PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

चिकित्सक संघले राख्यो मुलुकी ऐनमा ५ बुँदे संशोधन प्रस्ताव



पहिलोपोस्ट

चिकित्सक संघले राख्यो मुलुकी ऐनमा ५ बुँदे संशोधन प्रस्ताव

काठमाडौं : मुलुकी ऐन २०७४ को परिच्छेद १९ मा रहेको इलाज सम्बन्धी कसुर सम्बन्धमा आपत्ति जनाउँदै नेपाल चिकित्सक संघले पाँच वटा संशोधनको माग गरेको छ।

ऐनमा संशोधन गरेर दफा २३० को उपदफा २ लाई खारेज गर्नुपर्ने चिकित्सक संघले प्रस्ताव गरेको छ। 

'लामो अनुभवबाट इलाज सम्बन्धमा जानकारी राख्ने व्यक्तिले उचित होसियारी अपनाइ सानो तिनो रोग लागेको बिरामीको मानव अंगलाई कुनै खास प्रतिकूल असर नपर्ने मामुली प्रकृतिको औषधी खुवाउन वा सानोतिनो घाउ, खटिरा, चिरफार गरी उपचार गर्नमा बाधा पुग्ने छैन' भन्ने उपदफा २ मा उल्लेख छ।

त्यस्तै संघले दफा २३१ र दफा २३९ समेत खारेज गर्न माग गरेको छ। 

दफा २३१ मा 'कसैले–कसैको ज्यान मार्ने वा अंगभंग गर्ने नियतले उपचार गर्न, एक किसिमको इलाज गर्नु पर्नेमा अर्को किसिमको इलाज गर्न वा कुनै औषधि खुवाउँदा वा खान सिफारिस गर्दा कसैको ज्यान मर्न वा अंगभंग हुन सक्छ भन्ने जानीजानी वा सो थाहा पाउनु पर्ने मनासिब कारण भई त्यस्तो औषधी खुवाउन वा खान सिफारिस गर्न वा चिरफार गर्न वा मानव शरीरको कुनै एक अंगको चिरफार गर्नु पर्नेमा अर्को अंग चिरफार गर्न वा त्यस्तो बेकम्मा बनाउन वा शरीरबाट त्यसलाई अलग गर्न वा गराउन हुँदैन,' उल्लेख छ।

त्यस्तै दफा २३९ मा क्षतिपूर्ति भराइ दिनु पर्ने भन्ने शीर्षकमा परिच्छेद बमोजिमको कसुर गरेको कारणबाट कसैको ज्यान मरेमा वा अंगभंग भएमा वा अन्य हानी, नोक्सानी वा क्षति पुगेकामा कसूरदारबाट सम्बन्धित पीडितलाई र पीडितको मृत्यु भएकोमा निजको हकवालालाई मनासिब क्षतिपूर्ति भराइ दिनु पर्ने उल्लेख छ। 

दफा नम्बर २३२ मा रहेको लापरबाही वा हेलचक्र्याइँ, बदनियत चिताइ इलाज गर्न नहुने शब्दलाई पुष्टि गर्न विशेषज्ञ समिति बनार्इ छानबिन गर्नु पर्ने वाक्यांश थप गर्न संघले प्रस्ताव गरेको छ। 

त्यस्तै ड्युटीमा रहेका स्वास्थ्यकर्मीहरूलाई हातपात गरेको खण्डमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ र नियमावली २०६९ लाई संशोधन गरी बिना धरौटी हिरासतमा राख्ने व्यवस्था सुनिश्चित गरिनुपर्ने चिकित्सक संघले प्रस्ताव राखेको छ। 
यी विषयमा संशोधन गर्न सरकार तयार रहे चिकित्सकहरू आन्दोलन नगर्ने जनाएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell