो। यसका लागि हकप्रद शेयरमा ठूलो मात्रामा पैसा लगानी भएको छ। प्रधान हकप्रद भर्ने होडमा लागेनन्।
त्यसबेला प्रधान पत्रपत्रिकामा नम्बर १ शेयर खेलाडी भनेर दरिएका थिए। त्यस बेलाका १० जना खेलाडीमा ५/६ जाना अहिले बजारमा छैनन्। धेरै जना डुबे। कोही पलायन भए।
प्रधान नम्बर एकमा थिए। दोस्रोमा राकेश अडुकिया, तेस्रोमा शंकर अग्रवाल थिए। रमेश अग्रवाल चौथो नम्बरमा थिए। अहिले पनि शेयर बजारमा सक्रिय निरन्जन टिवरेवाल र कुमारकेशर बिस्टहरु प्रधानभन्दा पुराना कारोबारी हुन्।
राकेश अडुकिया लक्ष्मी बैंक, बैंक अफ काठमान्डू र गोर्खा विकास बैंक होल्ड गर्थे। कुमारी बैंक, एभरेष्ट बैंक, एनसिसी बैंक, बुटवल पावर कम्पनी, स्ट्यान्डर्ड चार्टर्ड र नेपाल बंगलादेश बैंक प्रधानको कन्ट्रोलमा थियो। नबिल बैंकको शेयर अर्जुनबन्धु रेग्मीले नचाउँथे।
यी लगायत 'टप टेन' ले बजारमा शेयर किनबेच गरेपछि ठूलै हल्लाखल्ला हुन्थ्यो। 'हाम्रो समुहले शेयर किनेपछि बजारमा अन्य लगानीकर्ताको नजर हामीप्रति नै हुन्थ्यो,' उनले सम्झिए, 'त्यसबेला २०, १, २६ र २८ नम्बरका ब्रोकर कम्पनीमा कारोबार थियो हाम्रो। त्यहाँ किनबेच गर्नेहरुले ब्रोकरलाई सोध्थे निर्मल दाईले कुन शेयर किनेको छ भनेर।' निर्मल प्रधानलगायतले जुन शेयर किन्यो बाँकी लगानीकर्ताले पनि त्यही किन्थे। बेच्दा पनि त्यही गर्थे। 'लगानीकर्ताले मलगायत केही साथीहरुले किनबेच गरेको आधारमा शेयरमा पैसा लगाउँथे' उनले भने, 'त्यतिधेरै विश्वास थियो हामीप्रति।'
निर्मल प्रधानलगायतले जे गर्यो बाँकी लगानीकर्ताले पनि त्यही अनुसार कारोबार गर्न थालेपछि नियामक निकायले 'ठूला खेलाडी' का हातमा शेयर बजार छ भनेर पत्रकार सम्मेलन नै गरेको थियो।
अहिले नेपाल धितोपत्र बोर्डका अध्यक्ष रहेका डा. रेवतवहादुर कार्की त्यसबेला नेप्सेको महाप्रबन्धक थिए। उनले पत्रकार सम्मेलन गरेरै ठूला खेलाडीले बजार तलमाथि गरेको आरोप लगाएका थिए।
'हाम्रो पकडमा बजार त थियो तर हामीले घटाउने बढाउने भने गर्दैन थियौं' उनले भने, 'नियामक निकायमा भने हामीले नै बजारको मूल्य तलमाथि गर्छौं भन्ने भ्रम थियो।'
प्रधान शेयर बजारमा बिस्तारै सुधार हुँदै गएको अनुभव गर्छन्। हातले भित्तामा लेखेको भरमा मूल्य घट्ने बढ्ने हुन्थ्यो। लेख्ने मान्छे लेख्दा लेख्दा थाक्थ्यो। लगानीकर्ता झ्यालमा बसेर यो किन्देउ, त्यो किन्देउ भन्दै कराउँथे। भित्र जम्मा २३ जाना ब्रोकर मात्रै हुन्थे। त्यति बेला एक दुई करोडको मात्र कारोबार हुन्थ्यो।
अहिले समय फेरिएको छ। १०औं लाख कित्ता कारोबार एकै दिन हुन्छ। ब्रोकर संख्या ५० पुगिसकेको छ। ब्रोकरले आफ्नो कार्यालयबाट कारोबार गराउँछन्। कम्पनीको संख्या पनि बढिरहेको छ। लगानीकर्ता पनि बढेका छन्। शेयर संख्या निकै नै थपिइसकेको छ।
प्रधान बैंक वित्तीय संस्थाहरुको होल्ड रहेको शेयर बजारमा अन्य प्रकृतिका संस्थाहरुलाई पनि छिराउने पर्ने धारणा राख्छन्। अन्तराष्ट्रिय स्तरमा शेयर बजार चल्नुपर्छ भन्ने मानसिकता भर्खर भर्खर विकास हुन थालेको उनलाई लाग्छ। अटोमेसन गर्ने भनेको १० बर्षपछि बल्ल कार्यान्वयनमा आएको छ। अझै पनि अपेक्षा अनुसार बजारको विकास नभएको उनी ठान्छन्।
शेयर कारोबार गर्ने एउटा मात्रै संस्था, नेप्से, त्यसमा पनि सरकारी लगानी। त्यही भएर शेयर बजार अपेक्षा अनुसार विकास हुन नसकेको प्रधानको धारणा छ। १०० बर्षको इतिहास भएको नेपाल बैंक, कृषि विकास बैंक, राष्ट्रिय बाणिज्य बैंकजस्ता संस्थाहरुलाई पछि आएका बैंकहरुले उछिन्नुको कारण नै सरकारी लगानी भएको उनको विश्लेषण छ। 'त्यही भएर शेयर बजारलाई विकास गर्ने हो भने निजी क्षेत्रको लगानीमा अर्को स्टक एक्सचेञ्ज चाहिन्छ' उनले भने।
शेयर बजार विकास नहुनुमा राष्ट्र बैंकको हस्तक्षेपकारी नीति पनि मूख्य दोषी रहेको प्रधानको धारणा छ। राष्ट्र बैंकले शेयर बजारलाई कहिले पनि राम्रो दृष्टिकोणले नहेरेको उनी बताउँछन्। राष्ट्र बैंककै नीतिका कारण बजारमा विचलन आएको हो, उनी भन्छन्।
राष्ट्र बैंकको हस्तक्षेपकारी नीतिका कारण आफू शेयर बजारबाट टाढिन थालेको उनी बताउँछन्। 'म त शेयर बजारमा मात्रै लगानी गर्छु। शेयर बजारबाट बाहिर जान सक्दिन,' उनले भने, 'हामीजस्तालाई नै हेरेर राष्ट्र बैंकले नीति परिवर्तन गर्न थालेको छ। त्यसैले हिजो जसरी आक्रामक रुपमा लगानी गर्थे, त्यो वातावरण अहिले छैन।'
त्यसैले प्रधानले ऋण आवश्यक पर्दा मात्र चलाउँछन्। आफ्नो नाममा ऋणै छैन भनेपनि हुन्छ। परिवारका नाममा अलिअलि ऋण छ त्यो पनि नियमित तिरिरहेका छन्। 'अहिले मैले दर्जन बैंकमा रहेको ऋणलाई पाँच बैंकमा सीमित गरेको छु। शेयर पनि एक करोड कित्ताबाट घटाएर ३५ लाख कित्तामा सीमित गरिसकेको छु' उनले भने। प्रधानको एनसिसी बैंकमा मूख्य शेयर छ।
प्रधान बजारमा निष्कृय जस्तै छन्। उनले अहिले पनि १०/२० लाखको शेयर त किनबेच गरिरहेका हुन्छन्। तर विगतमा जस्तो आक्रामक लगानीको पक्षमा उनी छैनन्। त्यही भएर प्रधानले हिजोआज किनबेच गर्ने शेयरका बारेमा मान्छेलाई खासै थाहा हुँदैन।