रत्ननगरः रत्ननगर नगरपालिका र आन्दोलनरत सात दलबीच कर समायोजन गर्ने सहमति भएको छ।
गएराति सम्पन्न वार्तामा नगर उपप्रमुख विमला दवाडीको नेतृत्वमा विज्ञसहितको समिति गठन गरी बढेको कर समायोजन गर्ने सहमति भएको वार्ता टोलीका सदस्य लालबहादुर भट्टले जानकारी दिए।
उनका अनुसार कर समायोजन भएपछि अहिले बढी तिरेको करसमेत समायोजन हुनेछ। गएराति वार्तामा विभिन्न ११ बुँदे सहमति भएसँगै यहाँका सात राजनीतिक दलले गर्दै आएको आन्दोलन र रिले अनशनका सबै कार्यक्रम फिर्ता लिइएको छ।
आर्थिक वर्ष ०७४÷७५ को करलाई आधार बनाएर करको दर समायोजन हुनेछ। “अहिले बढेको कर सोहीअनुसार नै लिने र पछि समितिले जुन दर कायम गर्छ त्यही बमोजिम कार्यान्वयन गर्ने र सेवाग्राहीबाट धेरै कर लिइएको देखिएमा पनि समायोजन या फिर्ता गर्ने सहमति भएको छ,” वडा नं ७ का वडाध्यक्षसमेत रहेका वार्ता टोली सदस्य भट्टले जानकारी दिए।
सहमतिपत्रमा नगरपालिकामा विलासिताका सामान नकिन्ने, पुराना सामानलाई लिलामी प्रक्रियामा लैजाने, नगरवासीमा भेदभाव नगर्ने, कानूनी प्रक्रिया पु¥याएर मात्रै कर्मचारी राख्ने, रू ३० लाखसम्मका योजना उपभोक्ताबाट गराइने र अरु ठूला योजना टेन्डरमार्फत् गर्ने, नगरस्तरीय दललाई उपेक्षा नगर्नेजस्ता विषयमा सहमति भएको छ।
अस्वाभाविक रूपमा कर बढाइएको भन्दै नेपाली काँग्रेसलगायत विभिन्न सात राजनीतिक दलले चार दिनदेखि आन्दोलन गर्दै आएका थिए। रासस